
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले हवाई यात्रु तथा विमानस्थल प्रयोगकर्ताहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै आकस्मिक अवस्थामा तत्काल प्राथमिक उपचार प्रदान गर्ने उद्देश्यले अटोमेटेड एक्स्टर्नल डिफिब्रिलेटर (एईडी) नामक आधुनिक मेडिकल उपकरण जडान गरेको छ।
हवाई यात्राका क्रममा वा विमानस्थल परिसरमा रहँदा यात्रुहरूलाई कहिलेकाहीँ अचानक बेहोस हुने, श्वासप्रश्वास रोकिने, निसासिने वा भुइँमा ढल्ने जस्ता गम्भीर स्वास्थ्य समस्याहरू देखिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै यो उपकरण जडान गरिएको विमानस्थल कार्यालयले जनाएको छ।
यस्ता आकस्मिक घटना वा दुर्घटनाको समयमा उचित उपचार नपाउँदा ज्यानै समेत जान सक्ने जोखिम हुने भएकाले जीवन रक्षाका लागि यो उपकरणले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।
विशेष गरी मुटु र श्वासप्रश्वास सम्बन्धी समस्या देखिएका बिरामीलाई तत्काल यो उपकरण प्रयोग गरी जीवन रक्षा गर्न सकिनेछ। यस उपकरणको प्रयोगले आकस्मिक रूपमा अस्वस्थ भएका व्यक्तिलाई अस्पताल पुर्याउनुअघि प्रभावकारी प्राथमिक उपचार उपलब्ध गराउन सहज हुने विमानस्थलको ठहर छ।
उपकरणको सही र प्रभावकारी प्रयोग सुनिश्चित गर्न पहिलो चरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सम्बद्ध कर्मचारीहरू तथा विमानस्थलमा रहेका मेडिकल युनिटहरूमा कार्यरत कर्मचारीहरूलाई यसको प्रयोग विधि सम्बन्धी विशेष तालिम समेत प्रदान गरिएको छ। तालिम प्राप्त जनशक्ति भएपछि आपत्कालीन अवस्थाको व्यवस्थापन थप प्रभावकारी हुने कार्यालयले बताएको छ।
विमानस्थल व्यवस्थापनले भविष्यमा पनि यस किसिमका स्वास्थ्य सुरक्षा सम्बन्धी सेवा तथा उपकरणहरूको विस्तार गर्दै जाने योजना रहेको व्यहोरा प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ।











प्रतिक्रिया