एनसेलको सेयर बेच्ने आजियटाको निर्णयविरुद्धको रिटमा अदालतले छलफलका लागि बोलायो



काठमाडौं । आजियटा समूह नेपाली दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलबाट बाहिरिने निर्णयविरुद्ध परेको रिटमा उच्च अदालतल पाटनले दुवै पक्षलाई छलफलमा बोलाएको छ ।

आफ्नो स्वामित्वमा रहेको एनसेलको सेयर बिक्री गरेर बाहिरिने आजियटाको निर्णय सार्वजनिक भएसँगै त्यसविरुद्ध गोकुलबहादुर रोकायाले उच्च अदालतमा रिट दायर गरेका थिए ।

शुक्रबार न्यायाधीश दीपेन्द्र अधिकारीको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै र अन्तरिम आदेशका लागि छलफलमा झिकाउन भनेको छ ।

मंसिर २५ गते दुबै पक्षलाई छलफलमा बोलाउने गरी आदेश जारी भएको छ ।यसमा निवेदकले अन्तरिम आदेशसमेत माग गरेको देखिएको र निवेदकले निवेदनमा उल्लेख गरेको विषयवस्तु र आजियटा ग्रुपबाट एनसेलको टीमलाई जानकारी गराएको सूचना समेतका सन्दर्भमा हेर्दा दुवै पक्षको छलफद्य सुनि अन्तिरम आदेश जारी हुने नहुने सम्बधन्धमा आदेश जारी गर्नु उपयुक्त र मनासिव देखिँदा मिति २०८०/८/२५ को छलफल पेशी तोकी सोको सूचना पक्षहरुलाई रितपूर्वक दिई नियमानुसार पेश गर्नुहोला’ आदेशमा भनिएको छ ।

सञ्चालक समितिले नेपालको अवस्था चुनौतीपूर्ण रहेकाले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गरेर बाहिरिने निर्णय गरेको आजियटाले जनाएको थियो ।

कम्पनीकाअनुसार बोर्डले नेपालबाट बाहिरिने र एनसेलमा रहेको सेयरहरुलाई बिक्रीका लागि राख्ने निर्णय गरेको हो । कम्पनीले भनेको छ, ‘हामीलाई लागछ हाम्रो यो कदमले आफ्ना रणनैतिक प्राथमिकताहरुलाई पुरा गर्नेछन् र हाम्रा लगानीकर्ताहरुको दीर्घकालिन फाइदामा सहयोग पुर्याउनेछन् ।’


क्लिकमान्डु