लेबननमा इजरायलको पेजर र वाकीटकी आक्रमण, नयाँ किसिमको युद्धको संकेत



गत साता इजरायलले छिमेकी मुलुक लेबननका विभिन्न भागमा हिज्बुल्लाह लडाकूहरूलाई लक्षित गर्दै पेजर र वाकीटकीहरू विस्फोट गराएर बालबालिका सहित कम्तीमा ३७ जनाको हत्या र २८ सयभन्दा बढी मानिसलाई घाइते गरेपछि पश्चिम एसियामा क्षेत्रीय युद्धको सम्भावना चर्किएको छ ।

उक्त घटनापछि हिज्बुल्लाह प्रमुख हसन नसरल्लाहले एक बयान जारी गर्दै इजरायलले सबै लक्ष्मणरेखा नाघेको र गाजामा भइरहेको युद्ध अन्त्य नहुन्जेल इजरायलविरुद्ध आक्रमण गरिरहने बताएका छन् । त्यसलगत्तै इजरायलले लेबननको दक्षिणी भागमा क्षेप्यास्त्र आक्रमणहरू गर्न थालेको छ । प्रतिकारस्वरूप, हिज्बुल्लाहले पनि इजरायलको उत्तरी भागमा क्षेप्यास्त्र आक्रमण गरेको छ ।

ताइवानमा बनेका भनिएका पेजर र जापानमा बनेका भनिएका वाकीटकीहरूमा विस्फोटक पदार्थ राखेर इजरायलले गरेको सांघातिक आक्रमण हलिउडको एक्शन थ्रिलर जस्तै लाग्छ । दैनिक रूपमा प्रयोग हुने विद्युतीय उपकरणमा यसरी विस्फोटक पदार्थ राखेर व्यक्तिहत्या गर्न थालिएपछि तिनलाई खरिद गर्न मानिसहरू हच्किने पक्का छ ।

यस्तो स्थितिमा विद्युतीय सामग्रीको विश्वव्यापी आपूर्ति शृंखलामा असर पर्नेछ । हुन पनि यस प्रकरणपछि पश्चिम एसियालीहरूमा चिनियाँ विद्युतीय उपकरणहरूप्रतिको चासो बढेको र चिनियाँ कारखानाहरूले धमाधम उत्पादन गर्न थालेको पनि बताइएको छ ।

विभिन्न सञ्चारमाध्यममा आएका समाचारमा उल्लेख भएअनुसार, इजरायलको गुप्तचर निकाय मोसादले हिज्बुल्लाहको आपूर्ति शृंखलामा प्रवेश गरी ती विद्युतीय उपकरणमा विस्फोटक पदार्थ राखिदिएका थिए ।

विस्फोट भएका पेजरहरूमा ताइवानको विद्युतीय सामग्री उत्पादन कम्पनी गोल्ड अपोलोको ब्रान्ड अंकित थियो । त्यो थाहा भएपछि ताइवानका सरकारी अधिकारीहरूले गोल्ड अपोलोका अध्यक्ष तथा संस्थापक ह्सु चिङ–क्वाङलाई सोधपुछ गरेका थिए । ह्सुले विस्फोट भएका पेजरहरू आफ्नो कम्पनीले उत्पादन नगरेको बताए । आफूहरूले हंगेरीमा रहेको बीएसी कन्सल्टिङ केएफटी नामक कम्पनीलाई ब्रान्डको नाम उपयोग गर्ने अनुमति दिएको र उसैले पेजरहरू बनाउने गरेको बताए ।

हंगेरीको उक्त कम्पनीले पनि पेजर बनाउने गरेको कुरालाई अस्वीकार गरेको छ । उसको भनाइलाई समर्थन गर्दै हंगेरी सरकारका प्रवक्ताले पनि विस्फोट भएका पेजरहरू हंगेरीमा उत्पादन नभएको र बीएसीले दलालको रूपमा मात्र काम गरेको बताए ।

त्यसो भए विस्फोट भएका पेजर कहाँ बनेका हुन् त ? द न्युयोर्क टाइम्सको समाचारमा उल्लेख भएअनुसार, बीएसी वास्तवमा इजरायलद्वारा सञ्चालित कम्पनी हो । इजरायलले यो र यस्तै किसिमका अन्य दुईवटा फर्जी कम्पनीहरू खडा गरेको छ । खासमा इजरायलका गुप्तचरहरू आफैंले विस्फोटक पदार्थ जडित पेजर बनाएको र ताइवानी कम्पनीको ब्रान्ड राखिदिएको अमेरिकी गुप्तचर अधिकारीहरूलाई उद्धृत गर्दै न्युयोर्क टाइम्सले लेखेको छ ।

