निक्षेपको औसत ब्याजदर ८ वर्ष पछिको न्यून हुँदा कर्जाको ४२ महिना यताकै तल झर्‍यो

329
Shares

काठमाडौं । कर्जाको औसत ब्याजदर ४२ महिना यताकै तल झरेको छ । कर्जाको ब्याजदर साढे ३ वर्षपछिको न्यून बिन्दुमा आउँदा बैंकहरुले निक्षेपकर्तालाई दिने ब्याजदर ८ वर्षपछिको तल्लो बिन्दुमा झरेको हो ।

नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको चालु आर्थिक वर्षको माघ मसान्तको तथ्यांकमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर २०७८ साउनपछिकै न्यून बिन्दुमा झरेको हो । माघमा कर्जाको भारित औसत ब्याजदर ८.५५ प्रतिशतमा झरेको हो ।

२०७८ असार मसान्तमा कर्जाको भारित औसत ब्याजदर पछिल्लो एक दशककै न्यून बिन्दुमा झरेको थियो । २०७८ साउनमा ८.४३ प्रतिशतमा झरेको कर्जाको भारित औसत ब्याजदर साउनदेखि लगातार बढेर २०७९ माघ र फागुनमा कर्जा भारित औसत ब्याजदर १३.०३ प्रतिशतसम्म पुगे पनि पछिल्लो २ वर्षयता भने लगातार घट्दो क्रममा देखिएको छ ।

चालु आर्थिक वर्षमा निक्षेपको तुलनामा कर्जाको वृद्धिदर केही माथि देखिएको छ । तर, अधिक तरलता लिएर बसेको बैंकहरुले तत्काल ब्याजदर बढाउने अवस्था नदेखिँदा ब्याज अझै घट्ने देखिन्छ । निक्षेपको ब्याजदर घटाउने रोकिए पनि तत्काल बढ्ने अवस्था देखिँदैन ।

निक्षेपको ब्याजदर घट्नेक्रम रोकिए पनि बैंकहरुले विगतमा लिएको महँगो लागतको निक्षेप नवीकरण हुने क्रममा कमी आएको छ । यस्तै नवीकरण भएका निक्षेप पनि कम लागतको हुँदा बैंकहरुको निक्षेपको लागत अझै घट्दो क्रममा नै छ । अझै केही महिना निक्षेपको ब्याजदर बढ्ने अवस्था भएकोले कर्जाको ब्याजदर अझै घट्ने बैंकरहरु बताउँछन् ।

नेपाल राष्ट्र बैंकले बैंकहरुले निक्षेपमा दिने र कर्जामा लिने ब्याजदर बीचमा अन्तर (स्प्रेड दर) ४.४ प्रतिशतबाट घटाएर ४ प्रतिशतमा झारेको छ । त्यस्तै स्प्रेड दर गणना गर्ने विधिमा समेत परिमार्जन गरेको छ । जसले गर्दा बैंकहरुको कर्जाको ब्याजदर घट्न थप सहयोग पुगेको हो ।

२०७८ असार मसान्तमा कर्जाको भारित औसत ब्याजदर ८.४३ प्रतिशतमा आउँदा बैंकहरुको कर्जा खोसाखोस उच्च दरमा बढेको थियो । अधिक तरलताले कोषको लागत बढे पनि बैंकहरुले कर्जा खोसाखोस गर्ने र आधार दरमा नै कर्जा दिने प्रतिस्पर्धाले स्प्रेड दर केही बैंकको २ प्रतिशतसम्म आयो । पछि बैंकहरुले कर्जाको प्रिमियम दर बढाएर ब्याजदर बढाएपछि राष्ट्र बैंकले त्यसरी बढाएको प्रिमियम फिर्ता गर्न लगायो ।

