सरकार भन्सारमै निर्भरः गत आवभन्दा ४० प्रतिशत बढी उठाउने लक्ष्य, कुल राजस्वमा हिस्सा बढ्दै



काठमाडौं । भन्सार विभागले आर्थिक वर्ष २०८१/८२ मा आव २०८०/८१ को भन्दा ४० प्रतिशत बढी राजस्व परिचलान गर्नुपर्ने भएको छ । उच्च दरको राजस्व वृद्धिको लक्ष्य लिएको सरकारले भन्सारलाई नै मुख्य स्रोत बनाएको हो ।

अर्थ मन्त्रालयले भन्सार विभागलाई ५ खर्ब ८३ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिएको हो जुन गत आवको भन्दा ३९.५ प्रतिशत बढी हो । गत आर्थिक वर्षको तुलनामा सरकारले ३१.३ प्रतिशत बढी अर्थात् १४ खर्ब १९ अर्ब रुपैयाँ राजस्व उठाउँदैछ जसमध्ये ४१.०९ प्रतिशत भन्सारबाट संकलन गरिने भएको हो ।

गत आर्थिक वर्ष भन्सारले ४ खर्ब १८ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो ।

भन्सार विभागले आयातीत वस्तुमा भन्सार महसुल, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, सडक निर्माण तथा सम्भार दस्तुर, सडक मर्मत तथा सुधार दस्तुर, कृषि सुधार शुल्क, अग्रिम आयकर, स्वास्थ्य जोखिम कर, पूर्वाधार कर आदि उठाउँछ । भन्सारले उठाउने सबैभन्दा ठूलो राजस्व स्रोत भन्सार महसुल र आयातीत वस्तुको मुअ कर हुन् । यी दुई करले भन्सारले उठाउने राजस्वको ९० प्रतिशत हिस्सा ओगट्छन् ।

अर्थ मन्त्रालयले यो वर्ष पनि भन्सारलाई नै मुख्य आम्दानी स्रोत बनाएको हो । यतिसम्म कि सरकारले संकलन गर्ने राजस्वमा भन्सारको हिस्सा गत आवको भन्दा बढी बनाउने लक्ष्य लिइएको छ ।

गत आर्थिक वर्ष उठेको राजस्वमध्ये ३९.५१ प्रतिशत हिस्सा भन्सार विभागले उठाएको । आगामी आवका लागि ४१.०९ प्रतिशत उठाउने जिम्मा भन्सारलाई दिइएको हो ।

यो लक्ष्य हासिल गर्न भन्सारले गत आव उठाएको ४ खर्ब १८ अर्बभन्दा ३९.५ प्रतिशत बढी अर्थात् ५ खर्ब ८३ अर्ब रुपैयाँ राजस्व उठाउनुपर्ने भएको हो ।

०००
आर्थिक वर्ष २०८१/८२ मा आन्तरिक राजस्व विभागलाई ७ खर्ब १ अर्ब रुपैयाँ राजस्व उठाउन लक्ष्य दिइएको छ । आन्तरिक राजस्वले गत आवको भन्दा ३३.३ प्रतिशत बढी राजस्व उठाउनुपर्ने भएको हो ।

गत आव आन्तरिक राजस्वतर्फ ५ खर्ब २६ अर्ब रुपैयाँ राजस्व परिचालन भएको थियो ।

आन्तरिक राजस्वले आन्तरिक उत्पादनतर्फको मूल्य अभिवृद्धि कर, आयकर, अन्तःशुल्क, शिक्षा सेवा कर, स्वास्थ्य सेवा कर आदि उठाउँछ ।

नयाँ आर्थिक वर्ष कुल राजस्वमा आन्तरिक राजस्वको हिस्सा ४९.४० प्रतिशत बनाउने लक्ष्य राखिएको छ । यो लक्ष्य गत आव हासिल भएको ४९.७२ प्रतिशतभन्दा घटेको हो ।

०००
सरकारले आगाी आर्थिक वर्ष गैरकरबाट १ खर्ब ३५ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ । जुन गत आव उठेको १ खर्ब १४ अर्ब भन्दा १८.४ प्रतिशत बढी हो ।

गत आव उठेको राजस्वमा गैरकरको हिस्सा १०.७८ प्रतिशत रहेकामा नयाँ आवमा यस्तो हिस्सा ९.५१ प्रतिशत कायम हुनेछ ।

०००
सरकारले चालु आर्थिक वर्षमा १४ खर्ब १९ अर्ब रुपैयाँ राजस्व परिचालन गर्ने लक्ष्य लिएको छ । जुन गत आव संकलन भएको भन्दा ३१.३ प्रतिशत बढी हो ।

गत आव २४ अर्ब रुपैयाँ बराबरको अन्य प्राप्तिसमेत १० खर्ब ८२ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो ।


क्लिकमान्डु