बीएसीले अन्य ग्राहकहरूलाई सामान्य पेजर आपूर्ति गर्ने गरेको तर हिज्बुल्लाह लडाकूहरूलाई विस्फोटक पदार्थ राखिएको पेजर पठाएको बताइएको छ । ती पेजरहरूमा पीईटीएन नामक विस्फोटक पदार्थ जडान गरिएको थियो । एबीसी न्युजले एक अमेरिकी गुप्तचर अधिकारीको स्रोतको हवाला दिँदै लेखेको समाचार अनुसार, इजरायलीहरूले विगत १५ वर्षदेखि यसरी आपूर्ति शृंखलामा पसेर आफ्ना गतिविधिहरू गर्दै आएका छन् ।

हिज्बुल्लाहले आफ्नो पार्टीसँग निकट रहेका एक व्यापारीमार्फत पेजर मगाएको र त्यसको राम्रो दाम दिएको बताइएको छ । पेजरलाई राम्ररी परीक्षण नगरिकनै ती व्यापारीलाई आँखा चिम्लेर पत्याउनु हिज्बुल्लाहको भूल थियो ।

यसैबीच बुल्गेरियाको नोर्टा ग्लोबल लिमिटेडको नाम पनि यस प्रकरणमा जोडिएको छ । त्यस कम्पनीले पनि विस्फोट भएका पेजरहरू उत्पादन गर्ने गरेको बताइएको छ । बुल्गेरियाको सुरक्षा निकायले त्यहाँको गृह मन्त्रालयसँग मिलेर उक्त कम्पनीको भूमिकाका विषयमा अनुसन्धान गरिरहेको जनाएको छ । पछि बुल्गेरियाको सुरक्षा निकायले आफ्नो देशमा दर्ता भएको कम्पनी यस प्रकरणमा संलग्न नरहेको कुरा अनुसन्धानबाट खुलेको भनी जानकारी दिएको थियो ।

इजरायली गुप्तचरहरूले नक्कली वाकीटकी उत्पादनहरूमा विस्फोटक पदार्थ जडान गरेका हुन सक्छन् । अनि हिज्बुल्लाह लडाकूहरूहरूले त्यसरी फेजआउट भइसकेको उत्पादनका बारेमा राम्ररी सोधखोज नगरिकनै  उपयोग गरी हताहती तथा बेइज्जती खेप्नुपरेको छ

त्यसैगरी लेबननमा विस्फोट भएका वाकीटकीहरूको विषयमा पनि रोचक जानकारीहरू पाइन्छन् । ती वाकीटकी जापानको ओसाकामा रहेको दूरसञ्चार सामग्री बनाउने कम्पनी आईकोमको उत्पादन भएको खबर सार्वजनिक भएको छ । कम्पनीले यस्ता किसिमका वाकीटकीहरू आफूहरूले एक दशकअघिदेखि नै बनाउन छोडेको जनाएको छ । तर आफ्नो ब्रान्डको नाम कसरी जोडिन पुग्यो भनी अनुसन्धान गर्ने जानकारी कम्पनीले दिएको छ ।

वाकीटकी विस्फोट भएको दोस्रो दिनमा त्यसको मोडलको तस्वीर सार्वजनिक भएको थियो । त्यो आईसी–भी८२ ट्रान्सीभर मोडल आफूहरूले सन् २००४ देखि २०१४ सम्म विदेशमा निर्यात गर्ने गरेको र १० वर्षयता त्यसलाई उत्पादन गर्न छोडेको आईकोम कम्पनीको भनाइ छ । त्यसपछि बनेका आईसी–भी८२ ट्रान्सीभरहरू सबै नक्कली उत्पादन हुन् भन्दै उसले नक्कली उत्पादन गर्नेहरूका विरुद्ध कानूनी लडाइँ लडिरहेको जनाएको छ । यसैबीच जापानका सरकारका मुख्यसचिव योशिमासा हायाशीले यस विषयमा आफूहरूले अनुसन्धान गरिरहेको बताएका छन् ।

आईकोमको भनाइमा विश्वास गर्ने हो भने इजरायली गुप्तचरहरूले नक्कली वाकीटकी उत्पादनहरूमा विस्फोटक पदार्थ जडान गरेका हुन सक्छन् । अनि हिज्बुल्लाह लडाकूहरूहरूले त्यसरी फेजआउट भइसकेको उत्पादनका बारेमा राम्ररी सोधखोज नगरिकनै  उपयोग गरी हताहती तथा बेइज्जती खेप्नुपरेको छ ।

