बीवाईडीको याङवाङ यु९ सुपर कारले पास गर्‍यो विश्वकै कठिन टेस्ट ड्राइभ, बजारमा कहिले आउला ?



एजेन्सी । विद्युतीय कार उत्पादक चिनियाँ कम्पनी बीवाईडीको याङवाङ यु९ सुपर कारले विश्वमै कठिन मानिएको नुर्बगरिङ टेस्ट ड्राइभ पास गरेको छ । ६ महिना लामो विश्वको कठिन टेस्ट ड्राइभ पास गरेर बीवाइडीले आफ्नो याङवाङ यु९ सुपर कार बजारमा पठाउन तयार भएको पनि जनाएको छ ।

जर्मनीको नुर्बगरिङ सहरमा अवस्थित दक्षिणी ट्रयाक (नर्डसेलाइफ) कारको टेस्ट ड्राइभ उकालो ओरालो भौगोलिक स्थिति तथा साँघुरा मोडहरुका कारण कठिन मानिन्छ ।

साँघुरा र अप्ठ्यारा मोडहरु तथा कठिन भौगोलिक आवस्थितिमा ६ महिना लामो टेस्ट ड्राइभ गर्दा प्राविधिकहरुले याङवाङ यु९ सुपर कारलाई धेरै परिष्कृत गर्ने अवसर पाएको पनि बीवाईडीले जनाएको छ ।

२०.८ किमि लामो कठिन नुर्बगरिङ टेस्ट ड्राइभ पास गरेपछि बीवाईडीले याङवाङ यु९ सुपर कार आफ्नो अत्याधुनिक कारखानामा उत्पादन गर्न थालेको छ र छिट्टै बजारमा पठाउने पनि तयारी गरेको छ । अगस्ट महिनाको अन्तिमतिर आफ्नो पहिलो ग्राहकलाई कार हस्तान्तरण गर्ने कम्पनीको योजना रहेको पनि जनाएको छ ।

यु९ सुपर कारको उत्पादन बीवाईडीको अत्याधुनिक तथा उच्च प्रविधि प्रतिको लगावको रुपमा पनि हेरिएको छ । एक दशक लामो परीक्षणपछि कम्पनीले कार्बन फाइबरबाट कारको आवरण बनाएको छ । यो बीवाईडी याङवाङमा प्रविधिको उच्चतम उपयोग भएको पनि कम्पनीले दाबी गरेको छ ।

२ लाख ३२ हजार अमेरिकी डलर (३ करोड १० लाख रुपैयाँ) पर्ने याङवाङ यु९ सुपर कारले तीब्र गतिको फरारी कारको कीर्तिमान तोडेको छ । कार शून्यबाट १०० किमि प्रतिघण्टाको गति मात्र २.३६ सेकेन्डमा समात्न सक्छ । हालसम्म तीब्र गतिको कीर्तिमान राखेको फरारी कार शुन्यबाट १०० किमि प्रतिघण्टाको गति २.५ सेकेन्डमा समात्न सक्छ ।

याङवाङ यु९ सुपर कार चार्जिङ गर्न पनि सहज छ । कारमा रहेको ड्युअल फास्ट चार्जिङले ३० प्रतिशत रहेको चार्ज लेभल १० मिनेटमा ८० प्रतिशत पुर्‍याउन सक्छ । साथै, स्लो चार्जिङ गर्दा ७ घण्टा लाग्ने कम्पनीले जनाएको छ ।


क्लिकमान्डु