दुर्गा प्रसाईंमाथि हुनेछ यी ४ कसुरमा अनुसन्धान, हिरासतमै रहने



काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौं जिल्ला अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको छ । बिहीबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले प्रसाईंलाई ४० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

साइबर अपराध कसुरमा उनीमाथि जिल्ला सरकारी वकिलको कार्यालयले ७ वर्ष कैद माग गर्दै मुद्दा अघि बढाएको छ ।

प्रसाईंमाथि प्रहरीले आपराधिक विश्वासघात, संगठित अपराध, सम्पत्ति शुद्धीकरण, बैंकिङ कसुरमा पनि अनुसन्धान जारी रहेकाले उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नियन्त्रणमा लिएको छ ।

संगठित अपराध सम्बन्धी कसुरमा अनुसन्धानका लागि ६० दिनको हद म्याद हुन्छ भने सम्पत्ति शुद्धीकरणमा ९० दिनको हदम्याद रहन्छ ।

कम्बोडियामा प्रधानमन्त्री ओलीको लगानी रहेको भन्दै प्रसाईंले सामाजिक सञ्जालमा कागजपत्र र भिडियो राखेका थिए । प्रसाईं गत मंसिर ४ गते भक्तपुरस्थित निवासबाट पक्राउ परेका थिए । त्यसबीचमा आपराधिक विश्वासघातको विषय बाहिरिएको हो ।

भारतीय गुण्डा नाइके लरेन्स विश्नोईको नाममा व्यवसायीहरूलाई धम्की दिन लगाएको आरोप प्रसाईंमाथि प्रसाईंमाथि अनुसन्धान गरिरहेको छ । यस प्रकरणमा सीआईबीले झापाका हरिचन्द्र फुयाललाई पनि पक्राउ गरेको थियो ।

व्यवसायीहरुलाई भारतीय नम्बरबाट फोन तथा म्यासेजमार्फत् धम्की दिएको आरोपमा झापाको मेचीनगर नगरपालिका–१३ चारआली बस्दैआएका पाँचथरको मौवाका स्थायी बासिन्दा ३६ वर्षीय नवीन प्रधान भनिने हरिचन्द्र फुयाललाई मंसिर १३ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले झापाको चारआलीबाट पक्राउ गरेको थियो ।

फुयालले प्रसाईंको निर्देशनमा आफू भारतीय आपराधिक समूह लरेन्स बिश्नोइको सदस्य हुँ भन्दै धम्की दिइ आपराधिक लाभ लिन खोजेको आरोपमा उनीमाथि अनुसन्धान भइरहेको थियो ।

फुयालले मेडिकल व्यवसायी प्रसाईंसँग तुरुन्त माफी माग्नु अन्यथा ज्यान समेत लिने धम्की दिई व्यवसायीहरुलाई आतंकित पार्दै आपराधिक लाभ लिन खोजेको ब्यूरोले जनाएको छ ।

अनुसन्धानका क्रममा फुयालले धम्की दिन प्रसाईंबाट पाँच लाख रुपैयाँ पाएको स्वीकार गरेको सीआईबी स्रोतको भनाइ छ । उक्त रकम फुयालले अर्को व्यक्तिमार्फत बुझेको दाबी सीआईबीको छ

अनुसन्धानका क्रममा प्रसाईं र फुयालबीच १०० भन्दा बढी पटक फोन सम्पर्क भएको पाइएको छ । यस प्रकरणमा धम्की दिन संलग्न ६ व्यक्ति अझै फरार रहेको र केहीको पहिचान भइसकेको सीआईबीले जनाएको छ । सीआईबीले यो घटनालाई संगठित अपराधको रूपमा हेर्ने तयारी गरेको छ ।

पक्राउ परेका फुयाल यसअघि चेक बाउन्सका मुद्दामा समेत संलग्न रहेको पाइएको छ । उनी मोरङ र सुनसरीमा विभिन्न कानुनी मुद्दामा मुछिएका थिए । सीआईबीले प्रसाई र फुयालविरुद्ध संगठित अपराधमा मुद्दा चलाउने तयारी गरेको छ ।


क्लिकमान्डु