सीए पढ्दा मृगेन्द्रलाई फुरेको बिजनेश आइडिया, १० लाखमा खुलेको ‘वासमान्डू’को कारोबार डेढ करोड



काठमाडौं । मृगेन्द्र कर्ण त्यो बेला भक्तपुरको राधेराधेमा बस्थे । उनी बस्ने क्षेत्रमा पानीको निकै समस्या थियो । प्रयोग गर्नका लागि पानीको उपलब्धतादेखि पानी फ्याँक्ने कुरामा पनि उत्तिकै समस्या भोग्नु पर्थ्यो ।

‘त्यो बेला नै मलाई लन्ड्रीको कन्सेप्ट आएको थियो,’ मृगेन्द्र सम्झिन्छन्, ‘पछि रिचर्स गर्दै गएँ । पौराणिक ढंगमा के हुन्थ्यो भने धोवीहरुले म्यानुअलरुपमा गरिरहेका थिए । मिहेनत उनीहरुको परिरहेको थियो । त्यो हुँदा प्रतिकपडाले चार्ज गरिन्थ्यो । तर, यहाँ हुने भनेको त मेसिनबाट हुने हो । मेसिनमा प्रतिकेजीको हिसाब हुन्छ ।’

मृगेन्द्र त्यो बेला भारतबाट आफ्नो अध्ययनलाई बीचैमा छाडेर नेपाल आएका थिए । नेपालमै केही व्यवसाय गर्ने सोच थियो उनको । त्यहीबेला लन्ड्री व्यवसायको विषयमा उनी बुझ्न थालेका थिए ।

सुरुवातमा पौराणिक अवस्थादेखि बुझ्दै गएका मृगेन्द्रले पछि वर्तमान अवस्थामा के कसरी हुन्छ भन्ने बुझ्न थाले । उनी भन्छन्, ‘किन प्रतिकोटाले गर्ने ? प्रति केजीको हिसाबले गरौं न भन्ने लाग्यो ।’

भारतमा बस्दादेखि नै मृगेन्द्रले अनलाइनमार्फत् ‘पिक एण्ड ड्रप’को कन्सेप्टमा काम भइरहेको देखेका थिए । नेपालमा पनि इन्टरनेटको प्रयोग र उपलब्धतामा वृद्धि हुँदै गएको थियो । उनले कपडा धुने व्यवसायलाई इन्टरनेटको प्रयोग र ‘पिक एण्ड ड्रप’को रुपमा सुरु गर्ने सोचे ।

‘विश्वभर नै पिकअप डेलिभरको कल्चर आइसकेको छ घरबाटै,’ उनी भन्छन्, ‘तपाईं आफैंले पनि भोगिरहनु भएको होला, घरमा एउटा ब्ल्यांकेट थन्किरहेको छ । अल्छीले गर्दा मात्र नजिकको लन्ड्रीमा दिन गइरहनु भएको छैन । त्यस्तो माध्यम एउटा हामी घरबाटै उठाउँछौं भन्ने कुराहरुबाटै सोचहरु आइरहेको थियो ।’

यही सोच परिस्कृत हुँदै गयो । परिवर्तन र परिमार्जनपछि मृगेन्द्रले २०७४ मा ‘वासमान्डू’ सुरु गरे । ‘वासमान्डू’ अर्थात् अनलाइनबाटै लन्ड्रीको सुविधा लिन मिल्ने ठाउँ । त्यसमा पनि चलिरहेको प्रतिगोटा नभएर प्रतिकेजीका दरले कपडा धुन मिल्थ्यो।

‘वासमान्डू’ सुरु गर्नुअघि चार्डर्ड एकोउन्टेन्ड पढ्नका लागि भारतको दिल्लीमा रहेका मृगेन्द्रले त्यहाँ पनि यो व्यवसायलाई नियालेका थिए । त्यहाँ पनि प्रतिकेजीका दरले कपडा धुने गरिन्थ्यो । तर, सुकाएर ल्याउने चलन थिएन । ग्राहक आफैंले सुकाउनुपथ्र्यो ।

‘त्यहाँबाट हल्का रिफ्रेन्स आयो,’ मृगेन्द्र भन्छन्, ‘सीए पढ्दापढ्दै २०६९ बाट कन्सेप्ट आएको थियो । तर, २०७४ बाट मात्रै एउटा प्लेटफर्म बनाएर व्यवसाय शुरु गरेँ ।’

