चोभार सुक्खा बन्दरगाहमा जाँच पासका लागि तातोपानीबाट सवारी साधन आउन सुरु

238
Shares

काठमाडौं । तातोपानी नाकाबाट भित्रिने मालवाहक सवारी साधनको भन्सार जाँचपास अबदेखि काठमाडौंको चोभारस्थित सुक्खा बन्दरगाहबाट पनि सुरु भएको छ ।

अहिलेसम्म यो बन्दरगाहमा वीरगञ्जबाट आएको कन्टेनराइज्ड कार्गो र नयाँ सवारी साधनको भन्सार जाँच पास हुँदै आएको थियो ।

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार बिहिबारदेखि तातोपानीबाट आएका मालवाहक सवारी साधनको जाँचपास पनि चोभार बन्दरगाहमा हुन थालेको हो ।

२०७८ चैत देखि सञ्चालनमा आएको चोभार सुक्खा बन्दरगाहमा बिहिबार तातोपानी नाकामार्फत कोभेक–क्रिग–कालिका जोइन्ट भेन्चर कम्पनीले आयात गरेको हाइड्रोपावरको सामान बोकेको ४ वटा कन्टेनरहरु जाँचपास गरिएको थियो ।

अर्थ मन्त्रालयले गत कात्तिकमा राजपत्रमा सूचना प्रकाशित गरी तातोपानी र रसुवा भन्सार कार्यालयबाट आन्तरिक परिवहनको लागि सामान ल्याउन चाहने पैठारीकर्ताको लागि जाँचपासको लागि चोभार सुक्खा बन्दरगाह तोकेको थियो ।

यसअघि दक्षिणी नाकाहरु वीरगञ्ज, विराटनगर, काँकडभिट्टा र भैरहवा भन्सार कार्यालयबाट आएका सामानको मात्रै चोभार सुक्खा बन्दरगाहमा भन्सार जाँचपास हुने व्यवस्था थियो ।

तातोपानी नाकाबाट समेत भन्सार जाँचपासको लागि कन्टेनराइज्ड मालवस्तु आउन थालेपछि चोभार सुक्खा बन्दरगाहमा थप चहलपहल बढ्न थालेको र उक्त सुक्खा बन्दरगाह पूर्ण क्षमतामा सञ्चालनमा ल्याउनको लागि थप सहयोग पुगेको समितिका कार्यकारी निर्देशक गजुरेलले बताए ।

आगामी दिनमा रसुवानाकाबाट पनि भन्सार जाँचपास गर्न सवारी साधन तथा कन्टेनर आउने वातावरण बनेको छ । काठमाडौंमा आयात हुने सामान र काठमाडौं वरिपरीबाट निर्यात गर्न चोभार सुक्खा बन्दरगाहबाट स्तरीय सेवा दिइने हुँदा यस बन्दरगाहको अधिकतम प्रयोग गर्न गजुरेलले आग्रह समेत गरेका छन् ।