
काठमाडौं । अरनिको राजमार्ग अन्तर्गत धुलिखेलदेखि खावा खण्डमा सडक कालोपत्रे (पिच)गर्ने कार्य सुरु हुने भएपछि सवारी आवागमनमा रोक लगाइने भएको छ ।
सडक डिभिजन कार्यालय भक्तपुरले एक सूचना जारी गर्दै आगामी चैत ७ गतेदेखि चैत २० गतेसम्म उक्त सडक खण्डमा सवारी साधन सञ्चालनमा साँझ ६:०० बजेदेखि भोलिपल्ट बिहान ५:०० बजेसम्म सञ्चालन गर्न नपाइने सूचनामा जनाइएको छ ।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा गत फागुन २९ गते बसेको बैठकको निर्णयअनुसार सडक स्तरोन्नतिका लागि सवारी साधनको हकमा निम्न बमोजिमको नियम लागू हुनेछ:
१. ठूला सवारी साधन (बससमेत): धुलिखेल–खावा खण्डमा ठूला चारपाङ्ग्रे सवारी साधन र बसहरू साँझ ६:०० बजेदेखि भोलिपल्ट बिहान ५:०० बजेसम्म सञ्चालन गर्न पाइने छैन।
२. टिपर र ट्रक: टिपर तथा ट्रकहरूको हकमा भने चैत ७ देखि २० गतेसम्म चौबिसै घण्टा सञ्चालनमा पूर्ण रोक लगाइएको छ। पास लिएका टिपर र ट्रकहरूले पनि यस अवधिमा उक्त सडक प्रयोग गर्न पाउने छैनन्।
सडक डिभिजन कार्यालयले सडक निर्माणको कामलाई तीव्रता दिन र गुणस्तरीय बनाउन यो निर्णय गरिएको जनाउँदै उक्त अवधिमा वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारण र यातायात व्यवसायीहरूलाई आग्रह गरेको छ।
सूचना अधिकारी ई. दिपक अकामीका अनुसार तोकिएको समयभित्र कालोपत्रेको काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यो नियम चैत ७ गतेदेखि चैत २० गतेसम्म लागू हुनेछ।







प्रतिक्रिया