हेलो सरकारमा आएको गुनासो प्रधानमन्त्रीको निर्देशनपछि २४ घण्टाभित्रै सम्बोधन



काठमाडौं । आइतबार दिउँसो सिंहदरबारमा हेलो सरकार २४ सै घण्टा (३ सिफ्ट) सञ्चालन गर्ने कार्यक्रमको आरम्भ गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोलखाको बिगु गाउँपालिका-४ सिंगटीमा मानव बस्तीभन्दा माथि रहेको ठूलो ढुंगोका कारण ३२ घरधुरी जोखिममा परेको जनगुनासो सुन्दै उक्त गुनासो सम्बोधनका लागि रक्षा सचिव किरणराज पौडेललाई निर्देशन दिएका थिए ।

प्रधानमन्त्रीको निर्देशनपछि आइतबार बेलुका नै नेपाली सेनाको टोली सिंगटीमा पुगेर सोमबार बिहानैदेखि कार्यप्रारम्भ गरेको रक्षासचिव पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार बस्तीमाथि रहेको ढुंगो विस्फोट गरी हटाउने कार्य सुरू गरिएको र उक्त कार्यक्रम सम्पन्न गर्न एक हप्ताजति समय लाग्नेछ । ‘प्रधानमन्त्रीको निर्देशनलगत्तै नेपाली सेनाको टोली सम्बन्धित स्थानमा पुगेर काम सुरू गरिसकेको छ । ढुंगो निकै ठूलो छ, एकैपटक विस्फोट गर्दा ढुंगाले बस्तीमा असर पर्न सक्छ । त्यसैले बस्तीलाई असर नपर्ने गरी ढुंगो हटाउने कार्य भइरहेको छ,’ उनले भने ।

आइतबार हेलो सरकारको २४सै घण्टा सेवा आरम्भ गर्ने कार्यक्रममा दोलखाका सेवाग्राहीले बस्तीमाथि पहिरो आई ठूलो ढुंगो अड्किएर बसेको र सो ढुंगाको कारण ३२ घरधुरी विस्थापित हुनुका साथै सरकारी संरचनासमेत जोखिममा रहेको गुनासो टिपाएका थिए ।


रवि धिताल