श्रीमतीलाई नक्कली सुराकी बनाएर कमिसन खाएको भन्दै रमेश खरेलविरुद्ध अख्तियारमा उजुरी



काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

आइतबार अधिवक्ता युवराज सफलले खरेलले नक्कली सुराकी खडा गरी लिइएको सुराकी कमिसन रकम बारे छानबिन गरी आवश्यक कारबाही गर्न माग गर्दै निवेदन दिएका हुन् ।

नेपाल प्रहरीका पूर्वडीआइजी रमेश खरेलले सुराकी बापत कमिसन खाएँ भन्ने अभिव्यक्ति दिएको भन्दै त्यसको छानबिनको लागि निवेदन दिएका हुन् ।

कानुनले वास्तविक सुराकीकर्तालाई सुराकी गरेवापत निश्चित रकम प्रोत्साहनबापत दिने व्यवस्था गरे पनि रमेश खरेलले श्रीमतीलाई नक्कली सुराकी खडा गरी हाकाहाकी विभिन्न जिल्लामा हुँदा लाखौं रुपैयाँ सुराकी रकम कमिसन लिएको बताएको उनले निवेदनमा उल्लेख गरेका छन् ।

सही सुराकीलाई नदिईकन् नक्कली सुराकी खडा गरी सुराकी कमिसन रकम लिने दिने कार्य भ्रष्टाचारजन्य कार्यभित्र नै पर्ने हुँदा भ्रष्टचारमा संलग्न रमेश खरेललाई तत्काल प्रकाउ गरी उनले राज्य कोषबाट लिएको रकम कति हो सो राज्य कोषमा दाखिला गर्न लगाई खरेललाई भ्रष्टाचार ऐन बमोजिम कडा कारबाही गर्न माग गरिएको छ ।

साथै विभिन्न समयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) ले बरामद गरेको ३५ किलो सुन लगायत हालसम्म जफत गरेका सुन प्रकरणमा समेत प्रहरीका उच्च अधिकारीहरुले नक्कली सुराकी खडा गरी प्रहरीकै आफन्तहरुको नाममा करोडौं रुपैयाँ सुराकी कमिसन दिएको भनी विभिन्न संचार माध्यमहरुमा समाचार प्रकाशन प्रसारण भएको कुरा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई जानकारी हुनुपर्ने उनले निवेदनमा उल्लेख गरेका छन् ।

‘सुराकी कमिसनको नाममा हुँदै नभएको नक्कली सुराकी गरी हालसम्म अबौं रुपैयाँ घोटाला भई राज्य कोषमा घाटा लाग्न गएकोले २०४६ सालपछि विभिन्न प्रकरणमा वितरण गरिएका एवम् सुराकी कमिसन बापत भुक्तानी गरिएका रकम एबम् रकम प्राप्त गर्नेहरुको विस्तृत विवरणको सक्कल फाइल झिकाई नक्कली सुराकी बनेर निजहरुले लिएका रकमहरु अविलम्ब राष्ट्रिय ढुकुटीमा ल्याई निजहरुलाई नक्कली सुराकी खडा गरी सुराकी कमिसन लिएको नाममा कानुन बमोजिम हदैसम्मको कारबाही गर्न गराउन एक सचेत ,इमान्दार, स्वाभिमानी र देशभक्त नागरिकको तर्फबाट प्रस्तुत उजुरी पेश गरेको हुनाले यस उजुरी उपर आवश्यक अनुसन्धान गरी दोषी देखिएकाहरुलाई कारबाही गर्न माग’ गरिएको छ ।

यसअघि खरेलले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका थिए ।


क्लिकमान्डु