एनसेलको सेयर साढे ६ अर्बमा बिक्री, शतिशलाल आचार्यको स्पेक्ट्रलाइट यूकेले किन्यो



काठमाडौं । आजियटाले ६ अर्ब ६५ करोड रुपैयाँमा स्पेक्ट्रलाइट यूकेलाई एनसेल बेचेको छ । आजियटा समूहले ८० प्रतिशत स्वामित्व रहेको रेनोल्डस् होल्डिङ लिमिटेडलाई स्पेक्ट्रलाइट यूके लिमिटेडसँग बिनासर्त बिक्री गर्ने सम्झौता गरेको हो ।

स्पेक्ट्रलाइट यूके नेपाली मूलका सिंगापुर निवासी शतिशलाल आचार्यको कम्पनी हो । स्पेक्ट्रलाइट दुई महिनाअघि मात्रै सन् २०२३ सेप्टेम्बरमा खुलेको कम्पनी हो । कम्पनीमा शतिशलाल आचार्य र डेन्टन्स् सेक्रेटरिज लिमिटेडको संयुक्त लगानी छ । आचार्य एनसेलमा २० प्रतिशत हिस्सा भएको सुनिभेरा क्यापिटल भेन्चर्सका संचालक पनि हुन् ।

कम्पनी खुल्नु र आजियटाले आफ्नो सेयर बिक्री गर्ने निर्णय गर्नु एकै समयमा हुनु संयोगमात्र नहुनसक्छ । सेप्टेम्बर २९ मा आजियटाको बोर्डले आफ्नो सेयर बेच्ने निर्णय गरेको विज्ञप्तिमा जनाएको छ । तर, विज्ञप्ति २ महिनापछि नोभेम्बर २९ मा सार्वजनिक गरिएको थियो ।

नेपालबाट फिर्ता जाने आजियटाको निर्णय नेपालको व्यावसायिक वातावरणको गहन मूल्यांकनमा आधारित भएको भन्दै आजियटाले अनुचित कर र नियामक अनिश्चितताको वर्तमान परिस्थितिमा सञ्चालन जारी राख्नु ठिक नभएको निष्कर्षमा पुगेको थियो ।

आजियटाले सन् २०१६ मा एनसेलमा रहेको रेनोल्डस् होल्डिङको ८० प्रतिशत सेयर १ खर्ब ४३ अर्ब रुपैयाँमा खरिद गरेको थियो ।

दोहोरो करको परिदृश्यबाट उत्पन्न हुने आसन्न र अस्तित्वको जोखिमलाई ध्यानमा राख्दै र सन् २०२९ मा कम्पनीको इजाजतपत्रको म्याद समाप्त हुने अतिरिक्त जोखिम, त्यसपछि आजियटाको हिस्सेदारी स्वत: सरकारको नाममा जाने र नेपालमा विदेशी लगानी संरक्षणको प्रतिकूल वातावरणलाई ध्यानमा राख्दै आजियटाले एनसेलको सेयर बिक्री गर्ने निर्णय लिएको जनाएको छ ।

आजियटाले ५ करोड अमेरिकी डलरमा आफ्नो स्वामित्वको सेयर बेचेको स्पष्ट पारेको छ । जसमध्ये ५० लाख डलर ६ महिनाभित्र र बाँकी चार वर्षपछि भुक्तानी गर्ने गरी बेचेको प्रेस विज्ञप्तिमा जनाएको छ ।

आजियटा र एनसेलले नेपालको राष्ट्रिय विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको आजियाटाका अध्यक्ष तान सहरिल रिड्जा रिड्जुआनले बताएका छन् ।

अनुमतिबिना नै एनसेलको सेयर बिक्री, दूरसञ्चार प्राधिकरणले माग्यो आजियटासँग स्पष्टीकरण

सात वर्षको अवधिमा एनसेलले आजियटालाई २ अर्ब २० करोड मलेसियन रिंगिट लाभांश दिएको छ । ‘लाभांश लैजान नेपाल सरकारले सहज अनुमति दिएको छ,’ उनले भने, ‘बिक्री बन्द हुनु र नेपालबाट हाम्रो बाहिरिने प्रक्रिया पूरा हुनुले हामीलाई हाम्रो रणनीतिक प्राथमिकताहरूमा ध्यान केन्द्रित गर्न सक्षम बनाउँछ ।’

आजियाटाको अनुकूल अवस्था, अनिश्चित नियामक र कर वातावरण र सन् २०२९ मा मोबाइल इजाजतपत्रको म्याद सकिने जोखिमका कारण नेपालमा आफ्नो यात्रा जारी राख्न नसक्ने निष्कर्षमा आजियटा बोर्ड पुगेको आजियटाका समूह प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक विवेक सुदले बताए ।


क्लिकमान्डु