
काठमाडौं । सरकारले नेपाल प्रहरीको राशन १० प्रतिशतले बृद्धि गरेको छ ।।
गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारको निर्णय सार्वजनिक गर्दै नेपाल प्रहरीको राशन १० प्रतिशतले बृद्धि भएको जानकारी दिएका छन् ।
अर्यालले सुनाएको उक्त निर्णय बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो । यो निर्णयसँगै करिब ८० हजार प्रहरी कर्मचारी लाभान्वित हुने भएका छन् ।
रासन बढ्ने निर्णय सुनाए पनि के कति बढेको भन्नेबारे गृहमन्त्री अर्यालले केही खुलाएनन् । यसबारे नेपाल प्रहरीसँग बुझ्दा अहिले पाइआएको रासनमा सरदर १० प्रतिशतका दरले वृद्धि भएको पाइएको छ ।
यसबारे नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्ले भन्छन्, ‘समग्रमा भन्दा अहिले पाइआएको रासनको १० प्रतिशत रकम वृद्धि भएको हो ।’
जिल्लागत रूपमा रासनको रकम फरकफरक छ । हिमाली जिल्लामा महँगो हुने भएकाले त्यहाँ कार्यरत प्रहरी कर्मचारीले सोहीअनुसार रासन वापतको रकम पाउने गर्छन् ।
तराईका जिल्लाहरूमा भने तुलनात्मक रूपमा सस्तो हुने भएकाले सोही अनुसारको रासन दररेट छ ।
काठमाडौंमा अहिले एक प्रहरीले दैनिक रासन बापत २०१ रुपैयाँ २५ पैसा बुझ्दै आएका छन् । अब १ फागुनबाट यो रकम बढेर दैनिक २ सय २१ रुपैयाँ ९२ पैसा पुग्ने प्रवक्ता काफ्लेले बताए ।
त्यसैगरी, अहिले झापामा कार्यरत प्रहरी कर्मचारीले दैनिक १ सय ८० रुपैयाँ ५५ पैसा रासन बापतको रकम पाउँछन् । अब १ फागुनबाट भने दैनिक १ सय ९९ रुपैयाँ १० पैसा पाउने छन् ।
नेपाल प्रहरीमा रासन वापतको रकम प्रहरी कर्मचारीलाई नै उपलब्ध गराउने चलन छ । ब्यारेकमा खाना नखाने प्रहरी कर्मचारीले त्यसबापत रकम पाउने छन् ।
सबैभन्दा बढी रासन रकम हुम्लाको उत्तरी भेगमा कार्यरत प्रहरी कर्मचारीले पाउँछन् । त्यहाँ कार्यरत प्रहरी कर्मचारीले दैनिक ८ सय ६५ रुपैयाँ ६५ पैसा पाउँदै आएका छन् । १ फागुनबाट भने ९ सय ५२ रुपैयाँ ३६ पैसा पाउने छन् ।
त्यस्तै, चामल दैनिक ६ सय ९० ग्राम पाउने गरेकोमा १ फागुनदेखि ७ सय २० ग्रामको दरले पाउने छन् । अहिले ४०३०।५ क्यालोरी पाउनेमा अब १ फागुनदेखि ४ हजार ३ सय ६४ क्यालोरी पाउने छन् ।
यसअघि २०७८ सालमा प्रहरीको रासन वृद्धि भएको थियो । २०७२ सालको रासनमा २०७८ सालमा १५ प्रतिशत भएको थियो । अहिले त्यही २०७८ को रासनमा चार वर्षपछि १० प्रतिशत वृद्धि भएको हो ।
नेपाली सेना, सशस्त्र प्रहरी बलले रासनको रूपमा अन्डा, मासु, बिस्कुटहरू पाउँदै आएका छन् । तर नेपाल प्रहरीका कर्मचारीले भने रासनको रूपमा यी तीन वस्तुहरू पाउँदैनथे ।
जसका कारण प्रहरीलाई रासनमै विभेद हुने गरेको भन्दै पटक पटक गुनासोसमेत आउने गरेको थियो । अहिले भने यी तीन वस्तुहरू अन्डा, मासु र बिस्कुटको आइटम थप भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्ले बताउँछन् ।
तीन आइटम थप भएसँगै अब नेपाल प्रहरीका कर्मचारीले रासन वापत १९ प्रकारका सामान पाउने छन् । नेपाल प्रहरीमा रासन वापतको रकम प्रहरी कर्मचारीलाई नै उपलब्ध गराउने चलन छ । ब्यारेकमा खाना नखाने प्रहरी कर्मचारीले त्यसवापतको रकम पाउने छन् ।
रासनमा अब २५ ग्राम मासु, हाई इनर्जी बिस्कुट र दैनिक एउटा अन्डा थपिएको छ । २४ घण्टा ड्युटीमा खटिनुपर्ने प्रहरीलाई रासन अपुग भएको भन्दै प्रहरीले लबिङ गर्दै आएको थियो ।








प्रतिक्रिया