नाडा अटो शो-२०२४ ईभीमय: चिनियाँ गाडीको वर्चस्व हुने



काठमाडौं । नाडा अटो शो-२०२४  विद्युतीय सवारी साधन (ईभी) मय हुने भएको छ ।

गत वर्षभन्दा पनि बढी यो वर्षको नाडा अटो शो विद्युतीय सवारीसाधनले भरिने भएको हो । ग्राहकहरुको रोजाईमा ईभी पर्न थालेपछि अधिकांश अटो व्यवसायीहरु अन्तर्राष्ट्रिय बजारबाट विभिन्न ब्राण्डका गाडीहरु भित्र्याइरहेका छन् ।

एउटै ब्राण्ड ल्याउन दुई/तीनवटा घरानाबीच समेत प्रतिस्पर्धा चलिरहेको छ । केहि घराना अन्तर्राष्ट्रिय बजारमा नयाँ ब्राण्डहरु खोजिरहेका छन्।

यो ‍पटकको नाडा अटो शोमा बिवाईडीको एम-सिक्स, टाटा पन्च ईभी, डिपल एल जेरो सेभेन, हुन्डाईको क्रेटा फेस लिफ्ट अवतार ११ प्रदर्शनीमा राख्न लागिएको छ । भिनफाष्टको भीएफ फाईभ, केई, जिकर, लुमिनलगायतका ब्राण्डहरु नाडा अटो शोमा प्रदर्शनीमा राखिने भएको छ ।

चौधरी ग्रुपले नाडा अटो शोलाई लक्षित गरेर एक्सपेङ ल्याउन लागेको छ । महिन्द्राको थ्री एक्स ओ र एक्सयुभी-४०० कार प्रदर्शनीमा राखिनेछ । केहि ब्राण्ड बाहेक सबै ईभी प्रदर्शनीमा राख्न लागिएको छ । ईभीमा सहुलियत दिने सरकारको नीतिका कारण नेपालमा दर्जनौं ब्राण्डहरु भित्रिरहेका छन् ।

बिवाइडीका लागि नेपालको आधारिक बिक्रेता साइमेक्स इंकले एम-सिक्स प्रदर्शनीमा राख्न लागेको हो । कम्पनीले बिवाईडीको एम-६ नाडा अटो शोमा ल्याउने पक्का भएको हो । साइमेक्स इंकले नयाँ विभिन्न मोडलका कारहरु ल्याउने विषयमा अध्ययन गरिरहेको थियो । नाडा अटो शो को मौका पारेर नयाँ मोडलको कार ल्याउन लागेको हो ।

साइमेक्स इंकका प्रवन्ध निर्देशक यमुना श्रेष्ठ

बिवाईडी बहुउदेश्यीय कार हो । यो कारको मिनिभ्यान जस्तो बडी स्ट्रक्चर छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार हालसालै चीनमा राईट ह्याण्ड ड्राइभ भर्सन भएको एम-६ कार देखिएको थियो । बिवाईडीले दोस्रो भर्सनको रुपमा अल न्यु एम-सिक्स ल्याएको हो ।

बिवाईडीले १०१९ मा ल्याएको सोङ म्याक्समा आधारित रहेर तयार पारेको छ । ७१.७ किलोवाट आवर ब्लेड ब्याट्री छ  । ५०० किमीभन्दा बढी रेन्ज दिनेछ । नेपालमा ८० किलोवाट मोटरमा ल्याउने लागेको छ ।

जिओ अटोमोबाइल्स चिनियाँ ब्राण्ड काई भित्र्याउने भएको छ । काई चिनियाँ गाडी उत्पादक कम्पनी चेरीको सब ब्राण्ड हो ।

जिओ अटोमोबाइल्सले काई एक्स थ्री प्रो भित्र्याउन लागेको हो । यो गाडी लेन्थ ४४०० एमएम, चौडाई १८३१ एमएम, उचाई१६५३ एमएम र ह्‍विलबेस २६३२ एमएम रहेको छ । यो २०२२ को मोडल अनुसारको विवरण हो । लिथियम आयोन फोस्फेट ब्याट्री रहेको छ । ब्याट्रीको क्षमता ५३ किलोवाट रहेको छ । हर्स पावर १६४ एचपी रहेको छ । फुल चार्जमा ४०० किमीसम्म यात्रा गर्न सकिने छ ।

