अर्थतन्त्रलाई चलायमान बनाउन काँग्रेस–एमाले गठबन्धन सरकार: गृहमन्त्री रमेश लेखक



काठमाडौं । गृहमन्त्री रमेश लेखकले देशमा राजनीतिक स्थिरता दिँदै अर्थतन्त्रलाई चलायमान गर्नका लागि नेपाली काँग्रेस–नेकपा एमाले गठबन्धनको सरकार बनेको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित ‘विशिष्ट प्रतिभा सम्मान तथा वृहत साङ्गीतिक काव्य गोष्ठी’ कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले विगत डेढ वर्षको अवधिमा सत्ता समिकरण फेरिरहँदा पुँजीगत खर्च घटेको तथा आर्थिक गतिविधिमा शिथिलता आएको पनि बताए । विगतको सरकारले सुशासन दिन नसकेको र विधिको शासन पनि चलाउन नसकेको भन्दै निराशातिर गइरहेको मुलुकलाई आशामा बदल्नका लागि दुई ठूला पार्टीको गठबन्धनमा सरकार बनेको उनको भनाइ थियो ।

यो सरकार विकास निर्माणको कामलाई द्रुत गतिमा अगाडी बढाउन तथा भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नका लागि गठन भएको उनले बताए । त्यसैगरी देशमा देशी, विदेशी लगानीको वातावरण बनाएर बढी रोजगारी सिर्जना गर्ने पनि सरकारको उद्देश्य रहेको उनको भनाइ छ । गृहमन्त्री लेखकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशितालाई थप सुदृढ पार्नेगरी संविधान संशोधन गर्ने कुरा सरकारको एजेण्डा रहेको बताए ।

‘हामीले मुलुकमा राजनीतिक स्थिरता दिन सकेनौँ । प्रधानमन्त्रीले ३/३ महिनामा संसदमा गएर विश्वासको मत प्रदर्शन गर्नुपर्ने अनि विश्वासको मत प्राप्त गर्ने सन्दर्भमा नयाँ–नयाँ राजनीतिक समिकरणहरु बन्ने स्थिती भयो,’ उनले भने, राजनीतिक रुपले स्थिरता दिन नसकेको स्थितिले पछिलो साढे एक वर्षको समयमा सरकारको अस्थिरताको कारणले त्यसको प्रभाव सबै ठाउँमा पर्न थाल्यो । विकासको क्षेत्रमा पुँजीगत खर्च घटेर गयो । आर्थिक क्षेत्रमा आर्थिक गतिविधिमा शिथिलता आयो । सुशासनको क्षेत्रमा मुलुकमा ठिक ढंगले सुशासन दिन सकिएन ।’

देशमा प्रशस्त सम्भावनाहरु छन् भन्ने सन्देश दिने गरी सरकारले काम गर्ने पनि उनले बताए । आगामी भाद्र ६ गते संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक राष्ट्रिय सभाबाट पारित हुने जानकारी दिँदै लेखकले शान्ति प्रक्रियाका बाँकी कामहरु सम्पन्न गर्न सरकार अग्रसर रहेको बताए ।


क्लिकमान्डु