काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ वाणिज्य बैंकलाई कारवाही गरेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासमा नियामकीय निर्देशन उल्लंघन गर्ने ३ बैंकलाई राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले सचेत गराएको हो ।
कारवाही पर्ने बैंकहरू प्रभु, एनआईसी एशिया र हिमालयन बैंक हुन् । यीमध्ये एनआईसी एशियाका प्रमुख कार्यकारी अधिकृत, सञ्चालक समिति अध्यक्ष तथा सञ्चालकलाई राष्ट्र बैंकले नसिहतसमेत दिएको छ ।
यी हुन् प्रभु बैंकका गल्तीहरू
प्रभु बैंकले वार्षिक साधारणसभा अगाडि रिक्त भएको सञ्चालकमा अर्को वार्षिक साधारणसभा नभएसम्मको लागि सञ्चालक समितिबाट नियुक्त गर्न सकिने भएपनि बैंकले सञ्चालक समितिबाट साधरणसभासम्म नियुक्त गरेको सञ्चालकलाई साधारणसभाबाट अनुमोदन मात्रै गराई निरन्तरता दिएको भन्दै राष्ट्र बैंकले बैंक सञ्चालक समितिलाई सचेत गराएको हो ।
यस्तै बैंकको साधारण सेयरधनीतर्फको सञ्चालकको कार्यकाल सकिएपनि मर्ज तथा एक्विजिसनको व्यवस्थालाई आफू अनुकुल व्याख्या गरी एक्विजसन भएको मितिबाट कार्यकाल गणना गरेको राष्ट्र बैंकले जनाएको छ। उक्त कार्य बैंक तथा वित्तीय संस्थासम्बन्धि ऐनको दफा १५ को उपदफा (१) विपरित भएकोले सच्याउन निर्देशन दिएको छ। राष्ट्र बैंकले उक्त सञ्चालकलाई पदबाट हटाउन बैंक सञ्चालक समितिलाई निर्देशन दिएको हो ।
यस्तै स्थलगत निरीक्षणका क्रममा प्रतिवेदनमा औंल्याइएका कैफियतहरू समयमा सुधार गर्न बैंक अग्रसर नदेखिएको राष्ट्र बैंकले जनाएको छ ।
प्रभु बैंकले कर्जा बक्यौता अवधिको आधारमा कर्जा नोक्सानी व्यवस्था नगरेको राष्ट्र बैंकले जनाएको छ। पुँजी पर्याप्तता अनुपात गणना गर्दा क्यापिटल एडुक्वेसी फ्रेमवरणक २०१५ अनुसार प्राथमिक पुँजीबाट घटाउनुपर्ने रकम नघटाएको पाइएको राष्ट्र बैंकले जनाएको छ। केही कर्जामा उक्त फ्रेमवर्कअनुसार जोखिम भार प्रदान नगरि वास्तविक जोखिम भार गणना नगरेकोले नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा १०० को उपदफा ९२० अनुसार बैंकको प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको हो ।
एनआइसीले सञ्चालकका आफन्तलाई दियो बचतमा प्रकाशित भन्दा बढी ब्याज
एनआईसी एशिया बैंकले सञ्चालकका परिवारका सदस्यलाई प्रकाशित भन्दा बढी ब्याजदर दिएकोले प्रमुख कार्यकारी अधिकृत र सञ्चालन समितिका सदस्यलाई आगामी दिनमा यस्तो कार्य नगर्न नसियत दिईको राष्ट्र बैंकले जनाएको छ ।
‘एनआईसी एशिया बैंकका संचालक, निजहरुका परिवारका सदस्य एवम् सम्बद्घ संस्थाहरुलाई प्रकाशित ब्याजदरभन्दा बढी ब्याज प्रदान गरेको, बैंकका संचालक, निजहरुका परिवारका सदस्य एवम् सम्बद्ध संस्थाहरुको मुद्दती निक्षेप खाता खोल्दा कतिपय खातामा पुरानो मिति कायम गरी खोलेकोमा यस बैंकको निर्देशन बमोजिम बढी प्रदान भएको ब्याज रकम फिर्ता गराईएको छ,’ राष्ट्र बैंकले भनेको छ, ‘आगामी दिनमा यस प्रकारका कार्य नगर्ने गरी एनआईसी एशिया बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने, अध्यक्ष तुलसीराम अग्रवाल, संचालक त्रिलोकचन्द्र अग्रवाल र रामचन्द्र संघाईलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २(क) बमोजिम नसिहत दिइएको छ।’
यस्तै बैंकको स्थलगत निरीक्षणको क्रममा बैंकले कर्जा वर्गिकरण तथा कर्जा नोक्सानीसम्बन्धी निर्देशन, पुँजीकोष तथा ब्याजदरसम्बन्धी जोखिमभारसम्बन्धी निर्देशन र संस्थागत सुशासनसम्बन्धी निर्देशनको पालना नभएको पाईएको जनाएको छ। सोही कारण नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा १(ग) अनुसार एनआईसी एशिया बैंकलाई लिखित आदेश जारी दिएको छ ।
बैंकलाई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थाहरुलाई जारी एकीकृत निर्देशनको प्रतिकूल हुने गरी कुनै कार्यरनिर्णय नगर्न तथा नगराउन निर्देशन दिएको हो । साथै राष्ट्र बैंकको निर्देशन पूर्ण रुपमा परिपालना गर्न र सुधारको कार्ययोजना बनाई लागु गर्न निरदेशन दिएको राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै ब्याजदर सम्बन्धी राष्ट्र बैंकको निर्देशन उल्लंघन नगर्न र राष्ट्र बैंकले जारी गरेकने क्यापिटल एडुकेसी फ्रेमवर्क अनुसार जोखिमभार र पुँजीकोष कायम भएको यकीन गरी सोको प्रतिवेदन नियमित रुपमा उपलब्ध गराउन तथा पुँजीकोषको सुधारको कार्ययोजना बनाई लागु गर्न निर्देशन दिएको हो । बैंकलाई कर्जा वर्गिकरण तथा कर्जा नोक्सानीसम्बन्धी व्यवस्था राष्ट्र बैंकको निर्देशनअनुसार हुने गरी गर्न र नेपाल राष्ट्र बैंकले जारी गरेका संस्थागत सुशासनसम्बन्धी निर्देशनहरुको पूर्ण रुपमा पालना गर्ने कार्ययोजना बनाई लागु गर्न निर्देशन दिएको छ।
हिमालयनले पालना गरेन कर्जा नोक्सानी सम्बन्धी व्यवस्थाहरुको पालना
हिमालयन बैंकलाई पनि सचेत गराएको छ । एकीकृत निर्देशनको व्यवस्था अनुसार कर्जा सापटको वर्गीकरण भाखा नाघेको अवधिका आधारमा नगरी कर्जा नोक्सानी सम्बन्धी व्यवस्थाहरुको पालना नगरेकोले हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २(क) बमोजिम सचेत गराईएको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया