ट्रम्प शासनको प्रभाव: यी अमेरिकी कलेजमा हट्यो ‘स्कलरसीप’

1.9k
Shares

एजेन्सी । अमेरिकी कृषि विभाग (यूएसडीए) ले ग्रामीण र कम अवसर भएका क्षेत्रका विद्यार्थीहरूका लागि रहेको कलेज छात्रवृत्ति कार्यक्रम निलम्बन गरेको छ।

यूएसडीएको वेबसाइटमा उल्लेख गरिए अनुसार यो कार्यक्रम हिस्टोरिकल्ली ब्ल्याक कलेजेज एन्ड युनिभर्सिटिजी (एचबीसीयूएस) मा अध्ययन गर्ने विद्यार्थीहरूका लागि थियो ।

१८९० स्कलर्स कार्यक्रमले देशभर रहेका १९ वटा ऐतिहासिक रूपमा कालो भूमि-अनुदान विश्वविद्यालयहरूमा कृषि विषय पढ्ने विद्यार्थीहरूको संख्या बढाउने उद्देश्य राखेको थियो । यी विश्वविद्यालयहरू संघीय रूपमा वित्तीय सहायता प्राप्त गर्छन् र प्रायः कृषि शिक्षामा केन्द्रित हुन्छन्।

हाल कार्यक्रमको वेबसाइटमा एउटा सूचना राखिएको छ जसमा भनिएको छ कि कार्यक्रम ‘पुनरावलोकन नभएसम्म निलम्बन गरिएको छ।’

यूएसडीएले यसबारे कुनै प्रतिक्रिया दिएको छैन । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले संघीय विविधता र समावेशीकरण प्रयासहरू रद्द गर्ने कार्यकारी आदेशहरू जारी गरिसकेको छ ।

यस कार्यक्रमले सहभागी विद्यार्थीहरूलाई पूर्ण शुल्क, बसोबास र खानाको व्यवस्था गरिदिन्थ्यो । यूएसडीएको वेबसाइटअनुसार सन् २०२४ मा ९४ विद्यार्थीहरूलाई छात्रवृत्तिका रूपमा कुल १९.२ मिलियन डलर खर्च गरिएको थियो ।

‘यो एक महत्वपूर्ण कार्यक्रममाथि स्पष्ट आक्रमण हो, जसले सबैलाई उच्च शिक्षा प्राप्त गर्न सहयोग गरिरहेको छ,’ उत्तर क्यारोलिनाकी प्रतिनिधि अल्मा एडम्सले एक विज्ञप्तिमा भनिन् । उनी एचबीसीयू ककस (संसदीय समूह) की संस्थापक तथा अध्यक्ष हुन् ।

‘यो कार्यक्रम ऐतिहासिक रूपमा भूमि-अनुदान प्रणालीमा भएको जातीय भेदभाव सच्याउने प्रयास हो, भेदभावको उदाहरण होइन’ उनको भनाइ छ ।

यस कार्यक्रम कहिलेबाट निलम्बन गरियो भन्ने कुरा प्रस्ट छैन। तर, रायटर्सले संकलन गरेको पुराना वेबपृष्ठहरूको समीक्षाका क्रममा फेब्रुअरी १६ देखि नै वेबसाइटमा निलम्बनको सूचना देखिन थालेको पाइएको छ।

भूमि-अनुदान विश्वविद्यालय भनेको के हो?

अमेरिकामा ल्याण्ड ग्रान्ट युनिभर्सिटी भनेको सरकारबाट प्रदान गरिएको जमिनको अनुदान मार्फत स्थापना गरिएका विश्वविद्यालयहरू हुन् । जसले विशेष गरी कृषि, प्राविधिक तथा व्यावसायिक शिक्षा प्रवर्धन गर्छन् । सन् १८६२ मा मोरिल एक्ट पारित भएपछि यस्ता विश्वविद्यालयहरू स्थापना गरिएका थिए ।

अमेरिकाले भूमि-अनुदान विश्वविद्यालय स्थापना गर्न अनुमति दियो । तर धेरै राज्यहरूले अफ्रिकन-अमेरिकी विद्यार्थीहरूलाई यी संस्थाहरूमा पढ्न नदिने नीति अपनाए । सरकारले नीतिगत परिवर्तन गर्दै राज्यहरूलाई उनीहरूले कालो विद्यार्थीहरूलाई आफ्नो भूमि-अनुदान विश्वविद्यालयहरूमा भर्ना गर्न नदिने हो भने उनीहरूका लागि छुट्टै विश्वविद्यालय खोल्नुपर्ने गरि कानुन संशोधन गरियो ।

यसै कारण १८९० भूमि-अनुदान विश्वविद्यालयहरू स्थापना भए, जुन प्रायः ऐतिहासिक रूपमा कालो कलेज तथा विश्वविद्यालयहरू थिए।

यी विश्वविद्यालयहरूले अफ्रिकन-अमेरिकी समुदायका लागि कृषि, विज्ञान, प्रविधि, इन्जिनियरिङ, र गणित जस्ता क्षेत्रमा उच्च शिक्षा प्रदान गर्छन् ।