नागरिकसँगै पुँजी पलायन, भ्रष्टाचार र बेथिति देशले थाम्नै नसक्ने गरी झाँगियो: पूर्वराजा

630
Shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नागरिक पलायनसँगै पुँजी पलायन, भ्रष्टाचार र बेथिति देशले थाम्नै नसक्ने स्तरमा झाँगिएको बताएका छन् । आइतबार नयाँ वर्षको उपलक्ष्यमा भिडियो सन्देश सार्वजनिक गर्दै शाहले यस्तो बताएका हुन् ।

‘नागरिक पलायनसँगै पुँजी पलायन, भ्रष्टाचार, बेथीती देशले थाम्नै नसक्ने स्तरमा झाँगिएको छ । यो स्थितिमा नयाँ वर्षलाई उपलब्धिमूलक बनाउनु हामी सबैको सामूहिक र एकताबद्ध प्रयास अपरिहार्य भएको छ,’ शाहले भनेको छन्, ‘नेपाली–नेपालीबीच द्वन्द्व नहोस्, परस्पर अविश्वास र हिंसाको दुःखद परिस्थिति नबनोस् ।’

उनले देशवासीहरुले कुनै पनि नाम र विषयमा ध्रुवीकृत नबनुन् भन्नेतर्फ आफूहरु सधैं सचेत र संवेदनशील रहेको बताएका छन् ।

नेपालीको एकतामा नै नेपालको भविष्य निहित रहेको यथार्थलाई आत्मसाथ गरेको उल्लेख गर्दै शाहले सबैले यो वास्ताविकतालाई आत्मबोध गर्नुपर्ने धारणा राखेका छन् ।

‘मुलुकको गिर्दो अर्थ व्यवस्था, रुग्ण हुँदै गएको औद्योगिक उत्पादन, बढ्दो राष्ट्रिय ऋण र बेरोजगारी, रक्षात्मक बन्दै गएको राष्ट्रियता, राष्ट्रिय एकता, सामाजिक सद्भाव, मौलिक धर्म, संस्कृति तथा जनस्तरमा बढेको निरासा, असन्तुष्टि हाम्रो चिन्ताको मूल विषय हो,’ शाहले भनेका छन् ।