चिनियाँ सेनाबारे अब अन्य देशलाई जानकारी नहुने: बोल्ने/लेख्ने र भिडियो बनाउनेलाई कारबाही


एजेन्सी । चीनले आफ्नो सेनासँग सम्बन्धित जानकारी अनलाइनमा सार्वजनिक गर्ने प्रक्रियालाई कडाइ गर्न नयाँ नियमहरू ल्याएको छ । यसले विश्वकै सबैभन्दा ठूलो सेनाबारे जानकारी संकलन गर्न कठिन बनाउन सक्ने छ।

यी नियमहरू गत हप्ता घोषणा गरिएका हुन् र मार्च १ देखि लागू हुने जनाइएको छ । अमेरिकाको सैन्य शक्तिसँग बराबरी गर्न सकियोस् भनेर चीनले हाल आफ्नो जनमुक्ति सेना (पीएलए) लाई तीव्र रूपमा विस्तार र आधुनिकीकरण गरिरहेको हो ।

यी नियमलाई राष्ट्रपति सी जिनपिङको राष्ट्रिय सुरक्षालाई बलियो बनाउने प्रयासको अर्को भागको रुपमा लिइएको छ । विशेष गरी हाल विश्वमा बढ्दो तनावलाई ध्यानमा राख्दै सीले गोप्य जानकारी जोगाउन कदम चालिरहेका छन् । यी प्रयासहरूले विदेशीहरूलाई चीनभित्र के भइरहेको छ भनेर बुझ्न झन् गाह्रो बनाउनेछ ।

नयाँ नियमले प्रायः नयाँ हतियार प्रणाली, सैनिक नियुक्ति र सेना सञ्चालन सम्बन्धी जानकारी दिने सैन्य ब्लगरहरू र विश्लेषकहरूलाई ठूलो असर पार्न सक्ने सीएनएनले जनाएको छ ।

उनीहरुले सार्वजनिक रूपमा पोस्ट गरेको यस्तो जानकारी पीएलएको गतिविधि ट्र्याक गर्न महत्वपूर्ण स्रोत बनेको थियो ।

सरकारले जारी गरेको निर्देशनअनुसार यी नियमहरू ‘झूटा सैन्य जानकारीको प्रसार’ र ‘सैन्य गोप्य जानकारी चुहावट’ रोक्न लक्षित छन्।

सैन्य सम्बन्धी सामग्री उत्पादन, प्रतिलिपि, प्रकाशन वा प्रसारण गर्न प्रतिबन्ध लगाइएको छ । यसमा सैन्य रहस्य, राष्ट्रिय रक्षा प्रविधि, हतियार प्रणालीको परीक्षण, सेना अभ्यास, सैन्य संरचना र युद्ध क्षमता जस्ता नखुलाइएका विषयहरू समावेश छन् ।

यी प्रतिबन्धहरूले हतियार प्रणालीको विकास र परीक्षणदेखि लिएर सेना अभ्यास, सैन्य संरचना, कार्यभार र युद्ध क्षमतासम्मका विवरणहरू समेट्छन् ।

ताइपेइका स्वतन्त्र विश्लेषक जोसेफ वेनका अनुसार चिनियाँ कम्युनिस्ट पार्टी गोपनीयता र प्रचार दुवैलाई महत्त्व दिने पार्टी हो ।

‘पीएलए सम्बन्धी जानकारी प्रवाहलाई लिएर चिनियाँ अधिकारीहरूले अहिलेसम्म मौन स्वीकृतिको नीति अपनाएका थिए,’ उनले भनेका छन्, ‘तर अब नयाँ नियमहरूले गोप्यतालाई प्राथमिकता दिने स्पष्ट संकेत दिएका छन् ।’

यी नियमहरूले व्यक्तिगत प्रयोगकर्ताहरूका साथै सैन्य जानकारी प्रदान गर्ने अनलाइन सेवाहरूमाथि पनि प्रभाव पार्नेछन् । सैन्य वेबसाइटहरू, स्तम्भहरू र सामाजिक सञ्जाल अकाउन्ट यसबाट प्रभावित हुने छन् ।

नयाँ नियमहरू लागू गर्न चीनका १० सरकारी तथा पार्टी निकायहरू संयुक्त रूपमा अघि आएका छन् । जसमा इन्टरनेट नियामक, सैन्य कमाण्ड निकाय, सार्वजनिक सुरक्षा मन्त्रालय, राज्य सुरक्षा मन्त्रालय र संस्कृति तथा पर्यटन मन्त्रालय समावेश छन् ।

खुला स्रोतबाट प्राप्त जानकारीहरूले विगतमा चीनको सैन्य प्रगतिको महत्वपूर्ण सूचना दिएको छ । उदाहरणका लागि, गत डिसेम्बरमा अनलाइनमा एउटा भिडियो भाइरल भएको थियो जसमा चीनको नयाँ स्टेल्थ फाइटर जेट देखिएको थियो । यो घटनाले पीएलएको गतिविधिबारे ठूलो चासो उत्पन्न गराएको थियो ।

नयाँ नियमले विदेशी मिडियाले चिनियाँ सेनाबारे रिपोर्टिङ गर्न कसरी प्रभाव पार्नेछ भन्ने अझै स्पष्ट भएको छैन ।

सैन्य मामिलाबारे अध्ययन गर्ने डेविड बान्डुर्स्कीका अनुसार, ‘चिनियाँ इन्टरनेटमा सैन्य सम्बन्धी सामग्री लोकप्रिय छ । तर सरकारले संवेदनशील जानकारी बाहिर नजाओस् भन्ने चाहन्छ ।’

सिंगापुरस्थित पीएलए विशेषज्ञ जेम्स चारका अनुसार सैन्य मामिलाबारे जानकारी पहिले नै चिनले कडाइका साथ नियमन गर्दै आएको थियो ।

यसअघि नै चीनमा सेना र राष्ट्रिय सुरक्षालाई हानी गर्ने सामग्री अवैध घोषित गरिएका थिए । चीनको रक्षा नीतिलाई आलोचना गर्ने वा गलत जानकारी फैलाउने पोस्टलाई अवैध मानिने गरिएको थियो ।

‘यी नियमहरू नयाँ भन्दा पनि पुराना कानूनहरूको संस्थागत रूप मात्र हो,’ चारले भने ।

नयाँ नियमहरूले सैन्य गतिविधि वा सैनिकहरूको आवतजावतबारे जानकारी पोस्ट गर्ने चिनियाँ ब्लगरहरू र सर्वसाधारणलाई रोक्ने उनले बताए ।
‘यसले मानिसहरूलाई सैन्य अभ्यास वा सैनिकहरूको गतिविधिबारे पोस्ट गर्न हतोत्साहित गर्नेछ,’ चारले थपे ।

यसले चीनको सैनिक सञ्चालन गोप्य राख्न मद्दत गर्ने उनी बताउँछन् । विशेष गरी ताइवान स्ट्रेट वरिपरि ठूलो सैन्य अभ्यास अघि यस्ता नियमहरु ल्याइएको उनको भनाइ छ ।

पीएलए विश्लेषक वेन यी नियमहरू खुला स्रोतमा सैन्य जानकारी लोकप्रिय भएकाले ल्याइएको हुन सक्ने बताउँछन् । तर पीएलएको आफ्नै आधिकारिक समाचार स्रोतहरू अझै पनि उपयोगी रहने उनको भनाइ छ।

‘पीएलएका आधिकारिक मिडिया संस्थाहरू संसारकै सबैभन्दा सक्रिय सैन्य मिडियाहरूमध्ये एक हुन्,’ उनले भने ।