कर्णाली याक्सका लगानीकर्ताको कम्पनीले गर्छ वार्षिक पौने २ अर्बको बिजनेस, प्रोफिट मार्जिन पनि राम्रो



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्लब कर्णाली याक्सको स्वामित्वकर्ता हिमालयन बिल्डर्स एन्ड इन्जिनियर्सले १ वर्षमा पौने २ अर्बको व्यापार गरेको छ । झनकदत्त खनालको एकल स्वामित्वमा रहेको यो निर्माण कम्पनीले गत आवको भन्दा सामान्य बढीको व्यापार गरेको हो ।

आर्थिक वर्ष २०२३ मा १ अर्ब ७५ करोड आम्दानी गरेको हिमालयन बिल्डर्सले आव २०२४ मा १ अर्ब ७६ अर्बको बिजनेस गरेको हो । कम्पनीको आम्दानी पछिल्लो ५ वर्षमा सामान्य दरले बढेको हो । आव २०२० मा कम्पनीले १ अर्ब ५० करोड, २०२१ मा १ अर्ब ५३ करोड र २०२२ मा १ अर्ब ६२ करोड आम्दानी गरेको थियो ।

सन् १९८५ मा स्थापित यस कम्पनीले निजी क्षेत्रका परियोजना निर्माण गर्दछ । कम्पनीका सेवाग्राही मुख्यतः बैंक, विदेशी नियोग, अस्पताल, होटल र शैक्षिक संस्था रहेका छन् । हिमालयन बिल्डर्स क वर्गको निर्माण कम्पनी हो जुन सिभिल तथा संरचनागत निर्माण कार्यमा संलग्न छ ।

हिमालयन बिल्डर्सले कमर्सियल तथा आवासिय अग्ला बिल्डिङ निर्माण, डिजाइन एन्ड बिल्ड मोडलमा कन्ट्र्याक्ट, इमर्जेन्सी र योजनावद्ध मर्मत जस्ता निर्माणसँग सम्बन्धित सबै काम गर्दछ ।

हिमालयन बिल्डर्सले हालैमात्र १ करोड ३० लाख रुपैयाँमा कर्णाली याक्स खरिद गरेको हो ।

यो कम्पनीको आम्दानी करिबकरिब स्थिर रहे तापनि नाफाको मार्जिन भने निकै कम छ । ब्याज, कर र डिप्रिसियनअघि यस्तो नाफा कुल आम्दानीको ७.५ प्रतिशत मात्र रहेको छ ।

कम्पनीले हालसम्म कुनै ऋण लिएको भने छैन । तसर्थ नाफाको ७.५ प्रतिशत मार्जिनलाई उल्लेख्य मान्न सकिन्छ । यो नाफा मार्जिन पछिल्लो ५ वर्षकै उच्च हो ।

तर, हालैमात्र कम्पनीले १ अर्ब ६१ करोड रुपैयाँ ऋणका लागि रेटिङ गराएको छ । जसमध्ये ५ करोड दीर्घकालका लागि र १ अर्ब ५६ करोड रुपैयाँ अल्पकालका लागि ऋण लिन लागेको हो । अल्पकालीन ऋणका लागि हिमालयनले ए थ्री रेटिङ पाएको छ भने दीर्घकालीनका लागि एल ट्रिपल बी माइनस रेटिङ पाएको छ ।

यता कम्पनीले हालैमात्र लगानी गरेको क्लब कर्णाली याक्सले एनपीएलमा मध्यमस्तरको प्रदशर्नी गरिरहेको छ । प्लेलअफमा पुग्नका लागि कर्णाली आज सुरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्दैछ । यो खेल जिते वा सामान्य अन्तरले मात्र पराजित भए कर्णाली शीर्ष ४ मा रहनेछ ।


क्लिकमान्डु