सेयरधनीलाई लाभांश नदिने लिवर्टी इनर्जीका अध्यक्ष घिमिरेले बुझे ४६ लाख भत्ता !



काठमाडौं । सेयरधनीको हात खाली बनाएको लिवर्टी ईनर्जी कम्पनीले गत आर्थिक वर्षमा करिब पौने १ करोड रुपैैयाँ सञ्चालकलाई भत्ता र बैठक खर्च बापत भुक्तानी गरेको छ ।

गत आर्थिक वर्षमा कम्पनीले सञ्चालक समितिको बैठकमा खर्च ३ लाख ९२ हजार रुपैयाँ खर्च गरेको छ । कम्पनीका अनुसार गत आवमा पारिश्रमिक, बैठक भत्ता, मासिक भत्ता तथा सुविधा बापत सञ्चालकलाई ६१ लाख ३४ हजार रुपैयाँ भुक्तानी भएको हो । कम्पनीले सञ्चालक समितिको बैठक भत्तावापत प्रतिबैठक भत्ता अध्यक्षलाई ७ हजार ५ सय रुपैयाँ र सञ्चालकका लागि ५ हजार रुपैयाँ भत्ता दिएको जनाएको छ ।

कम्पनीले गत आवमा सञ्चालक समितिका अध्यक्ष डा. आत्माराम घिमिरेलाई पारिश्रमिक, बैठक भत्ता, मासिक भत्ता तथा सुविधा बापत ४६ लाख ५ हजार रुपैयाँ भुक्तानी गरेको छ ।

यस्तै सञ्चालक समितिका सदस्य श्यामबहादुर खड्कालाई ४ लाख ७२ हजार, सञ्चालक राजेन्द्र वस्तीलाई २ लाख ४ हजार, पुरुषोत्तम घिमिरेलाई २ लाख १४ हजार रुपैयाँ भुक्तानी गरेको जनाएको छ ।

यस्तै सञ्चालक कविता पोख्रेललाई २ लाख ११ हजार, सञ्चालक लोचन कोइरालालाई २ लाख २४ हजार र स्वतन्त्र सञ्चालक अनुज्ञा सापकोटालाई २ लाख ४ हजार रुपैयाँ कम्पनीले भुक्तानी गरेको जनाएको छ ।

कम्पनीमा अध्यक्ष घिमिरेको ८ लाख, सञ्चालक खड्काको १ लाख २५ हजार, वस्तीको २ लाख २५ हजार, घिमिरेको २० हजार, पोख्रेलको २ हजार र कोइरालाको ५ हजार कित्ता सेयर स्वामित्व रहेको छ ।

लिबर्टी इनर्जी कम्पनीले पुस २५ गते बिहीबार १५ औं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले सभाका लागि गरेको प्रस्तावको सूचीमा लाभांश दिने प्रस्ताव छैन । सभा साढे १० बजे अनमोल ब्याक्वेट शंखमुलमा बस्दैछ ।


क्लिकमान्डु