
एजेन्सी । चीनमाथि अमेरिकाले ट्यारिफ(कर) १२५ प्रतिशत पुर्याएपछि दुवै देशबीच ठूलो व्यापार युद्ध सुरु हुने सम्भावना निकै बढेको छ ।
चीनमाथि पहिले नै २० प्रतिशत ट्यारिफ लागेको थियो । गत हप्ता राष्ट्रपति डोनाल्ड ट्रम्पले थप ३४ प्रतिशत ट्यारिफ लगाउने घोषणा गरेका थिए । यो अप्रिल ९ मा लागू हुने भनिएको थियो तर त्यसको केही घण्टा अघि ट्रम्पले फेरि ५० प्रतिशत थप्ने घोषणा गरे ।
जवाफस्वरूप चीनले बुधबार अमेरिकी सामानहरूमा ट्यारिफ ५० प्रतिशत बढाउँदै ८४ प्रतिशत पुर्यायो । त्यसपछि बुधबार नै ट्रम्पले चीनमाथि ट्यारिफ १२५ प्रतिशत पुर्याउने घोषणा गरे ।
ट्रम्पले अन्य देशहरुलाई भने ट्यारिफ ९० दिनका लागि रोके र रेसिप्रोकल ट्यारिफ घटाएर १० प्रतिशतमा ल्याए । तर चीनमाथि भने उनले थप गरेर १२५ प्रतिशत बनाइदिए ।
चीनले अमेरिकाको ‘जबरजस्ती’ अघि झुक्नुको सट्टा ऊ ‘अन्तिम साससम्म लड्न’ तयार रहेको प्रतिक्रिया दिएको छ ।
ट्रम्पको अचानक निर्णय परिवर्तनसँगै बुधबार अमेरिकी सेयर बजारमा ऐतिहासिक उछाल देखियो । चीन बाहेक अरू देशहरू जसलाई ट्यारिफ लाग्ने डर थियो उनीहरूले भने राहतको सास फेरे ।
छिटो बदलिएका घटनाक्रमका कारण अमेरिका र एसियाली बजारमा राम्रो उछाल देखियो । अमेरिकी सेयर बजारका प्रमुख सूचकांकहरू एसएन्डपी–५०० मा ९.५ प्रतिशत, नास्डाकमा १२.२ प्रतिशत र डाउ जोन्समा ७.९ प्रतिशतको उछाल आयो ।
एसियाली बजारहरूमा जापानको निक्केई–२२५ मा ८.६ प्रतिशत, दक्षिण कोरियाको कोस्पीमा ४.८ प्रतिशत, ताइवानको ताईएक्समा ९.३ प्रतिशत र अष्ट्रेलियाको एएसएक्स–२०० मा ५ प्रतिशत को उछाल देखियो।
हङकङ र चीनका बजारहरूमा पनि थोरै उकालो देखियो-शाङ्हाई कम्पोजिट १.३ प्रतिशत र ह्याङ सेङ्ग ३ प्रतिशतले बढे।
बजार विश्लेषकहरू भन्छन्- ट्रम्पले दिएको राहतले बजारको मनोवृत्तिलाई ‘डरबाट उत्साह’ मा बदलिदिएको हो । यद्यपि खतरा अझै बाँकी छ किनभने यो भिडन्त विश्वका दुई ठूला अर्थतन्त्रबीच हो।
ट्रम्पको पछिल्लो घोषणापछि चीनले प्रतिक्रिया दिँदै आफूहरू ‘चुप लागेर’ नबस्ने प्रतिक्रिया दिएको छ ।
चिनियाँ सरकारी मिडिया सिन्ह्वाले वाणिज्य मन्त्रालयका एक अधिकारीलाई उद्धृत गर्दै भनेको छ,’जब आफ्ना जनताको वैध अधिकार र हितमाथि चोट पुग्छ र अवरोध ल्याइन्छ, चीन सरकार चुपचाप बस्दैन ।’
अमेरिका र चीनबीचको आपसी व्यापार कति छ ?
गत वर्ष अमेरिका र चीनबीचको द्विपक्षीय व्यापार करिब ५८५ अर्ब डलरको थियो । यसमा अमेरिका चीनबाट ४४० अर्ब डलरको आयात गर्छ जबकि चीनले अमेरिकाबाट १४५ अर्ब डलरको आयात गर्छ ।
यसका कारण सन् २०२४ मा अमेरिका चीनसँग करिब २९५ अर्ब डलर व्यापार घाटामा थियो ।
यो कुल अमेरिकी अर्थतन्त्रको १ प्रतिशत बराबर मात्रै भए पनि अमेरिका जस्तो ठूलो अर्थतन्त्रको हिसाबले हेर्दा यो ठूलो घाटा हो।
तर यो ट्रम्पले यसै हप्ता गरेको एक ट्रिलियन डलर घाटाको दाबीभन्दा धेरै कम हो ।
जब ट्रम्प पहिलो पटक राष्ट्रपति बनेका थिए, उनले चीनका सामानहरूमा भारी ट्यारिफ लगाएका थिए । त्यसपछि राष्ट्रपति बनेका जो बाइडनले पनि ती ट्यारिफहरू हटाएका छैनन् ।
यी ट्यारिफका कारण चीनबाट अमेरिका आउने आयात घटेको छ । २०१६ मा अमेरिका आयातमा चीनको हिस्सा २१ प्रतिशत थियो भने गत वर्ष यो घटेर १३ प्रतिशतमा झर्यो ।
त्यसैले व्यापारमा अमेरिका चीनमाथि पहिलेभन्दा कम निर्भर हुन थालेको छ ।
विश्लेषकहरू भन्छन्- अमेरिकामा पठाइने केही चिनियाँ निर्यात वस्तुहरू अब दक्षिणपूर्वी एसियाली मुलुकहरू हुँदै पठाइन्छन् ।
जस्तै, ट्रम्पले २०१८ मा चीनबाट आउने सोलार प्यानलमा ३० प्रतिशत ट्यारिफ लगाएका थिए । तर अमेरिकी वाणिज्य विभागले २०२३ मा चिनियाँ निर्माता कम्पनीहरूले मलेसिया, थाइल्याण्ड, कम्बोडिया र भियतनाममा एसेम्ब्ली स्थापना गरेर ती देशहरूको बाटो हुँदै अमेरिका पठाउन थालेको प्रमाण दिएको थियो ।
यसरी चीनका कम्पनीहरू ट्यारिफको असरबाट जोगिएका थिए ।
अब नयाँ रेसिप्रोकल ट्यारिफ ती देशहरूमा पनि लाग्नेछ । यसले अमेरिका भित्र ती वस्तुहरू महँगा बनाउनेछ, जुन वस्तुहरू मूलतः चीनमै उत्पादन हुन्छन् ।
अमेरिका र चीन एक–अर्काबाट के–के खरिद गर्छन् ?
सन् २०२४ मा अमेरिका चीनलाई सबैभन्दा धेरै सोयाबिन निर्यात गर्थ्यो, जुन चीनमा रहेका ४४ करोड बुँगुरको खाना बन्न प्रयोग हुन्छ । अमेरिका चीनलाई औषधि र पेट्रोलियम पदार्थ पनि बेच्दछ । अर्कातिर, चीनले अमेरिका पठाउने वस्तुहरूमा धेरैजसो इलेक्ट्रोनिक्स, कम्प्युटर र खेलौना हुन्छन् । इलेक्ट्रिक गाडीमा लाग्ने ब्याट्री पनि चीनबाटै जान्छ।
तर सबैभन्दा ठूलो हिस्सा स्मार्टफोनको हुन्छ, जुन चीनबाट अमेरिका जाने कुल सामानको ९ प्रतिशत हो । यी स्मार्टफोनमध्ये ठूलो हिस्सा अमेरिकी कम्पनी एप्पलका लागि बनाइन्छ ।
त्यही कारण चीनमाथि ट्यारिफ लागेपछि एप्पलको बजार मूल्य सबैभन्दा बढी घटेको हो । पछिल्लो एक महिनामा एप्पलको सेयर २० प्रतिशतसम्म घटेको छ ।
ट्रम्पले पहिलो कार्यकालमा २० प्रतिशत ट्यारिफ लगाएपछि अमेरिकामा चिनियाँ सामान महँगा भएका थिए । अब १२५ प्रतिशत ट्यारिफ लागेपछि यसको असर कैयौं गुणा बढी हुनेछ।
