प्रधानमन्त्री कार्यालयमा एनसेलको सेयर किनबेचबारे छलफल गर्दै सत्ता गठबन्धन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर खरिद बिक्री विषयमा सत्तारुढ दलहरुसँग छलफल गरेका छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा एनसेलको सेयर खरिद बिक्री विषयमा छलफल गरिएको छ ।
छलफलमा प्रधानमन्त्रीसँग नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र मन्त्रीहरु सहभागी छन् ।
बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महत, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, कानुनमन्त्री धनराज गुरुङका साथै नेपाल दूरसञ्चार प्राधिकरण र कर कार्यालयका प्रमुखहरु पनि छन् ।
यसका साथै, एनसेलको खरिद बिक्रीका सम्बन्धमा आएका समाचारका बारे छलफल गर्न संसदका विभिन्न समितिहरुले धमाधम बैठक बोलाउन थालेका छन् ।
प्रतिनिधि सभा अन्तर्गतका सार्वजनिक लेखा समिति, अर्थ समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति अनि उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले एनसेलको सेयर खरिद बिक्रीका सम्बन्धमा विषयमा छलफल चलाउने भएका हुन् ।
लेखा समितिले बुधबार २ बजेका लागि आन्तरिक बैठक बोलाएको छ भने अर्थ समितिले पनि बुधबार ११ बजे एनसेलका बारेमा छलफल गर्ने भएको छ ।
मलेसियन कम्पनी आजियटाले गत शुक्रबार एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर रहेको रेनोल्ड होल्डिङ बेलायतमा दर्ता भएको स्पेक्ट्रलाइट युके लिमिटेडलाई ५ करोड अमेरिकी डलरमा बेच्ने निर्णय गरेको सुचना सार्वजनिक भएपछि यो वहस सतहमा आएको छ।
लेखा समितिले एनसेलको सेयर खरिद बिक्रीका सम्बन्धमा सरोकारवाला पक्षसँग आइतबार नै ९ बुँदे जवाफ माग गरिसकेको छ ।