एमआरपी कार्यान्वयन गरिछाड्ने सरकारको प्रतिवद्धता, व्यापारी किन बिरोधमा उत्रिए ?

217
Shares

काठमाडौं । सरकारले स्वदेशमा उत्पादित तथा आयात हुने उत्पादनहरूमा अनिवार्य रूपमा एमआरपीसहितको लेबल लगाउनुपर्ने कानूनी व्यवस्थालाई कडाइका साथ कार्यान्वयनमा ल्याउने संकेत गरेको छ ।

व्यापारीहरूले बिरोध गरिरहेका बेला वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले वस्तुको लेबल नराखी कारोबार गर्नेहरुलाई अनुगमन गरी थप कारबाही गर्ने जनाएको छ ।

अधिकतम बिक्री मूल्यले बजार बिग्रिएको र जरिवानाले व्यवसायी हतोत्साहित भएको भन्दै उनीहरु एमआरपी लागू नगराउन ‘लबिइङ’ मा छन् । तर त्यो लबिङ कानूनको धज्जी उडाउँदै उपभोक्ताको हित विपरित भएको भन्दै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कडाइका साथ नियम लागू गर्ने बताएको छ ।

विभागका महानिर्देशक कुमारप्रसाद दाहालले २०७५ मा आएको ऐन अहिलेसम्म कार्यान्वयनमा आउन नसक्नु दुखद् भएको भन्दै आफ्नो मिसन एमआरपी जसरी भए पनि कार्यान्वयन गर्ने रहेको बताए ।

आफूले अहिले एमआरपी कडाइका साथ लागू गर्नेगरी काम गरिरहेको उनको भनाइ छ। अहिले खाद्यन्न, मोटरसाइकल स्पेर्यस पार्टस्, मेडिकल सामग्री कुनैमा पनि एमआरपी लागू भएको देखिँदैन ।

त्यति मात्रै नभई विद्यालयहरूमा पनि जथाभावी शुल्क लिने गरेको बताउँदै यसका लागि सरकार आफैँ सक्रिय भएर एमआरपी लागू गर्न लागेको दाहालले बताए ।

मेडिकल सम्बन्धी सामग्रीमा पनि जथाभाबी रूपमा रकम असुल गर्ने गरेको पाइएको उनको भनाइ छ । उनकाअनुसार मोटर स्पेयरपार्टसहरुको एमआरपी मेटाएर वा मूल्य नराखेर बिक्री हुँदै आएको पाइएको छ । विभागले अनुगमन गरेर कारबाहीसँगै एमआरपी लागू गर्न सचेत पार्दैछ ।

बजारलाई स्वस्थ बनाउन सरकार मात्रै नभई निजी क्षेत्रसमेत आफैँ लाग्नुपर्ने उनको भनाइ छ ।

अनावश्यक रूपमा विदेशी ब्राण्डहरू भित्रिरहँदा त्यसले निकट भविष्यमै बजारलाई ठूलो समस्यामा पार्नसक्ने जोखिम रहेको उनी बताउँछन् ।

‘अहिले हामीले एमाआरपीको कुरा बजारमा उठाएका छौं । निजी क्षेत्रका छाता संगठनहरुले नै एमआरपी लगाउनु हुँदैन भन्नुहुन्छ । कानूनमा लेखिएका कुराहरु कार्यान्वयन वाणिज्य तथा आपूर्ति विभागले गर्न खोजेको हो । बजार कता गइरहेको छ । बजारले के इन्डिकेट गरिरहेको छ । हाम्रो अर्थतन्त्र कता गइरहेको छ भन्ने यहाँ देखिन्छ,’ उनले भने .

मेडिकल सप्लायर्समा १६ हजार पर्ने एउटा मुटुको उपचार गर्न प्रयोग हुने ‘टेको’ लाई १ लाख ६० हजारसम्म विलबिजक भेटाएको उनको भनाइ छ । भारतबाट आएको एमआरपी १६ हजार रहेको र‍ १ लाख ६० हजार नेपाली विल बिजक गरेको वाणिज्य विभागमा उजुरी परेको उनको भनाइ छ ।

दाहालले वस्तुहरुको अनुगमनमा जाँदा अहिले व्यापारी, आयातकर्ताहरुले घेराबन्दी समेत गर्ने गरेको भन्दै आफू नडराउने बताए । सरकारले एमआरपी कडाइका साथ लागू गर्ने बताइरहँदा व्यवसायीहरुले विरोध गरिरहेका छन् । अनाधिकृत व्यापारलाई नियन्त्रण गर्न सरकार लाग्नु सकारात्मक भए पनि एमआरपीका नाममा उद्योगी व्यापारीलाई तर्साउन नहुने उनीहरुको भनाइ छ । निजी क्षेत्रका संस्थाहरुले तत्काल एमआरपी लागू गर्न कठिन समेत रहेको बताउँछन् ।
हालै मात्र चार व्यापारिक संगठनले विज्ञप्ति नै जारी गरेर स्वदेशमा उत्पादित तथा नेपालमा आयात हुने सबै उत्पादनमा अनिवार्य रूपमा एमआरपी सहित लेबल लगाउन सहज नभएको बताए । वीरगञ्ज उद्योग वाणिज्य संघ, मोरङ उद्योग व्यापार संघ, सिद्धार्थ उद्योग वाणिज्य संघ र काठमाडौं उद्योग वाणिज्य संघले संयुक्त विज्ञप्ति जारी गरी विभागको निर्देशन तत्कालै लागू गर्न सम्भव नभएको बताए ।

कोभिड–१९ र विश्वव्यापी मन्दी लगायत कारण मुलुकमा अवस्थित उद्योग, व्यापार, श्रमिकलाई पारिश्रमिक, बैंकलाई साँवा–ब्याज, विद्युत प्राधिकरणलाई बिजुली महशुल लगायत खर्च जेनतेन धान्दै अर्थतन्त्र चलायमान बनाउँदै आएकाले पनि तत्कालै नेपालमा आयात र उत्पादन हुने वस्तुमा एमआरपी लेबल लगाउन नसकिने उनीहरुको भनाइ छ ।

‘चामल उत्पादन हुने ठाउँ वीरगञ्जमा प्रतिबोरा २ हजार पर्दछ । त्यही चामल ढुवानी खर्चसहित हुम्ला, जुम्लामा प्रतिबोरा ३ हजार रुपैयाँ पर्दछ । यस परिवेशमा एमआरपी कति राख्ने ? २ हजार कि ३ हजार ? त्यसमा पनि ढुवानी खर्च परिवर्तन भइरहने भएकाले एमआरपी लगाउन सकिँदैन,’ व्यापारीको भनाइ छ ।