यो गाडीको इन्टेरियर अत्यन्त आरामदायी रहेको कम्पनीको दाबी छ । पछाडीका सिटमा बस्नेहरुका लागि पर्याप्त ठाउँ, युएसबी पोर्ट, ११ इन्चको इन्फोटेनमेन्ट स्क्रिन, ७ इन्च डिजिटल इन्स्ट्रुमेन्ट स्क्रिन, वायरलेस चार्जर, याम्बियन्ट लाइटिङलगायतका फिचरहरु रहेका छन् । ३६० क्यामेरा छ । जिओ अटोमोबाइल्स गोल्छा अर्गनाइजेसनको कम्पनी हो ।

लक्ष्मी इमोबिलिटीले पनि यहि गाडी ल्याउन लागेको छ । कम्पनीले एउटा गाडी  ल्याएर परीक्षण गरिरहेको छ । गोल्छा र लक्ष्मी ग्रुपले एउटै गाडी ल्याउन लागेका हुन् । दुईवटा घरानाले एउटै गाडी ल्याउन लागेका हुन् ।

दुई कम्पनीबीच हुने मूल्यको प्रतिस्पर्धाले ग्राहकलाई भने फाइदा हुनेछ । जिओ अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छा दुबै कम्पनीले एउटै गाडी ल्याउन लागेकाले एउटै स्टलमा राख्न लागेको बताए  ।

‘एउटै ब्राण्ड भएकाले एउटै स्टलमा हामी गाडी राख्ने  विषयमा छलफल भइरहेको छ,’ उनले भने- ‘किन दोहोर खर्च गर्नु, हामी एउटै स्टलमा दुईवटा गाडी राख्छौं । ‘

यो पटकको अटो शोमा टाटाको पन्च ईभी देख्न पाइनेछ । सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले नाडा अटो शोमा पन्च ईभी ल्याउन लागिएको बताए ।

सिप्रदिका सीईओ राजनबाबु श्रेष्ठ

नाडा अटो शोमा टाटाको टियागो ल्याएर ग्राहकहरुलाई आकर्षित गर्न सफल पन्च ईभी ल्याउन लागेको हो । टियागो नेपालमा मनपराईएको इन्ट्री लेभलको गाडी हो ।

पन्च सर्ट रेन्ज (एसआर) र लङ रेन्ज (एलआर) गरी दुई फरक मोडलमा उपलब्ध हुनेछ । सर्ट रेन्ज मोडलमा २५ किलोवाट आवरको ब्याट्री छ । जुन टियागो ईभीकोभन्दा १ किलोवाट आवर ठूलो ब्याट्री हो ।

लङ रेन्ज मोडलमा ३५ किलोवाट आवरको ब्याट्री रहने छ । पन्च ईभीको स्ट्याण्डर्ड भेरियन्टमा ६० किलोवाटको मोटर छ । यसले ८२ हर्स पावर र ११४ न्युटन मिटर टर्क जेनेरेट गर्छ । लङ रेन्ज भेरियन्टमा ९० किलोवाटको इलेक्ट्रिक मोटर दिइएको छ। यसले १२२ हर्स पावर र १९० न्युटन मिटर टर्क जेनेरेट गर्दछ ।

नाडा अटो शोमा देख्न पाइने अर्को प्रिमियम कार हो, अवतार ११ ।

दुई ठूला घराना चौधरी ग्रुप र एमएडब्लु मिलेर ल्याउन लागेका हो । १ करोड ४५ लाख रुपैयाँ मूल्य रहेको यो प्रिमियम कार नाडा अटो शोमा प्रदर्शनीमा राखिनेछ । ४ युनिट कार नेपाल आइसकेको छ ।

नेपालमा हुन्डाई गाडीको आधिकारिक आयातकर्ता तथा वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ हुन्डाई क्रेटा सार्वजनिक गरेको छ। लक्ष्मी हुन्डाईले नेपालमा सन् २०१५ बाट क्रेटाको बिक्री सुरुवात गरेको थियो ।

नयाँ क्रेटामा विभिन्न फिचर्स तथा थप सुविधाहरु रहेका छन् । नयाँ क्रेटाको अगाडि भागमा प्यारामेट्रिक ब्ल्याक क्रोम ग्रिल, स्लीक क्वाड बीम एलईडी हेडल्याम्प र नयाँ डिजाइनको बम्पर राखिएको छ । साथै यसमा आकर्षक साइड लाइन र नयाँ एलोय ह्वीलहरू पनि रहेका छन् ।

