सुन तस्करी हुँदा ड्युटीमा रहेका २ कर्मचारीलाई भन्सार विभागले गर्‍यो निलम्बन



काठमाडौं । भन्सार विभागले सुन तस्कारीमा संलग्न भएको आरोपमा दुई जना कर्मचारीलाई निलम्बन गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा कार्यरत भन्सार अधिकृत सन्तोष चन्द र नायब सुब्बा ढकाललाई निलम्बन गरिएको विभागका सूचना अधिकारी पुण्य बिक्रम खड्काले जानकारी दिए ।

‘सुन भेटिएको सामान जाँचपास गर्दा उहाँहरु डिउटीमा हुनुहुन्थ्यो भन्ने पत्र विमानस्थल भन्सार कार्यालयले पठाएपछि थप छानबिन गर्न उहाँहरुलाई निलम्बन गरिएको हो,’ खड्काले भने,‘ विभागले गर्ने थप अनुसन्धानबाट अरु को को संल्गन छन् भन्ने खुल्छ ।’

बुधबार बेलुका राजस्व अनुसन्धान विभागले भन्सार जाँचपास भएर बाहिरिएको अवस्थामा सुन नियन्त्रणमा लिएको थियो । व्यवसायीहरुले स्कुटर र मोटरसाइकलमा प्रयोग हुने १६० ब्रेक सुजभित्र सुन लुकाएर ल्याएका थिए ।

भन्सार प्रणालीमा चेक जाँच गर्दा सुन पहिचान नहुनु शंकास्पद भएपछि कर्मचारीलाई निलम्बन गरिएको भन्सार विभागले जनाएको छ।


क्लिकमान्डु