रेमिट्यान्स बढ्दा शोधनान्तर बचत ३ खर्ब नजिक, चालु खाता बचत पनि निरन्तर बढ्दै

70
Shares

काठमाडौं । माघमा रेमिट्यान्समा भएको वृद्धिसँगै शोधनान्तर बचत र चालु खाता बचतमा पनि उल्लेख्य सुधार भएको छ । चालु आर्थिक वर्षमा सुरुवातबाट नै निरन्तर बचतमा रहेको भुक्तानी सन्तुलन र चालु खाता माघ मसान्तमा आउँदा उल्लेख्य बढेको हो ।

रेमिट्यान्स बढेपनि आयातमा भएको वृद्धिले शोधनान्तर बचत चालु आर्थिक वर्षको सात महिनामा गत वर्षको तुलनामा केही कम छ । तर, माघमा मात्रै शोधनान्तर बचत ३५ अर्ब भन्दा धेरैले बढेको छ । फागुन मसान्तमा शोधनान्तर स्थिति २ खर्ब ८४ अर्ब ४१ करोडले बचतमा छ । गत माघमा यस्तो बचत २ खर्ब ४९ अर्ब २६ करोड थियो । गत आर्थिक वर्षको यहि अवधिमा शोधनान्तर बचत २ खर्ब ९७ अर्ब ७२ करोडले बचतमा थियो । अमेरिकी डलरमा शोधनान्तर बचत २ अर्ब ११ करोड पुगेको छ । गत आवको यहि अवधिमा यस्तो बचत २ अर्ब २४ करोडले थियो ।

माघसम्म चालु खाता बचत १ खर्ब ६७ अर्ब ८० करोड पुगेको छ । पुस मसान्तमा १ खर्ब ४८ अर्ब रहेको यस्तो बचत १ महिनामा करिब १९ अर्बले बढेको हो । गत आवको माघसम्म चालु खाता १ अर्ब ६२ करोड ५२ लाखले बचतमा रहेको चालु आवमा अझै बढी देखिएको हो । अमेरिकी डलरमा गत आवको माघसम्म १ अर्ब २२ करोडले बचतमा रहेको चालु खाता चालु आवको सोही अवधिमा १ अर्ब २४ करोडले बचतमा रहेको छ ।

माघसम्म खुद पुँजीगत ट्रान्सफर ५ अर्ब ८३ करोड रहेको छ । यस्तै ७ अर्ब ४५ करोड प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटि मात्र) भित्रिएको हो ।