इन्ट्री लेभलको लोकप्रिय कार बन्यो टाटा टियागो ईभी, १० महिनामै १६०० बढी बिक्री (भिडियो)



काठमाडौं । मूल्य र रेन्जका कारण मध्यमवर्गीय परिवारमा टाटाको टियागो निकै लोकप्रिय बनेको छ । नेपाली बजारमा भित्रिएको १० महिनामै टाटा टियागो कार उल्लेख्य मात्रामा बिक्री भएको तथ्यांकले यसको लोकप्रियतालाई पुष्टी गर्छ ।

‘नेपाल भित्रिएको १० महिनामै १६०० युनिटभन्दा धेरै टियागो ईभी बिक्री गरिसकेका छौं,’ टाटाका लागि नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले क्लिकमान्डुसँग भने, ‘सस्तो मूल्य र आकारमा सानो, ड्राइभ गर्न र पार्किङमा सहज हुने भएकाले मध्यमवर्गीय परिवारमा यसको लोकप्रियता उच्च  छ ।’

गत भदौमा सिप्रदी ट्रेडिङले नाडा अटो शोमार्फत नेपाली बजारमा टियागो ईभी सार्वजनिक गरेको थियो । सीईओ श्रेष्ठका अनुसार यो गाडीमा ग्राहकहरुको सन्तुष्टी अत्याधिक छ ।  ‘हामी हाम्रा ग्राहकहरुको नियमित पोस्ट सेल्स फिड ब्याक लिन्छौं । एउटा पनि कम्प्लेन छैन । एकदमै खुसी छन्,’ उनले भने,’ टियागो ईभीमा कस्टुमर स्याटिस्फ्याक्सन इन्डेक्सन ९७ प्रतिशत छ ।’

सीईओ श्रेष्ठले यो कार नेपाली बजारमा लोकप्रिय बन्नुका धेरैवटा कारणहरु रहेको बताए । उनका अनुसार यो लोकप्रिय बन्नुको एउटा प्रमुख कारण मूल्य हो ।

पछिल्लो समय नेपाली उपभोक्ताहरु अत्याधिक मात्रामा ईभीमा सिफ्ट भएका छन् । टाटा टियागो ईभीमा सस्तो कार हो ।

टाटा टियागो कार नेपाली बजारमा तीनवटा भेरियन्टमा उपलब्ध छ ।  एक्स टी भेरियन्टको मूल्य २७ लाख ४९ हजार रुपैयाँ छ । एक्स जेड भेरियन्टको मूल्य २८ लाख ९९ हजार रुपैयाँ छ । एक्सजेड प्लस टेक लक्स हाइ भेरियन्ट कार हो । यो कारको मूल्य २९ लाख ९९ हजार रुपैयाँ पर्छ ।

सरकारले ईभीमा कर बढाएसँगै सिप्रदी ट्रेडिङले टियागोको सबै भेरियन्टमा १ लाख रुपैयाँ मूल्य बढाएको हो । सरकारले आर्थिक ऐन ल्याएर ईभीमा १० प्रतिशत कर बढाएको छ । ५० किलोवाटसम्मका सवारीसाधन ५ प्रतिशतभन्सार र ५ प्रतिशत अन्त: शुल्क बढाएको छ । टियागो ईभी ४९ किलोवाट क्षमताको गाडी हो ।

त्यसै गरी सीईओ श्रेष्ठले यो कारको अपरेटिङ कष्टसमेत कम भएको दाबी गरे । ‘मानिसहरु खोज्ने त्यहि हो । यो गाडीको अपरेटिङ कष्ट कम छ । त्यसैगरी उकालोको भयसमेत छैन,’ उनले भने, ‘काठमाडौंलगायत शहरी क्षेत्रमा पार्किङको ठूलो समस्या छ । यो कार सानो स्पेसमा पनि पार्किङ हुन्छ ।’

टियागो ईभीमा इलेक्ट्रिक मोटर टर्क ११४ एनएम छ । मल्टी ड्राईभिङ मोड्स (ड्राइभ/स्पोर्टस) छ । ३१५ किमीसम्म रेन्ज दिन्छ।  ह्याचब्याक बडी भएको कार हो । बुट स्पेस २४० लिटर्स छ । ३.६ घण्टामा ७.२ किलोवाटको चार्जरलेमा १० देखि १०० प्रतिशत चार्ज गर्न सकिन्छ ।

इन्ट्री लेभलका ग्राहकको रोजाईमा परेका कारण टियागो लोकप्रिय बनेको हो । लोकप्रिय बनेकै कारण पछिल्लो समयमा टाटा टियागो कारको उपस्थिति सडक बाक्लै देखिन्छ ।

नेपालमा पछिल्लो समय साना, सस्तो र धेरै माइलेज दिने इन्ट्री लेभलका ईभी कारहरुमा रोजाइमा पर्छ । गाडी उत्पादक कम्पनीहरुले पनि मोटरसाइकल छाडेर गाडी चढ्न चाहाने मध्यमवर्गलाई लक्षित गरेर उत्कृष्ट फिचर, माइलेज, डिजाइन, इन्जिन ग्राउण्ड क्लियरेन्स भएका कारहरु ल्याइरहेका छन् । टियागो ईभीमा यस्ता सबै विशेषता भएकाले लोकप्रियता बढेको कम्पनीको दाबी छ ।

कम्पनीको सर्भिस सेन्टर र चार्जिङ पूर्वाधार समेत पर्याप्त छ । सोही कारण पनि ग्राहकहरुले मन पराउने गरेका छन् ।


क्लिकमान्डु