७५३ वटै स्थानीय तहमा पुग्यो बैंक, गभर्नरले भने- ऋण लिएर कमाउनुस्, तिर्नुस्


काठमाडौं । संघीय संरचनामा गएपछि सबै स्थानीय तहमा बैंक पुर्याउने अभियानको क्रममा सबैभन्दा अन्तिम गाउँपालिको रुपमा साईपाल गाउँपालिकामा शाखा स्थापना भएको छ । उक्त शाखाको सोमबार गभर्नर महाप्रसाद अधिकारीले उद्घाटन गरेका छन् ।

७५३औं स्थानीय तहमा पुगेको बैंकको शाखा उद्घाटन गर्दै गभर्नर अधिकारीले बैंकबाट ऋण लिएर आफ्‌नो समस्या चलाएपछि ऋण तिर्नुपर्ने बताए ।

‘बैंक आएपछि पैसा सुरक्षित राख्ने मात्रै नभई केही व्यवसाय गर्ने चाहानेहरुको लागि सानो–सानो ऋण बैंकले दिन्छ,’ गभर्नर अधिकारीले भने, ‘कुनै व्यवसाय गर्नका लागि ४/५ लाखको ऋण बैंकले दिन्छ । जडिबुटीको व्यापार, उत्खनन् र व्यवसाय गर्नका लागि बैंकबाट ऋण लिन सकिन्छ ।’

उनले बैंकबाट ऋण लिएर आफ्‌नो काम चलाएपछि बैंकले भनेको समयमा तिर्नुपर्ने बताए । ‘ऋण लिएपछि बैंकले भनेको समयमा तिर्नु पर्छ । ऋणको सदुपयोग गरेर आफुलाई आवश्यक परेको बेलामा काम पनि चल्छ । कमाउन पनि पाइन्छ।’ गभर्नर अधिकारीले भने । 

जिल्लाको करिब ४३ प्रतिशत भुगोल ओगटेको गाउँपालिकमा बैंकको शाखा पुगेसँगै बैंकिङ सेवाको लागि टाढा पुग्नुपर्ने वाध्यता अन्त्य भएको उनले बताए ।

‘भारतमा गएर कमाएको केही बचत रकम राख्नको लागि जिल्ला सदरमुकाम पुग्नुपर्ने बाध्यता थियो । अब त्यो झन्झटबाट मुक्त हुनुभएको छ,’ उनले भने, ‘गाउँमा बैंक आएको छ । बैंकमा आफुले कमाएर बचत भएको रकम सुरक्षित राख्न सकिन्छ ।’

गभर्नर अधिकारीले बैंकसँगै गाउँमा धेरै अवसर पनि आएको बताए । ‘बैंक आएसँगै आर्थिक गतिविधि पनि चलायमान हुने अवसर आएको छ,’ उनले भने, ‘बैंकसँगै अन्य सुविधा पनि आउँछ । बैंकसँगै एउटा इकोसिस्टम गाउँमा आउँछ ।’

बैंक पुगेपछि इन्टरनेट, टेलिकम्युनिकेसन विद्युत जस्ता सुविधाको लागि ताकेताले हुने उनले बताए । बैंकसँगै सरकारी कार्यालय पनि गाउामा पुग्ने उनले बताए ।

‘सरकारी कार्यालयसँगै अन्य कार्यक्रम पनि गाउँमा आउँछ,’ स्थानीयलाई आश्वसन दिँदै उनले भने, ‘आश्वसन दिँदै उनले भने, ‘१ लाखको कार्यक्रम चलाउने उपभोक्ता समिति बनाएर बैंक खाता खोल्न जिल्ला सदरमुकाम पुग्नुपर्ने वाध्यता हटेको छ ।’

शाखा खोल्न पटक-पटक ताकेता गर्नुपर्यो

गभर्नर अधिकारीले एभरेष्ट बैंकलाई उक्त शाखा खोल्न धेरै नै ताकेता गर्नु परेको बताए । शाखा खोल्न सक्ने अवस्था छ कि छैन भने राष्ट्र बैंकले छुट्टै टिम पठाएर अध्ययन समेत गरेको उनको तर्क छ ।

‘ढिलै भएपनि एभरेष्ट बैंकले शाखा खोलेको छ । धेरै धेरै बधाई,’ गभर्नरले भने, ‘बैंकलाई शाखा खोल्न ताकेता धेरै नै गर्नुपर्यो बैंकको शाखा खोल्न सकिने अवस्था छ की छैन भनेर अवलोकन ६ महिना अगाडि राष्ट्र बैंकको टिम नै पठाएको थिए । उहाँहरुले हिँडेर जानुपर्ने भएपनि बैंक जानसक्ने अवस्था भएको रिपोर्ट दिनुभयो ।’

सोही रिपोर्टपछि बैंकलाई शाखा खोल्न थप तोकेता गरेको र बैंकले शाखा खोलेको उनले बताए ।