दिपाल र ओमोडा कारको कर छली: अरु देशमा मोटरको पिक पावर १५० किलोवाट, नेपालमा ९९ मात्र



काठमाडौं । चांगन मोटर्सको दिपाल र चेरीको ओमोडा इलेक्ट्रिक कारले भन्सार छल्न मोटरको पिक पावर घटाएको पाइएको छ । अन्य देशमा उपलब्ध हुने यी कारमा जडान गरिएको मोटरको अधिकतम क्षमता १५० किलोवाट रहे पनि नेपालमा भने ९९ किलोवाटको भित्र्याइने गरिएको हो ।

चांगनको दिपाल कार नेपाली बजारमा एमएडब्लू इन्टरप्राइजेज अन्तगर्तको एमएडब्लू वृद्धि अटोकर्पले बिक्री गदै आएको छ । यस्तै चेरीको ओमाडा शारडा ग्रुप अन्तर्गतको एसपीजी अटोमोबाइल्सले विक्रिी वितरण गर्दै आएको छ ।

रमाइलो कुरा त के छ भने नेपालमा उपलब्ध यी दुवै कारमा जडित मोटरको पिक पावर ९९ किलोवाट छ ।

नेपालमा १०० किलोवाटभन्दा बढी मोटर पिक पावर रहेका विद्युतीय सवारीलाई बढी कर लाग्छ । ५१ देखि १०० किलोवाटसम्मका ईभीमा ५० प्रतिशत थियो । बजेटबाट कर बढाएर अहिले ६३ प्रतिशत पुर्‍याइएको छ ।  १०१ देखि २०० किलोवाटसम्म ७१ प्रतिशतबाट ८५ प्रतिशत बनाइएको छ । अर्थात १०१ देखि २०० किलोवाटका ईभीले ८५ प्रतिशत कर तिर्नुपर्छ ।

सरकारको यही व्यवस्थाअनुसार धेरै भन्सार तिर्नबाट जोगिन यी कम्पनीले नेपालमा कम क्षमताको गाडि उपलब्ध गराउने गरेका हुन् ।

यसअघि राजस्व अनुसन्धान विभागले एट्टो थ्री नामक मोडलमा यस्तै काम गरेको भन्दै बीवाईडीको नेपालका लागि आधिकारित विक्रेता साइमेक्स इंकमा छापा हानेको छ ।

अचम्मको कुरा त के छ भने विदेशमा उपलब्ध हुने एट्टो थ्रीसँगै ओमोडा ई फाइभ र चांगनको दिपाल एल०७ ले दिने टर्क र नेपालमा पाइने ती कारले दिने टर्क बराबर छ ।

पेट्रोलियम कारमा सीसी भने झैं विद्युतीय सवारीमा मोटरको पिक पावर हुन्छ । जति धेरै मोटरको पिक पावर उति ठूलो क्षमता हुने भन्ने बुझिन्छ । जसअनुसार कम पिक पावर भएको मोटरले दिने टर्क (सामान्य भाषामा भन्नुपर्दा ‘पिकअक’) बढी पिक पावरले दिनेभन्दा कम हुनुपर्छ ।

नेपालको उपलब्ध हुने ओमोडा ई५ को मोटर पावर ९९ किलोवाटमात्र छ । जबकि चिनियाँ यो कार कम्पनीले विश्वका अन्य बजारमा १५० किलोवाटको कार पठाउँछ ।

यसैगरी नेपालमा उपलब्ध हुने दिपाल एल०७ को पिक मोटर पावर ९९ किलोवाटमात्र छ । जबकि चिनियाँ यो कार कम्पनीले विश्वबजारमा उपलब्ध गराउने दिपाल एल०७ मा १९० किलोवाटको मोटर दिइएको छ । दिपाललाई सन्लान पनि भनेर चिनिन्छ ।

ओमोडाको टर्क ३४० एनएम छ भने दिपालको ३२० एनएम छ । यो अन्य देशमा उपलब्ध ठूलो मोटर क्षमताको मोडलबराबर हो।

यस्तै प्रकारको प्रवृत्ति एट्टोथ्रीमा पनि देखिएका कारण राजस्व अनुसन्धानले सो कार ल्याउने कम्पनीमा छापा हानेको थियो ।


क्लिकमान्डु