अमेरिका–इरान सम्झौतापछि कच्चा तेलको मूल्यमा भारी गिरावट


एजेन्सी । अमेरिका र इरानबीच युद्ध अन्त्य गर्नका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने हर्मुज जलमार्ग पुनः सुचारु गर्न र तेहरानमाथिको प्रतिबन्ध खुकुलो बनाउन भएको अन्तरिम सम्झौतापछि बिहीबार विश्व बजारमा तेलको मूल्यमा उल्लेख्य गिरावट आएको छ ।

सम्झौतापछि विश्वभर तेलको आपूर्ति बढ्ने र ऊर्जा संकट टर्ने सकारात्मक संकेतका कारण तेलको मूल्य इरान युद्ध सुरु भएयताकै सबैभन्दा न्यून विन्दुमा झरेको हो । यस ऐतिहासिक सम्झौताले लगानीकर्ताहरूमा उत्साह जगाएसँगै आपूर्ति श्रृंखलामा देखिएका अवरोधहरू हट्ने विश्वास बढेको छ ।

तथ्यांकअनुसार बिहीबार ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारल १.५९ डलर अर्थात् २ प्रतिशतले घटेर ७७.९६ डलर कायम भएको छ । त्यसैगरी, अमेरिकी वेस्ट टेक्सस इन्टरमिडिएटको मूल्य १.८३ डलर अर्थात् २.३८ प्रतिशतले ओरालो लाग्दै प्रति ब्यारल ७४.९६ डलरमा पुगेको छ ।

मूल्यमा देखिएको यो गिरावट गत मार्च २ मा इरानमाथि सुरुवाती आक्रमण भएपछिको पहिलो कारोबार दिनयताकै सबैभन्दा कम हो । यसले विश्व अर्थतन्त्रलाई केही हदसम्म महँगीको दबाबबाट राहत मिल्ने संकेत गरेको छ ।

बजार विश्लेषकहरूका अनुसार, ऊर्जा बजारले अमेरिका र इरानबीच भएको समझदारी पत्रलाई निकै सकारात्मक रूपमा लिएको छ । आईजी मार्केटका विश्लेषक टोनी साइकामोरले इरानी तेल बजारमा अपेक्षा गरेभन्दा चाँडो फर्कने सम्भावनाले मूल्यमा तीव्र गिरावट आएको बताएका छन् ।

१४ बुँदे समझदारी पत्रले ६० दिनको वार्ता अवधि तय गरेको छ जसमा इरानले हर्मुज जलमार्गबाट हुने ढुवानीमा कुनै शुल्क नलिने र ३० दिनभित्र यसको पूर्ण क्षमतामा सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ । यसले गर्दा सामुद्रिक व्यापारमा देखिएका अवरोधहरू तत्कालका लागि हट्ने देखिएको छ ।

तर, यस प्रारम्भिक सम्झौताले इरानको आणविक कार्यक्रम जस्ता केही जटिल र दीर्घकालीन मुद्दाहरूलाई भने तत्कालका लागि थाती राखेको छ । सम्झौताअनुसार अमेरिका र उसका साझेदारहरूले इरानको आर्थिक पुनरुत्थानका लागि ३०० अर्ब डलरको योजना तयार गर्नुपर्नेछ ।

विश्लेषकहरूले हर्मुज जलमार्ग भएर हुने तेलको प्रवाह बिस्तारै लयमा फर्कने प्रक्षेपण गरेका छन् । तर, उद्योग विज्ञहरूले भने विश्वभर घटेको तेलको मौज्दात पुनः भर्नुपर्ने र माग बढ्दै जाने हुनाले मूल्य सोचे जस्तो ह्वात्तै तल नझर्न सक्ने चेतावनी समेत दिएका छन् ।

लगानी बैंक गोल्डम्यान स्याक्सले आगामी जुलाईको अन्त्यसम्ममा खाडी मुलुकहरूको तेल निर्यात युद्धपूर्वको अवस्थामा फर्कने र अक्टोबरसम्ममा कच्चा तेलको उत्पादन पूर्ण रूपमा सुचारु हुने अनुमान गरेको छ ।

बैंकका अनुसार, हर्मुज जलमार्गबाट हुने तेलको प्रवाहमा दैनिक १ करोड ३० लाख ब्यारलले वृद्धि भएमा मात्र यो ७० प्रतिशतको स्तरमा पुग्न सक्नेछ । विश्लेषक म्याट स्टेनलीले युद्धका कारण मूल्यमा थपिएको जोखिम प्रिमियम धेरै हदसम्म हटेको बताएका छन् यद्यपि परिस्थिति पूर्ण रूपमा सामान्य हुन अझै केही समय कुर्नुपर्ने देखिन्छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की प्रमुख क्रिस्टालिना जर्जिएभाले विभिन्न देशहरूले आफ्नो तेलको भण्डार भर्ने र सामुद्रिक यातायात सामान्य हुँदै जाने हुनाले मूल्यमा गिरावट आए पनि यो धेरै ओरालो नलाग्ने धारणा राखेकी छन् । यता अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईइए) का प्रमुख फातिह बिरोलले ६० दिनभित्र वार्ता सम्पन्न हुनु विश्व अर्थतन्त्रका लागि अपरिहार्य रहेको बताएका छन् ।

उनले यसअघि नै हर्मुज जलमार्ग समयमै नखुलेमा विश्व अर्थतन्त्र रेड जोन अर्थात् गम्भीर संकटमा फस्ने चेतावनी दिएका थिए । त्यसलाई यस सम्झौताले केही हदसम्म साम्य पारेको छ ।

तेल बजारलाई प्रभावित पार्ने अर्को पक्ष अमेरिकी फेडरल रिजर्भको सम्भावित ब्याजदर वृद्धि पनि हो । मुद्रास्फीति नियन्त्रण गर्न फेडले यसै वर्षको उत्तरार्धमा ब्याजदर बढाउन सक्ने सम्भावनाले आर्थिक वृद्धिलाई सुस्त बनाउने र तेलको माग घटाउने डर लगानीकर्ताहरूमा अझै कायमै छ ।

यसका बावजुद अमेरिका–इरान सम्झौताले हालका लागि ऊर्जा बजारमा एउटा ठूलो अनिश्चिततालाई चिर्न सफल भएको छ जसको सकारात्मक प्रभाव विश्वव्यापी आपूर्ति श्रृंखलामा देखिन सुरु गरिसकेको छ ।