गत आर्थिक वर्षको मौद्रिक नीति कति सफल ? (भिडियो)



काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि शुक्रबार आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । गत शुक्रबार नै सार्वजनिक हुने भनिएको मौद्रिक नीतिमा प्रधानमन्त्रीको कार्यालबाट ‘एकपल्ट हेर्ने’ भनेपछि रोकिएको थियो ।

समष्टिगत आर्थिक स्थायित्व कायम गर्न तरलता व्यवस्थापन गर्दै कर्जा प्रवाह र ब्याजदरलाई प्रवाहित गर्ने काम मौद्रिक नीतिले गर्दछ । मौद्रिक नीतिले अर्थतन्त्रमा आवश्यक मात्रामा तरलता वा मुद्राको मात्राको उपलब्धता सुनिश्चित गरी समष्टिगत आर्थिक स्थिरता कायम गर्न भूमिका खेल्दछ ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा नेपाल राष्ट्र बैंकले वार्षिक रूपमा मौद्रिक नीति तर्जुमा गरेर सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिपछि आर्थिक वर्ष २०५९/६० देखि नेपाल राष्ट्र बैंकले वार्षिक रूपमा मौद्रिक नीति तर्जुमा गरी गर्भनरबाट सार्वजनिक गर्ने व्यवस्थाको सुरुवात भएको थियो ।

नेपाल सरकारको बजेटले अंगीकार गरेको आर्थिक वृद्धिदर र मुद्रास्फीति दरलाई आत्मसात् गरी समष्टिगत आर्थिक स्थायित्वमा दखल नपुग्ने गरी मौद्रिक तथा कर्जा योगांकहरूको वृद्धिदर निर्धारण गरिन्छ । उक्त वृद्धिदरहरूलाई सहयोग पुग्ने गरी मौद्रिक नीतिका उपकरणहरू निर्धारण गरिन्छ । हाल प्रयोग गरिरहेका उपकरणहरू अनिवार्य नगद अनुपात, बैंक दर, खुला बजार कारोबार हुन् । त्यसबाहेक केन्द्रीय बैंकले विभिन्न नियामकीय व्यवस्था हेरफेरको उद्घोष पनि मौद्रिक नीतिमार्फत् नै गर्दछ ।

नयाँ आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्नु अघि गत आर्थिक वर्षको मौद्रिक नीति र मौद्रिक नीतिले अघि सारेका नियामकीय प्रबन्ध कुन हदसम्म कार्यान्वयन भयो भन्ने पनि उत्तिकै महत्व राख्दछ । मौद्रिक नीतिको सफलतालाई अर्थतन्त्रको व्यवस्थापनमा सफलता हासिल भएको भनेर पनि बुझिन्छ ।

यस भिडियोमा हामी आर्थिक स्थायित्व र मौद्रिक लक्ष्य हासिल गर्न गत आवको मौद्रिक नीति कति हदसम्म सफल भयो भन्नेबारे ।

नेपाल राष्ट्र बैंकले नीतिगत दरलाई ५० आधार बिन्दुले घटाई ६.५ प्रतिशत कायम गरेको थियो । केन्द्रीय बैंकको मौद्रिक नीति कार्यदिशा सजगतापूर्व लचिलो रहेको छ ।

राष्ट्र बैंकको मौद्रिक लक्ष्यअनुसार अन्तर बैंक दर ३ प्रतिशतको हाराहारीमै बसेको छ । कम्तिमा ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने गरी विदेशी विनिमय सञ्चिति कायम गर्ने लक्ष्य लिइकामा १५.१ महिनाको वस्तु र १२.६ महिनाको वस्तु तथा सेवा आयात गर्न पर्याप्त रहेको देखिन्छ ।

यसैगरी मुद्रास्फीतिलाई ६.५ प्रतिशतभित्र कायम राख्ने लक्ष्यअनुसार २०८१ जेठमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१७ प्रतिशत रहेको छ । गत आवको ११ महिनामा विस्तृत मुद्राप्रदाय १२.५ प्रतिशत र बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ जाने कर्जा ११.५ प्रतिशतसम्मले वृद्धि हुने लक्ष्य लिइएकामा ११ महिनामा विस्तृत मुद्राप्रदाय ९.१ प्रतिशत र कर्जाको वृद्धिदर ५.१ प्रतिशत रहेको छ ।

संक्षेपमा भन्नुपर्दा आव २०८०/८१ को मौद्रिक नीतिका ३७ मध्ये २८ व्यवस्था पुर्णरुपमा कार्यान्वयनमा भएका छन् । ती व्यवस्था कार्यान्वयनमार्फत् कुन परिमाणको लक्ष्य हासिल भयो भन्ने विस्तृत विवरण आव २०८१/८२ को मौद्रिक नीतिमा राष्ट्र बैंकले उल्लेख गर्नेछ ।


क्लिकमान्डु