यसपटक भने राष्ट्र बैंकले ३ प्रतिशतमा निरन्तर तरलता खिच्दा बैंकिङ क्षेत्रमा ४ वर्ष अगाडिको जस्तो अस्वस्थ प्रतिस्पर्धा छैन । जसले गर्दा निक्षेपको औसत ब्याजदर लागत ४.६२ प्रतिशतमा आउँदा पनि कर्जाको भारित औसत ब्याजदर २०७८ असारको अवस्थामा झरेको छैन । २०७८ असारमा निक्षेपको औसत ब्याजदर ४.६५ प्रतिशत हुँदा पनि कर्जाको ब्याजदर ४.८३ प्रतिशतमा आएको थियो ।

बैंकहरुले निक्षेपमा दिएको औसत ब्याजदर ८ वर्षपछिको न्यून बिन्दुमा झरेको हो । २०७३ पुस मसान्तमा निक्षेपको भारित औसत ब्याजदर ३.९८ प्रतिशत थियो । माघमा बढेर ४.७० प्रतिशत पुगेको ब्याजदर कोभिडको समयमा पनि ५.६५ प्रतिशतमा मात्रै झर्यो । तर, यसपटक भने माघ मसान्तमा आउँदा निक्षेपको औसत ब्याजदर ४.६२ प्रतिशतमा झरेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ ।

बढ्दै कर्जाको वृद्धिदर

पछिल्लो दुई आर्थिक वर्षमा ६ प्रतिशत पनि पुग्ने नसकेको कर्जाको वृद्धिदर चालु आर्थिक वर्षमा भने केही सुधार देखिदै गएको छ । चालु आर्थिक वर्षको ७ महिना (साउन–माघ) मा निजी क्षेत्रको कर्जा ५.६ प्रतिशत अथात् २ खर्ब ८३ अर्ब ४६ करोडले बढेको राष्ट्र बैंकले जनाएको छ । गत आवको सोही अवधिमा यस्तो कर्जा १ खर्ब ९७ अर्ब २१ करोड मात्रै बढेको थियो । यसले गत वर्षको तुलनामा कर्जाको वृद्धिदरमा केही सुधार देखाएको हो ।

यता ब्याजदर घट्दा निक्षेपको वृद्धिदरमा भने धक्का लाग्दै गएको छ । ब्याजदर घटेको कारण मुद्धति निक्षेपको नवीकरण गर्ने क्रम नै घटेको बैंकर्स संघका पूर्वअध्यक्ष समेत रहेका नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना बताउँछन् ।

वाणिज्य बैंकको कुल निक्षेपमा मुद्दती निक्षेपको हिस्सा घट्दै गएको तथ्यांकले पनि त्यसलाई पुष्टी गर्छ । २०८० माघ मसान्तमा कुल निक्षेपमा मुद्दती निक्षेप अंश ५९.८ प्रतिशत थियो । २०८१ असारमा ५६.४ प्रतिशत रहेकोमा २०८१ माघ मसान्तमा आउँदा उक्त हिस्सा ५२.४ प्रतिशतमा झरेको छ । सोही अवधिमा बचत निक्षेप भने बढ्दै गएको छ । २०८० माघ मसान्तमा बचतको हिस्सा २७.४ प्रतिशत रहेकोमा २०८१ माघ मसान्तमा आउँदा ३४.८ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ ।

ब्याजदर घटेका कारण निक्षेप नवीकरण गर्नेभन्दा पनि बचतमा राख्ने र आवश्यक पर्दा खर्च गर्ने प्रवृत्ति बढेको नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ढुंगाना बताउँछन् । ब्याजदर घट्दा निक्षेप नवीकरण गर्नेभन्दा पनि सेयर बजार लगायतका क्षेत्रमा लगानी बढ्दै गएको उनले बताए ।

सोही करण शोधनान्तर र चालु खाता बचत उल्लेख्य बढेको तथा रेमिट्यान्समा वृद्धि हुँदा पनि निक्षेपको वृद्धिदर भने न्यून छ । चालु आर्थिक वर्षको माघसम्म बैंकहरुको निक्षेप २ खर्ब ४५ अर्ब ३४ करोड अथात् ३.८ प्रतिशतले मात्रै बढेको छ । गत आर्थिक वर्षको यहि अवधिमा बैंकहरुको निक्षेप ३ खर्ब ९७ अर्ब २० करोड अथात् ७ प्रतिशतले बढेको थियो ।