
काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले हाल बैंक तथा वित्तीय संस्थाप्रतिको लगानीकर्ता विश्वास धराशायी बन्दै गएको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको अर्थ समितिमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधन विधेयकमाथिको छलफलमा सहभागी हुँदै चौधरीले सेयर मूल्य अङ्कित मूल्यभन्दा धेरै तल झरेको उदाहरणसहित गम्भीर अवस्था आएको बताए ।
‘हिजोमात्र एक साथीले एउटा बैंकको १०० रुपैयाँको सेयर ४० रुपैयाँमा दिन चाहेको भन्दै किनिदिने कोही छ कि भनेर सोधेका थिए,’ चौधरीले भने, ‘यसले वित्तीय क्षेत्रप्रति लगानीकर्ताको घट्दो विश्वास झल्काउँछ ।’
चौधरीले देशको हालको अर्थतन्त्र, लगानीको अवस्था र बैंकमा तरलता रहे पनि लगानीको माग नरहेको अवस्थालाई निराशाजनक भन्दै बाफिया संशोधन त्यही सन्दर्भमा हेर्नुपर्ने धारणा राखे ।
उनले बैंक सञ्चालक समितिमा व्यवसायी वा लगानीकर्ताको सहभागिता मात्रबाट स्वार्थको द्वन्द्व हुने भनाइ गलत भएको जिकिर गरे । ‘बैंकमा लगानी गरेकै भरमा कसैले मनपरी पैसा झिक्न सक्दैन, त्यसका लागि राष्ट्र बैंकका स्पष्ट नियम र प्रक्रिया छन्,’ उनले भने, ‘वास्तविक समस्या भनेको लगानीकर्ता र व्यवस्थापनको भूमिकालाई स्पष्ट ढंगले परिभाषित गर्न नसक्नु हो।’
बैंकका सञ्चालक बोर्डमा व्यावसायिक र दक्ष व्यक्ति आवश्यक भएको बताउँदै चौधरीले राम्रो व्यवस्थापनले नै लगानीकर्ताको हित सुरक्षित गर्ने तर्क गरे ।
लगभग दुई वर्षदेखि प्रक्रियामा अड्किएको बाफिया संशोधन विधेयकले वर्तमान चुनौती र अवसर समेट्न नसकेको टिप्पणी गर्दै उनले विधेयक फिर्ता गरेर नयाँ दृष्टिकोणसहित पुनर्लेखन गर्न माग गरे ।
उनले नेपाली धेरै भएको विदेशी मुलुकमा बैंकलाई शाखा खोल्न दिनु पर्ने बताए ।
‘बाफियाले नेपाली बैंकलाई क्षेत्रीय वा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा लैजान सक्नेछ कि सक्दैन? डिजिटल बैंकिङ युगमा कुन दिशा देखाउँछ? अस्ट्रेलिया, मलेसियाजस्ता देशमा नेपाली बैंकले शाखा खोल्न पाउने व्यवस्था छ कि छैन?’ उनले प्रश्न गरे ।
दीर्घकालीन लगानीका लागि आवश्यक पुँजीको अभाव देशको ठुलो चुनौती भएको उल्लेख गर्दै उनले पूर्वाधार विकास बैंक (निफ्रा) समेत वाणिज्य बैंकसरह महँगो ब्याजदर र छोटो अवधिको ऋण दिने संस्थामा सीमित भएको गुनासो गरे।








प्रतिक्रिया