रमेश खरेलले आफ्नो चरित्रहत्या गरेको भन्दै कुलमानको आपत्ति, चर्चामा आउन खोजेको आरोप



काठमाडौं । विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आफूविरुद्ध नेपाल प्रहरीका पूर्वनायव महानिरीक्षक (डीआएईजी) रमेश खरेलले सुनियोजित रुपमा लागेको दाबी गरेका छन् ।

नेपालको संविधान तथा प्रचलित कानूनको परिधिभित्र रहेर सरकारले दिएको जिम्मेवारी निष्ठापूर्वक प्रतिबद्धताकासाथ पूरा गरिरँदा पनि खरेल सुनियोजित रुपमा लागेको घिसिङको भनाइ छ ।

मंगलबार खरेलले घिसिङविरुद्ध अख्तियारमा विभिन्न आरोप लगाउँदै निवेदन दिएपछि कुलमानले बुधबार विज्ञप्ति जारी गर्दै नेपाली जनतालाई भरपर्दो, गुणस्तरीय, पर्याप्त र सुरक्षित विद्युत आपूर्ति उपलब्ध गराउने मुख्य उद्देश्यलाई इमान्दारीपूर्वक काम गरिरहेको दाबी गरेका छन् ।

एन्टी करप्सन नेटवर्ककातर्फबाट साउन २९ गते मङगलबार सामाजिक सञ्जालमार्फत आफ्नो बिरुद्ध सुनियोजित रुपमा दूषित मनसायकासाथ सार्वजनिक गरेको विवरणमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको घिसिङले जनाएका छन् ।

‘उजुरी दर्ता गर्नासाथ त्यसलाई सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुले निज खरेलबाट उक्त उजुरी सार्वजनिक खपत र आफू चर्चामा आउनलाईमात्र गरेको मेरो ठम्याइ छ’ उनले विज्ञप्तिमार्फत भनेका छन् ‘निष्ठासाथ आफ्नो जिम्मेवारी पूरा गरिरहेको व्यक्तिलाई हतोत्साहित बनाउन सुनियोजित रुपमा निज खरेलबाट निहीत स्वार्थकासाथ यस्ता कामहरु भइरहेका थिए र छन् ।’

घिसिङले आफूबाट छुट्टिएका भाइ र दाइले संविधानले दिएको अधिकारको प्रयोग गरी व्यापार व्यवसाय गरिरहेको उनको भनाइ छ ।

‘अंशवण्डा गरी लामो समयदेखि मबाट छुट्टै बसिरहेका मेरा दाइ र भाइले नेपालको संविधान र ऐन कानुनले दिएको हकअधिकार प्रयोग गरी स्वतन्त्र रुपमा राज्यलाई तिर्नुपर्ने कर तिरी आफ्नो व्यापार व्यवसाय ईमान्दारी पूर्वक सञ्चालन गरिरहेका छन् । मैले आफ्नो पदीय दुरुपयोग गरी मेरा दाइ र भाइले सञ्चालन गरिरहेको व्यापार व्यवसायलाई फाइदा पुग्ने कुनै पनि कार्य नगरेको प्रष्ट पार्न चाहान्छु ।’

आफूले त्यस्तो गरेको पाइएमा राज्यका निकायहरुले छानबिन गर्ने जनाएका छन् ।

प्राधिकरणले हासिल गरेका प्रगति एवम् उपलब्धीबाट अत्तालिएको केही स्वार्थ समूह (जो पहिलेबाटै सक्रिय थियो) र विद्युत महसुल बक्यौता रकम असुल गर्न चालिएका कदमबाट आत्तिएका केही व्यक्ति तथा संस्था अहिले मलाई कमजोर बनाउन र मनोबल गिराउन मेरा विरुद्धमा सुनियोजित रुपमा लागिरहेको जनाएका छन् ।

‘प्रचलित सार्वजनिक खरिद कानून बमोजिम गरिएका खरिद सम्झौताहरु, विद्युत खरिद बिक्री सम्झौता (पिपिए) र अन्य कतिपय असान्दर्भिक विषयहरुलाई उचाल्नुले पनि यही कुरालाई पुष्टि गर्दछ’ जारी विज्ञप्तिमा भनेका छन् ‘नेपाली जनतालाई भरपर्दो, गुणस्तरीय, पर्याप्त र सुरक्षित विद्युत आपूर्ति गर्ने, संस्थालाई वित्तीय रुपमा सबल एवम् सक्षम बनाउने, विद्युत, उत्पादन, प्रसारण र वितरणतर्फका पूर्वाधार संरचनाहरुको विकास तथा विस्तार गरी ऊर्जामा मुलुकलाई आत्मनिर्भर बनाउँदै छिमेकी देशहरुसँगको विद्युत व्यापार विस्तार गर्नेबाहेक अन्य मेरा कुनै व्यक्तिगत र नाजायज स्वार्थ नरहेको प्रष्ट पार्दछु ।’


क्लिकमान्डु