त्यसैगरी, पछाडि भागमा कनेक्टिङ एलईडी टेललाइट सेटअप र रिडिजाइन गरिएको बम्पर समावेश गरिएको छ । गाडीको भित्री भागमा कालो र खैरो थिममा यसको ड्यासबोर्ड पूर्णतया नयाँ छ भने इन्फोटेनमेन्ट सिस्टम र डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर पहिलेकोभन्दा निकै आकर्षक छ ।

यसमा दुबै स्कुन समान १०.२५ इन्चका छन् । स्पीकर बोस साउण्ड सिस्टम, एम्बर एम्बियेन्ट लाइटिंग, प्यानोरामिक सनरूफ, भेन्टिलेटेड सिटहरू र डुअल-जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल जस्ता विशेषताहरू समावेश छन् । जसले यस गाडीलाई थप आरामदायी, उत्साहजनक र साहसीपूर्ण ड्राइभिङ अनुभव दिने विश्वास गरिएको छ ।

लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक निराकार श्रेष्ठ

नयाँ क्रेटामा ६ ओटा एयरब्याग, ३६० डिग्री क्यामेरा, सराउन्ड भ्यू मोनिटर (एसभीएम), ब्लाइन्ड-स्पट भ्यू मोनिटर (बिभीएम), अटो होल्डसहितको इलेक्ट्रिक पार्किङ ब्रेक र टायर प्रेशर मोनिटरिङ सिस्टम (हाईलाइन)ले चालक सुरक्षाको प्रत्याभुति गराउँछ।

एडास फिचर अन्तर्गत लेन किप एण्ड फलोइङ असिस्ट, लेन डिपार्चर वार्निङ, एडाप्टभ क्रुज कन्ट्रोल, फ्रन्ट कोलिसन एभाइडेन्स, ब्लाइन्ड स्पट भ्यू मनिटर र ड्राइभर अटेन्सन वार्निङ जस्ता महत्वपूर्ण फिचर उपलब्ध छन् ।

१.५-लिटर पेट्रोल र १.५ लिटर डिजेल इन्जिनहरुले नयाँ क्रेटालाई अझ शक्तिशाली बनाएको छ । गियर ट्रान्समिसनको विकल्पहरूमा एमटी, एटी र आइभीटी उपलब्ध छन् । नेपालकै उत्तम एसयूभीको रुपमा स्थापित भइसकेको पुरानो क्रेटा मोडलको तुलनामा थुप्रै उन्नत सुविधाहरू र विकल्पहरू थप गरिएको छ ।

नयाँ हुन्डाई क्रेटाको प्रारम्भिक मूल्य ५५ लाख ९६ हजार रुपैयाँ राखिएको छ ।  कम्पनीले यो कार नाडा अटो शोमा प्रदर्शनीमा राख्न लागेको हो ।

चिनियाँ प्रिमियम इलेक्ट्रिक कार ब्राण्ड जिकर शारडा ग्रुपले ल्याउने भएको छ । नेपालका सबै जसो व्यापारिक घरानाले ल्याउन खोजेको यो ब्राण्डको आधिकारिक बिक्रेता शारडा ग्रुप अन्तर्गतको पायोनियर मोटोकर्प प्रालि नियुक्त भएको हो । कम्पनीले राइट ह्याण्ड ड्राइभ मोडलको जिकर एक्स ल्याउन लागेको हो । यो नेपालमा बहुप्रतिक्षित ब्राण्ड हो ।

यो गाडीले ४२५ किलोमिटर रेन्ज दिन्छ । यो लक्जरी स्पोर्टस युटिलिटी भेहिकल (एसयुभी) हो । यो गाडीमा ६६ किलोवाट ब्याट्री छ । ३० मिनेटमा १५० किलोवाटको डिसी चार्जरले चार्जले गर्न सकिन्छ । लेटेष्ट टेक्नोलोजी प्रयोग गरिएको कम्पनीको दाबी छ ।जिकर झिजियाङ जिली होल्डिङ ग्रुपको ब्राण्ड हो । यो गाडी नाडा अटो शो मा देख्न पाइनेछ ।


क्लिकमान्डु