मौद्रिक नीति आज सार्वजनिक हुने, राष्ट्र बैंक सञ्चालक समितिको बैठक बस्दै



काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति आज सार्वजनिक गर्दै छ । गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति पास गर्न शुक्रबार बिहान सञ्चालक समितिको बैठकको बोलाएको बताए ।

‘मौद्रिक नीति पास गर्नका लागि शुक्रबार बिहान ८ बजे बैठक बोलाएको छु’ अधिकारीले क्लिकमान्डुसँग भने ।

एक साताअघि नै सार्वजनिक हुने भनिएको मौद्रिक नीति रोकिएको थियो ।

मौद्रिक नीतिको मस्यौदा व्यवस्थापन समितिले पास गरिसकेकाले पुनः व्यवस्थापन समिति बैठक बस्ने छैन । सीधै सञ्चालक समितिले अनुमोदन गरेपछि शुक्रबार नै मौद्रिक नीति सार्वजनिक हुँदैछ ।

गत शुक्रबार नै सार्वजनिक हुने भनिएको मौद्रिक नीतिमा प्रधानमन्त्रीको कार्यालयबाट ‘एकपल्ट हेर्ने’ कुरा आएपछि मुखैमा रोकिएकामा एक सातापछि सार्वजनिक हुने भएको हो ।

गत शुक्रबार बोलाइएको नेपाल राष्ट्र बैंकको सञ्चालक समिति बैठकमा गभर्नर महाप्रसाद अधिकारीले आफू तयार नभएको भनेर छलफल गरेका थिएनन् ।

राष्ट्र बैंककै पूर्वगभर्नर तथा अर्थमन्त्रीसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीका नवनियुक्त आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडाले मौद्रिक नीतिको मस्यौदा हेर्न चाहेपछि मौद्रिक नीति रोकिएको थियो ।

एक साताको समय लगाएर प्रधानमन्त्रीको कार्यालयबाट परिमार्जनसहितको मौद्रिक नीति मस्यौदा आएपछि शुक्रबार सार्वजनिक गर्न लागिएको हो ।


क्लिकमान्डु