ठमेलमा क्लबमा पसेर व्यवसायीमाथि मुक्का प्रहार गर्ने गुन्डा नाइके सानुभाइसहित ५ जना पक्राउ



काठमाडौं । ठमेलस्थित एक क्लबमा समूहसहित प्रवेश गरि व्यवसायीमाथि कुटपीट गर्ने गुण्डा नाइके सानुभाइ भनिने युवराज गुरुङसहित ५ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले पोखराबाट काठमाडौं आउँदै गरेका गुरुङलाई पक्राउ गरेको उपत्यका प्रहरी कार्यालय प्रमुख एआईजी श्याम ज्ञवालीले बताए ।

पक्राउ पर्ने अन्यमा टोखाका ३३ वर्षीय विक्रम अधिकारी, तनहुँ दमौलीका ३२ वर्षीय सुवास कायस्थ, तनहुँ दमौलीकै ३० वर्षीय सुरज कायस्थ र नुवाकोट पञ्चकन्या- ५ का कमल तामाङ छन् । उक्त समूहका दुईजनालाई यसअघि नै प्रहरीले पक्राउ गरिसकेको थियो । यससँगै यो घटनामा संलग्न भएको आरोपमा पक्राउ पर्नेको संख्या ७ पुगेको छ ।

नुवाकोट सूर्यगढी गाँउपालिका–१ घर भएका राजेन्द्र गुरुङले ठमेलमा सञ्चालन गरेको ओम्निया क्लबमा ग्याङसहित छिरेर सानुभाइले कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो ।

उक्त समूहले क्लब सञ्चालक राजेन्द्र गुरुङ, बाउन्सर र कर्मचारीलाई कुटपिट गरेपछि सञ्चालक प्रहरीमा पुगेका थिए । युवराज र क्लब सञ्चालकबीच लेनदेनको कारोबार रहेको जनाइएको छ ।

सानुभाई केही वर्षअघि इन्काउन्टरमा मारिएका गुण्डा नाइके कुमार घैंटे समूहका हुन् । घैंटेको मुख्य सहयोगी भएर उनले काम गर्ने गरेका थिए । घैंटेको इन्काउन्टरपछि सुरक्षा अपनाउन भन्दै सानुभाइ बुलेटप्रुफ ज्याकेट लगाएर हिँड्थे ।

बुलेटप्रुफ ज्याकेट लगाएर हिँड्दै गरेको बेला २०७२ सालमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । त्यतिबेला उनको साथबाट पेस्तोल र गोलीसमेत बरामद भएको थियो । तर राजनीतिक दबाबका कारण त्यतिबेला उनीमाथि कुनै कारबाही भएको थिएन । उनी कांग्रेस निकट हुन् ।


क्लिकमान्डु