यस प्रकरणले इजरायली गुप्तचर निकाय मोसादको क्षमतालाई थप पुष्टि गरेको छ । मोसाद शायद संसारकै सबभन्दा सक्षम र घातक गुप्तचर निकाय हो । मोसादले लामो समयदेखि आफ्ना शत्रुहरूका विरुद्ध सफल कारवाही गर्दै आएको छ । मोसादका गुप्तचरहरू जुन देशमा पनि गएर आफ्नो लक्ष्य हासिल गरिरहेका हुन्छन् । सन् २००४ मा उनीहरू उत्तर कोरिया जस्तो अभेद्य ठानिएको मुलुकमा गएर सिरियाली प्रतिनिधिहरूलाई बमले उडाइदिन सफल भएका थिए । सिरियाली प्रतिनिधिमण्डल उत्तर कोरियाको आणविक प्रविधिका बारेमा बुझ्न गएको थियो ।

इजरायलको कट्टर शत्रु इरानमा पसेर मोसादले इरानी आणविक वैज्ञानिकहरूको हत्या र आणविक संरचनाको विनाश पनि गरिसकेका छन् । हुँदाहुँदा हालसालै इरानको राष्ट्रपतिको शपथग्रहण समारोहमा पुगेका हमासका राजनीतिक प्रमुख इस्माइल हानियेलाई समेत मोसादले हत्या गरेको थियो ।

त्यसबाहेक मोसादले इन्क्रिप्ट गरिएका (डिजिटल रूपमा सुरक्षित ठानिएका) सञ्चार उपकरणहरूमा समेत गोप्य रूपमा प्रवेश गरेर आफ्ना गुप्तचर यापहरू राखिदिने गरेको छ । केही वर्षअघि संसारका सबै देशमा हंगामा मच्चाएको पेगासस सफ्टवेयर त्यसैको उदाहरण हो । त्यसैले अहिले हिज्बुल्लाहका कमान्डरहरूलाई ध्वस्त पार्ने उद्देश्यका साथ पेजर र वाकीटकीहरूमा विस्फोटक पदार्थ जडान गर्ने आँट मोसादले मात्र गर्न सक्छ ।

पश्चिम र उसका साझेदारहरूले उत्पादन गर्ने विद्युतीय उपकरण तथा सामाजिक सञ्जाल यापहरूमा त्यहाँका गुप्तचर निकायले ब्याकडोर एक्सेसमार्फत पहुँच बनाउने गरेको तथ्यलाई यस प्रकरणले थप चर्चामा ल्याएको छ । टिकटकमा त्यस्तो ब्याकडोर एक्सेस नपाएकाले अमेरिकाले त्यो याप अमेरिकी कम्पनीलाई बेच्न, नत्र प्रतिबन्धको सामना गर्न चेतावनी दिएको हो । त्यस्तै टेलिग्राममा पनि ब्याकडोर एक्सेस नपाएकाले त्यसका लागि बाध्य बनाउने उद्देश्यका साथ पश्चिमले टेलिग्राम यापका संस्थापक पाभेल दुरोभलाई फ्रान्समा पक्राउ गरी देशबाहिर जान नदिएको हो ।

जे होस्, पेजर/वाकीटकी विस्फोट प्रकरणपछि पश्चिम एसियामा के हुने हो भनी धेरैले चासो दिइरहेका छन् । यसको भूराजनीतिक परिणाम भयावह हुने देखिन्छ ।

नेतान्याहुको उग्रवादी कदमलाई मन नपराए पनि अमेरिका नेतृत्वको पश्चिम उनलाई रोक्न असमर्थ देखिएको छ । अनि इरान जस्ता मुलुकहरू अहिलेसम्म संयमित रहिरहँदा पनि नेतान्याहुको साहस निरन्तर बढिरहेको छ ।

पश्चिम एसियामा विशाल क्षेत्रीय युद्ध हुन्छ त ? हुन त यसअघि इजरायलले गरेका विभिन्न आक्रमणपछि पनि युद्धको सम्भावना बढेको भनी आशंका व्यक्त गर्दै आइएको छ । तर हिज्बुल्लाह र उसलाई समर्थन गर्ने इरानले इजरायलमाथि निर्णायक आक्रमण गरेका छैनन् ।

इजरायललाई अन्धसमर्थन गर्ने अमेरिका पनि खासमा क्षेत्रीय युद्ध चाहँदैन किनकि ऊ पश्चिम एसियामा नभई हिन्द–प्रशान्त क्षेत्रमा चीनलाई रोक्नका लागि ध्यान केन्द्रित गर्न चाहन्छ । त्यसैले बाइडन प्रशासन इजरायलका कट्टरपन्थी प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई युद्ध चर्काउनबाट रोक्नका लागि कोशिश गरिरहेको छ ।

