नाडा अटो शोमा पहिलोपल्ट विदेशबाट अटो व्यवसायी आउने, कुन कुन देशबाट आउँदैछन् ?



काठमाडौं । नाडा अटो शो-२०२४ मा पहिलो पल्ट विदेशबाट समेत अटो व्यवसायीहरु सहभागी हुने भएका छन् ।

नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपालले विभिन्न देशका अटो व्यवसायीहरुलाई नाडा अटो शोमा सहभागी हुन निम्ता दिएको थियो । नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले भारतबाट अटो व्यवसायी आउने निश्चित भएको बताए । उनकाअनुसार चीनबाट समेत व्यवसायी आउने सम्भावना छ । नाडाले विभिन्न देशका अटो व्यवसायीहरुको संस्थालाई निम्ता दिएको थियो ।

उपाध्यक्ष श्रेष्ठका अनुसार विदेशबाट अटो व्यवसायीहरु ल्याउन पाए हाम्रो एक्सपोजर अझै बढ्दै जानेछ भने सहकार्य गर्न सजिलो हुनेछ । यस अघि बाहिरबाट अटो एसोसिएनका डेलिगेष्ट्सहरुलाई बोलाउने अभ्यास थिएन ।

नाडा अटोमोबाइल्स एसोसिएस अफ नेपालको आयोजनामा ‘ नाडा अटो शो २०२४’  भदौ ११ देखि १६ गतेसम्म आयोजना हुँदैछ।

राजनबाबु श्रेष्ठ

अटो शोमा वित्तीय संस्था, नयाँ प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्ट्स, लुब्रिकेन्ट्स, टायर, जेनेरेटर, ग्यारेज उपकरण, ब्याट्री तथा अन्य एसेसरिजहरुको सहभागिता रहने छ, जसमा नेपालमै उत्पादित सामग्रीहरु समेत रहने छन् ।

नाडा ‘अटो शो’ अवलोकन गर्न आउनेहरूमा सर्वसाधारण बाहेक अटो उद्योगी, व्यापारी, व्यापार विश्लेषक, अर्थशास्त्री तथा नीति निर्माताहरू पनि हुने छन् ।

यो पटकको अटो शोमा ६८ ब्राण्डका सवारी साधन प्रदर्शनीमा राखिने तयारी छ । नाडा अटो शो-२०२४  विद्युतीय सवारी साधन (ईभी) मय हुने भएको छ । यो ‍पटकको नाडा अटो शोमा बिवाईडीको एम-सिक्स, टाटा पन्च ईभी, डिपल एल जेरो सेभेन, हुन्डाईको क्रेटा फेस लिफ्ट, अवतार ११ प्रदर्शनीमा राख्न लागिएको छ । भिनफाष्टको भीएफ फाईभ, केई, जिकर, लुमिनलगायतका ब्राण्डहरु नाडा अटो शोमा प्रदर्शनीमा राखिने भएको छ ।

चौधरी ग्रुपले नाडा अटो शोलाई लक्षित गरेर एक्सपेङ ल्याउन लागेको छ । महिन्द्राको थ्री एक्स ओ र एक्सयुभी-४०० कार प्रदर्शनीमा राखिनेछ । केहि ब्राण्ड बाहेक सबै ईभी प्रदर्शनीमा राख्न लागिएको छ । ईभीमा सहुलियत दिने सरकारको नीतिका कारण नेपालमा दर्जनौं ब्राण्डहरु भित्रिरहेका छन् ।


क्लिकमान्डु