अनुमतिबिना नै एनसेलको सेयर बिक्री, दूरसञ्चार प्राधिकरणले माग्यो आजियटासँग स्पष्टीकरण



काठमाडौं । नेपालको दूरसञ्चार क्षेत्रको नियामक निकाय दूरसञ्चार प्राधिकरणको स्वीकृतिबिना नै एनसेलको सेयर खरिद-बिक्री भएको पुष्टि भएको छ ।

एनसेलको सेयर खरिद-बिक्रीको विषयमा प्राधिकरणले शुक्रबार आजियटालाई सेयर बिक्रीको विषयमा जानकारी दिन पत्र लेख्दै स्पष्टीकरण मागेको हो । आजियटाले एनसेलको ८० प्रतिशत सेयर बिक्री गर्ने निर्णय दुई महिना अगाडि गरेको भएपनि बुधबारमात्रै सार्वजनिक गरेको थियो ।

प्राधिकरणको पत्रमा भनिएको छ, ‘एनसेलको माउ कम्पनी आजियटाको सेयर बिक्री तथा हक हस्तान्तरण गर्न लागिएको सार्वजनिक सञ्चारमाध्यमबाट भएको छ । प्रकाशित समाचारको विषयमा प्राधिकरणको ध्यानाकर्षण भएको छ ।’

दूरसञ्चार नियमावली २०५४ को नियम १५ (८) बमोजिम चुक्ता पुँजीको ५ प्रतिशतभन्दा बढी सेयर खरिद वा बिक्री गर्नुअघि प्राधिकरणको स्वीकृति लिनुपर्ने व्यवस्था छ ।

नेपाल दूरसञ्चार प्राधिकरण (अनुमतिपत्र प्राप्त व्यक्तिले सेयर खरिद बिक्री) विनियमावली, २०७६ को विनियम ४ (क) बमोजिम अनुमतिपत्र प्राप्त व्यक्तिले सेयरधनीको सेयर खरिद-बिक्री वा नामसारी गर्नुपूर्व प्राधिकरणको स्वीकृति प्राप्त गर्नुपर्ने व्यवस्था रहेकाले त्यसअनुरूप गर्न/गराउन प्राधिकरणले स्पष्ट पारेको छ ।


क्लिकमान्डु