चीनमा पनि यस्तै असर पर्नेछ । अमेरिकी सामानमा प्रतिशोधस्वरूप ट्यारिफ लागेपछि चीनमा ती वस्तुहरू महँगा हुनेछन् र उपभोक्तामाथि भार पर्नेछ । तर ट्यारिफ मात्र होइन, व्यापारमार्फत एक–अर्कालाई असर गर्ने अन्य उपाय पनि यी दुई देशसँग छन् ।
उद्योगहरूमा चाहिने तामा र लिथियम जस्ता खनिज प्रशोधनमा चीनको प्रमुख भूमिका छ । बेइजिङले यी धातुहरू अमेरिका पुग्न रोकिने अवरोध ल्याउन सक्छ ।
चीनले यस्तै गरेर जर्मेनियम र गैलियम धातुहरूमा अवरोध लगाइसकेको छ । यी धातुहरू सेना क्षेत्रमा थर्मल इमेजिङ उपकरणमा प्रयोग हुन्छन्।
उता अमेरिका चीनमाथि प्रविधि नाकाबन्दी कडा बनाउन सक्छ, जसको सुरुआत जो बाइडन प्रशासनले गरेको थियो ।
यसले चीनलाई एडभान्स माइक्रोचिप्स आयात गर्न गाह्रो बनाउनेछ जुन आर्टिफिसियल इण्टेलिजेन्स जस्ता प्रविधिमा अत्यावश्यक छन् । चीन अहिले पनि यस्ता चिप्स आफैं बनाउने अवस्थामा छैन ।
ट्रम्पका व्यापार सल्लाहकार पिटर नवारोले यसै हप्ता अमेरिका, कम्बोडिया, मेक्सिको र भियतनामजस्ता देशहरूलाई उनीहरूले अमेरिका संग व्यापार गर्न चाहन्छन् भने चीनसँग व्यापार नगर्न दबाब दिनुपर्ने बताएका थिए ।
व्यापार युद्धको अन्य देशहरूमा के असर पर्न सक्छ ?
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का अनुसार सन् २०२५ मा विश्व अर्थव्यवस्थाको करिब ४३ प्रतिशत हिस्सा अमेरिका र चीनको अर्थतन्त्रले ओगटेको छ ।
यदि यी दुई देशबीच ठूलो व्यापार युद्ध भयो भने यसले दुबैको आर्थिक वृद्धिमा असर पार्नेछ, सम्भवतः मन्दी ल्याउनेछ र विश्वव्यापी सुस्त आर्थिक वृद्धिले अन्य देशहरूको अर्थतन्त्रमा पनि असर पार्नेछ।
यसको असर वैश्विक लगानीमा पनि पर्नेछ । यद्यपि थप खतरा पनि छन्।
चीन अहिले विश्वकै सबैभन्दा ठूलो उत्पादन गर्ने राष्ट्र हो र आफ्नो देशको मागभन्दा धेरै उत्पादन गर्छ ।
चीन पहिले नै १ ट्रिलियन डलरको ‘वस्तु सरप्लस’ मा छ जसको अर्थ उसले किनेको भन्दा धेरै सामान अरू देशमा बेच्दछ ।
चीनले घरेलु सहायता र मनपर्ने कम्पनीहरूलाई सस्तो ब्याजमा ऋण दिएर उत्पादन सस्तो बनाएको छ ।
स्टिल (फलाम) यसको उदाहरण हो ।
यदि ती सामान अमेरिका पठाउन नसक्ने हो भने चीनले ती सामान अरू देशहरूमा ‘डम्प’ गर्न सक्ने खतरा छ ।
यो उपभोक्ताका लागि फाइदाजनक होला तर ती देशका उद्योगलाई नोक्सान पुग्नेछ । रोजगारी जानेछ र बेरोजगारी बढ्नेछ।
‘यूके स्टील’ नामक संस्थाले चीनले ‘अन्य बाटाहरू’ प्रयोग गरेर स्टिल बेलायतमा पठाउन सक्ने चिन्ता व्यक्त गरेको छ ।
तर यति चाहिँ निश्चित छ, चीन र अमेरिकाबीचको खुला व्यापार युद्धको असर विश्वभर पर्न सक्छ।
धेरैजसो अर्थतन्त्रहरूले यसलाई नकारात्मक असर पार्ने घटना भनेर बुझिरहेका छन् ।










प्रतिक्रिया