अमेरिकामा फेरि अर्को विमान दुर्घटना, पार्किङ गरिएको विमानसँग ठोक्कियो


एजेन्सी । अमेरिकामा फेरि अर्को विमान दुर्घटनामा परेको छ । स्थानीय समय अनुसार सोमबार दिउँसो स्कट्सडेल विमानस्थलमा व्यवसायिक जेट विमान दुर्घटनाग्रस्त भएको हो । उक्त दुर्घटनामा कम्तिमा एक जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् ।

यो विमान फीनिक्सको पूर्वमा अवस्थित स्कट्सडेल विमानस्थलमा अवतरण भएको थियो ।

लियरजेट ३५ए विमान टेक्सासको अस्टिनबाट आइरहेको थियो । यो विमान अवतरणका क्रममा रनवेबाट चिप्लिएर पार्क गरिएको गल्फस्ट्रीम जी२०० जेट विमानमा ठोकिएको थियो ।

कुएस्टरले सोमबारको पत्रकार सम्मेलनमा भनिन् ‘अवतरण गर्दा बायाँ मुख्य गियर फेल भएकोले दुर्घटना भएको देखिन्छ ।’

विमान मोट्ले क्रुए ब्यान्डका प्रमुख गायक भिन्स नीलको स्वामित्वमा रहेको छ । उनका प्रतिनिधि वोरिक रोबिन्सनले नील यस विमानमा सवार नभएको जनाएको सीएनएनले उल्लेख गरेको छ ।

उक्त सहरका प्रवक्ता केली कुएस्टरका अनुसार दुर्घटनामा एक व्यक्तिको मृत्यु भएको छ र तीन घाइते भएका छन् । घाइतेलाई अस्पताल लगिएको छ।

स्कट्सडेल फायर डिपार्टमेन्टका क्याप्टन डेभिड फोलियोका अनुसार उद्धार टोलीले मृतकको शव निकाल्ने काम गरिरहेका समाचारमा जनाइएको छ । रोबिन्सनका अनुसार नीलको विमानमा दुई पाइलट र दुई यात्री सवार थिए।

कुएस्टरका अनुसार राष्ट्रिय यातायात सुरक्षा बोर्ड (एनटीएसबी) घटनास्थलमा छ र घटनाको जाँच गरिरहेको छ ।

यो दुर्घटना केही दिनअघि भएका विमान दुर्घटनाहरू पछि भएको हो ।

वासिङ्टन डीसी नजिकै भएको विमान दुर्घटनामा ६७ जनाको मृत्यु भएको थियो भने फिलाडेल्फियामा मेडिभ्याक जेट दुर्घटनामा सात जनाको मृत्यु भएको थियो ।