चिया कपमा भेदभाव: ऊर्जा राज्यमन्त्रीले ५ सयवटा कप किनिदिन्छु भन्दै गोजीमा हात हालेपछि…



काठमाडौं । बुधबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्री दीपक खड्काको १०० दिनको कार्यप्रगति सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरेको थियो ।

मन्त्री खड्का सोही बेला एउटा मिटिङमा व्यस्त भएकोले केही समय ढिलो भएको ऊर्जा मन्त्रालयका सहसचिवशम्भु मरासानीले जानकारी गराए । ‘केही बेर पर्खदै गरौं आउनुहुन्छ त्यसपछि पत्रकार सम्मेलन सुरु गरुला,’ उनले भने ।

सो कार्यक्रम उद्घोषणको जिम्मा पाएका प्रशासन प्रमुख मरासानीले जानकारी गरेको केही बेरमा (करिब साढे ११ मा) ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ पत्रकार सम्मेलनमा आइपुगे ।

मन्त्रीले पत्रकारलाई शिष्टाचार अभिवादन गरेर आफ्नो सिटमा बसे । करिब पाँच मिनेट मोबाइल चलाएर बसेपछि सिँचाइ सचिव सरिता दवाडी आइपुगिन् । दवाडी आएपछि ऊर्जा मन्त्रालयको क्यान्टिनबाट राज्यमन्त्री तामाङ र सिँचाइ सचिव दवाडीलाई सिसाको कप प्लेट सेटमा एकएक कप दुध चिया आइपुग्यो ।

पत्रका सम्मेलनमा मन्त्री खडकोलाई पर्खिरहेका पत्रकार तथा ऊर्जा मन्त्रालय मातहतका विभागीय कर्मचारीलाई भने कागजको कपमा दुध चिया ल्याइएको थियो ।

‘सबैलाई कपमै चिया खुवाउन सकिन्न ?,’ मन्त्री तामाङलाई चिया दिनासाथ उनले कप आफूतिर नतान्तै भने, ‘मन्त्री र सविचलाई मात्रै कपमा अरु (पत्रकार र विभागिय कर्मचारी)लाई चाहीँ कागजको कपमा चिया किन ?’

चिया बाँड्ने क्यान्टिनका कर्मचारी एकछिन अक्क न बक्क परे । दुईवटा सिसाको कपमा र बाँकी २० वटा जति कागजको कपमा चिया बोकेर आएका उनला चिया बाँड्न हलको अघिल्लो सिटतिर बसिरहेका सहभागिले संकेत गरे । उनी चिया बाँडेर गए र बाँकी सहभागिलाई थप चिया ल्याएनन् ।

हलमा सहभागिमा भने मन्त्री तामाङको भनाइले ध्यानाकर्षण गरिरहेको थियो । मन्त्रीले चिया आइपुग्ने बित्तिकै भनेका थिए, ‘१०० वटा कप त मै किनिदिन्छु । के गरेको यो ? मालिक र गोठालाको जस्तो व्यवहार ?’

मन्त्री तामाङले चियाको कपमा प्रतिकृया जनाउँदै गर्दा सिँचाइ सचिव दवाडीतर्फ हेरेर बोले । उनले मन्त्रीको भनाइलाई समर्थन मात्र जनाइन, प्रतिक्रिया दिइनन् । लजाउँदै ‘हो’ भन्दै थिइन् ।

ढोकातर्फ रहेका प्रशासन विभागका प्रमुख मरासिनीलाई आफूतर्फ हातले बोलाएर कोटको गोजीतर्फ हात लम्काउँदै राज्यमन्त्री तामाङले भने, ‘५०० वटा कप मै किनिदिन्छु । के गरेको यो सिसा र कागजको कपमा चिया दिएर ? यति मिटिङ हलमा आउनेलाई पनि कपमा चियाँ खुवाउन सकिन्न ?’ मन्त्रीको भनाइ नसकिँदै ती कर्मचारीले हुन्छ किन्छौं भनेर टाउको हल्लाए । त्यतिबेला ११ बजरे ४० मिनेटको आसपास थियो । मन्त्री खड्का आइपुगे राज्यमन्त्रीसँग कुरा गरिरहेका मरासिनी कार्यक्रम उद्घोष गर्नतर्फ लागे ।

कार्यक्रमलाई मन्त्रीले सम्बोधन गरेपछि १०० दिनको उपलब्धी वाचन गरेर प्रस्तुत गर्न मन्त्री खड्काले सचिव दवाडीलाई आग्रह गरे । दवाडीको अगाडि माइक थिएन् । उनी उठेर पोर्डियमको माइकतर्फ जान लाग्दै गर्दा क्यामेरा चलाइरहेका पत्रकारले भने, ‘बसेको ठाउँबाट बोलिदिनुस्, त्यहाँ सबैका क्यामेराको माइक छ ।’

सचिव दबाडीले बोल्न खोज्दा माइक भएन । उनलाई मन्त्री खड्काले आफूतिर रहेको माइक सार्न खोज्दा जेलियो । तारमा अड्कियो भने एउटा टेलिभिजनको बुम टेबलबाट झर्यो । त्यसपछि राज्यमन्त्री तामाङले भने ‘यत्रो हलमा माइक/तार पनि व्यवस्थित छैन । तार मिलाउन पनि म आफैं बस्नुपर्ने भयो ।’ हाँसोले हल गुन्जियो, सचिवले माइक पाएर बोल्न थालिन् ।


क्लिकमान्डु