बैंकहरुले ऋण असुल्न हतार गर्ने होइन, व्यवसायलाई जोगाउने उपाय खोज्नुपर्छ: प्रधानमन्त्री

1.2k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरूलाई ऋणीहरूप्रति कठोर व्यवहार नगर्न आग्रह गरेका छन् । सोमबार काठमाडौंमा आयोजित दुई दिने राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०८१ मा प्रधानमन्त्री ओलीले बैंकहरूले अप्ठ्यारोमा परेका ऋणीहरूलाई सहयोग गर्नुको साटो झन् कठिन परिस्थितिमा पार्ने व्यवहार गर्ने गरेको टिप्पणी गरे ।

ओलीले ऋण नतिर्नेलाई खराब ऋणी भनिए पनि साहु खराब हुने भन्दै असहज परिस्थतिमा घाँटी निचोर्ने काम गर्न नहुने बताए।

‘भन्दाखेरि खराब ऋणी भन्ने, तर त्यहाँ साहु खराब हुन्छ । जसले अप्ठ्यारो परेको बेला सहयोग गरेर अगाडि बढाउने ठाउँमा, अप्ठ्यारो बेलामा मद्दत नगरेर अझ घाँटी निचोर्ने खालको काम हुन्छ । यस कुराबाट हामी जोगिनुपर्छ ।’

ऋणी अप्ठ्यारोमा परेको बेला बैंकले उनीहरुलाई सहयोग गर्नुपर्ने ओलीको भनाइ छ ।

‘जब ऋणी अप्ठ्यारोमा पर्छ, तब बैंकहरूले तिनलाई थप सहयोग गर्नु आवश्यक छ,’ ओलीले भने, ‘ऋण असुल्न हतार गर्ने होइन, व्यवसायलाई जोगाउने उपाय खोज्नुपर्छ, ताकि ऋण फिर्ता गर्ने वातावरण तयार होस् ।’

उद्योगी व्यवसायीहरू आर्थिक कठिनाइमा पर्दा बैंकहरू उनीहरूबाट तत्काल असुली गर्न केन्द्रित हुने प्रवृत्ति रहेको भन्दै प्रधानमन्त्री ओलीले त्यस्तो व्यवहार परिवर्तन गर्न सुझाव दिए ।

‘धेरैजसो ऋणीहरू ऋण तिर्न चाहन्छन्, तर कहिलेकाहीं परिस्थितिले अप्ठ्यारो पार्छ,’ उनले भने, ‘बैंकहरूले कठोर नीति अपनाएर होइन, उचित समाधान खोजेर ऋण उठाउनुपर्छ । यदि ऋणीलाई डुब्नबाट जोगाइयो भने मात्र उसले ऋण तिर्न सक्छ ।’

प्रधानमन्त्री ओलीले आर्थिक क्षेत्रमा सहकार्य आवश्यक रहेको भन्दै बैंकहरूलाई ऋणीहरूप्रति सहानुभूतिपूर्ण र दीर्घकालीन सोच राखेर काम गर्न आग्रह गरे ।

ओलीले उद्यमशीलताको विकास नगरी रोजगारी त्यतिकै आकाशबाट नझर्ने बताए । ‘रोजगारी प्रवर्द्धन दशक गर्ने भनिरहेका छौं । रोजगारी प्रवर्द्धन कसरी हुन्छ ? रोजगारी कहाँबाट र कसरी प्राप्त गर्ने ?,’ उनले भने, ‘रोजगारी आकाशबाट झर्नेवाला छैन । उद्यमशीलताको विकास बिना रोजगारी सिर्जना हुँदैन ।’

सबैले जागिर मात्रै खोज्ने भए कसले दिने भन्दै ओलीले प्रश्न गरे । सरकारी जागिर सीमित रहेको उनको भनाइ छ ।

‘सरकारी जागिर सीमित छ । कहिले को रिटायर होला र खाली होला भन्ने स्थिति छ,’ उनले भने, ‘एउटा ठाउँ खाली हुँदैमा लोकसेवाले विज्ञापन निकाल्दैन ।’

प्रत्येक वर्ष साढे चार लाख मानिस रोजगारीको खोजीमा श्रम बजारमा आउने ओलीको भनाइ छ ।

‘रोजगारीका अवसरहरु सिर्जना नगरी हुँदैन, त्यसका लागि उद्यमशीलताबाट प्राप्त हुन्छ,’ उनले भने, ‘जागिर खान्छु नभई आँफै केही गर्छु भन्नेतर्फ लाग्नु पर्छ ।’

रोजगारीका अवसरहरु सिर्जना गर्न सरकारभन्दा बढी निजी क्षेत्र क्रियाशील हुनुपर्ने उनको भनाइ छ । ‘निजी क्षेत्रले अर्थतन्त्रको नेतृत्व गर्ने उनको भनाइ छ ।