तर नेतान्याहु आफ्नो देशसँगको भएको अद्वितीय शक्तिको दुरुपयोग गर्दै शत्रुहरूलाई भड्काएर जसरी भए पनि बृहत्तर क्षेत्रीय युद्ध चर्काउने पक्षमा छन् । त्यस्तो युद्ध भएमा आफू लामो समयसम्म सत्तामा रहने उनको दाउ हो ।

नेतान्याहुको उग्रवादी कदमलाई मन नपराए पनि अमेरिका नेतृत्वको पश्चिम उनलाई रोक्न असमर्थ देखिएको छ । अनि इरान जस्ता मुलुकहरू अहिलेसम्म संयमित रहिरहँदा पनि नेतान्याहुको साहस निरन्तर बढिरहेको छ ।

तर यस्तो अस्थिर अवस्था कहिलेसम्म कायम हुने हो ? तनाव घटाउनका लागि कस्ता कदम चालिनेछन् ? यसको उत्तर सहज छैन । यस प्रकरणपछि इजरायल र हिज्बुल्लाहबीच युद्ध हुनेछ भनेर पूर्वानुमान गर्न पनि गाह्रो छ किनकि विगतमा त्यस्ता अनुमानहरू मिलेका थिएनन् ।

अहिले इजरायल र हिज्बुल्लाहले एकअर्का विरुद्ध क्षेप्यास्त्र आक्रमण गरिरहेको भए पनि यिनीहरू लामै समयसम्म युद्ध गर्लान् भन्न सकिन्न । हिज्बुल्लाहसँग अत्याधुनिक हातहतियार रहेको र लडाकूहरूको संख्या पनि विशाल रहेको भने पनि अहिलेसम्म हिज्बुल्लाहले धम्की मात्र दिइरहेको छ, निर्णायक आक्रमण गर्न सकेको छैन ।

हातहतियार र गुप्तचरीको मामिलामा अहिले हिज्बुल्लाह भन्दा इजरायल नै शक्तिशाली देखिन्छ । त्यही क्षमताका कारण इजरायलले हिज्बुल्लाहबाट हुन सक्ने आक्रमणको पूर्वानुमान गर्दै निरोधक आक्रमण (प्रिइम्पटेभ अट्याक) गरेर हिज्बुल्लाह कमान्डरहरूको सातो लिएको छ । अनि आणविक हतियार भएको इजरायलमाथि आक्रमण गर्न त्यति सहज पनि छैन ।

नेतान्याहुले इरान र उसका साझेदारहरूलाई युद्धमा होमिनका लागि बाध्य बनाउन पेजर/वाकीटकी विस्फोट गराएका हुन्

तर इजरायलले गरेको यो पछिल्लो विद्युतीय आक्रमण युद्धको नियमविपरीत छ । भन्न त इजरायलले हिज्बुल्लाह आतंकवादीहरूका विरुद्ध आक्रमण गरिएको भनेको छ तर यस आक्रमणमा बालबालिका सहितका निर्दोष सर्वसाधारणको पनि ज्यान गएको छ । यसरी गैरसैन्य सर्वसाधारणमाथिको आक्रमण युद्धअपराध हो र इजरायललाई यसको सजाय नदिँदा उसले भविष्यमा पनि यसलाई दोहोर्‍याउनेछ । हुन त गाजामा प्यालेस्टाइनी बालबालिका, बिरामी, वृद्ध कसैलाई पनि दयामाया नराखिकन अमानवीय हत्या गर्ने इजरायललाई अहिलेसम्म कुनै सजाय नभएको स्थितिमा पछिल्लो प्रकरणमा दण्डहीनता कायम रहने देखिन्छ ।

नेतान्याहुले इरान र उसका साझेदारहरूलाई युद्धमा होमिनका लागि बाध्य बनाउन पेजर/वाकीटकी विस्फोट गराएका हुन् । के इजरायलका शत्रुहरू नेतान्याहुले थापेको पासोमा पर्छन् ? कि हिज्बुल्लाह प्रमुख नसरल्लाहले भनेझैं सारा लक्ष्मणरेखा पार भएको हो र अब आरपारको लडाइँ हुनेछ ? यसबारेमा कुनै ठोकुवा गर्न सकिने स्थिति छैन । तर इजरायलले विद्युतीय उपकरणमार्फत लडाइँको नयाँ तरिका सिकाएर संसारलाई थप जोखिमपूर्ण बनाएको छ ।


विन्देश दहाल

दहाल अन्तर्राष्ट्रिय अर्थराजनीति बारे कलम चलाउँछन् ।