मृगेन्द्रलाई व्यवसाय गर्ने रुचि पहिल्यैबाट थियो । जनकपुरमा स्थायी घर भएका उनको परिवार व्यवसायीक पृष्ठभूमिबाट त थिएन् । तर, उनमा भने व्यवसाय गर्ने हुटहुटी थियो ।

सोच आउँदाको बखत प्रायः अरुजस्तै आफूपनि धेरै आशावादी भएको सम्झिन्छन् उनी । भन्छन्, ‘एउटा मेसिनले १० केजी धुन्छ । दिनभरिमा ८ घण्टा काम गर्दा सयदेखि डेढ सय केजी यत्तिकै धुन सकिन्छ भन्ने कन्सेप्ट थियो । काम गर्दै जाँदा धेरै समस्याहरु खेप्नु पर्छ । खेप्दै जाँदा धेरै कुरा बुझियो ।’

बुझ्दै र सिक्दै जाँदा अहिलेको अवस्थामा आइपुगेको बताउँछन् मृगेन्द्र । समस्याहरुले नै निर्खादै गएको मान्छन् उनी ।

२०७४ बाटै वासमान्डूले आफ्नो प्लान्टलाई शान्तिनगरको प्रयागमार्गमा राखेको छ । बीचमा अन्य ठाउँमा पनि काम भएको थियो । तर, स्थायी रुपमा भने शान्तिनगरमै करिब १० आना क्षेत्रफलमा वासमान्डू सञ्चालनमा रहेको छ ।

‘पहिला यस्तो थियो । एडभान्स टुलभन्दा पनि सबैतिर हुने एउटै हो मेसिन,’ उनी भन्छन्, ‘मेसिनको एउटै प्रक्रिया हो । कति ठोस हो होइन त्यो छुट्टै कुरा हो । तर, पब्लिकका लागि कमर्सियल मेसिन त्यति धेरै चाहिँदैन । यो सानै मेसिन सबैले प्रयोग गरिरहेका छन् बाहिर पनि ।’

व्यवसाय सुरु गर्दा मृगेन्द्रले १० लाख रुपैयाँ लगानी गरेका थिए । आफूसँग भएको स्रोतमध्येको धेरै अंश कन्स्ट्रक्सनमै खर्चिएको सम्झिन्छन् उनी । ‘मसँग १० लाख जति थियो । १० लाखमा त्यत्ति हिसाब गर्न सकिनँ मैले पनि । कन्स्ट्रसनदेखि जग्गाको कुराहरु थियो । यसलाई बनाउनु पर्ने थियो । मेरो धेरै पैसा कन्स्ट्रक्सनमै सकियो । पछि के गर्ने भन्ने भयो । सानो १० केजीको मेसिनबाट सुरु गरेको थिएँ । एलजिको मेसिन लिएर सुरु गरेको थिएँ’ उनले भने ।

अहिले भने ‘वासमान्डू’ले वार्षिक एकदेखि ढेड करोडसम्मको कारोबार गर्ने बताउँछन् मृगेन्द्र ।

६ वर्षअघिको त्यो बेला लन्ड्रीमा कपडा धुँदा प्रतिकेजीको प्रणाली आइसकेको थिएन । त्यसैले पनि ग्राहकले वासमान्डूको सेवा एकदमै सरहानीय रुपमा अघि आएको महशुस गरेका थिए ।

‘सस्तो पर्यो नि । अहिले त धेरैले क्विक सर्भिस दिइरहेको छ । तर, त्यो बेला एउटा ब्लांकेट धुनु पर्यो भने कम्तीमा एक हप्ता पछि मात्रै पाइन्थ्यो,’ उनी भन्छन्, ‘हामीले दुई तीन दिनमा दिन्थ्यौं । त्यो भएर पनि मान्छेलाई आनन्द हुने वातावरण बनेको थियो नयाँ नयाँमा गर्दा । आफैंले दुई चार जना साथीहरुलाई प्रशिक्षण गर्न लगायौं । एक कान दुई कान हुँदै फैलियो । विस्तारै सामाजिक सञ्जालबाट हुन थाल्यो ।’

त्यो बेला अनलाइनबाट सेवा लिने भन्ने चलन नेपालमा विकास भइसकेको थिएन । तर, मृगेन्द्र नेपाल बाहिर हुँदा फ्लिपकार्ट, मिन्त्राजस्ता अनलाइन सपिङका माध्यमहरु देखेका थिए । नेपालमा त्यो बेला चलेको डिजिटल सेवा प्रदायक फुडमान्डू मात्रै भएको सम्झिन्छन् उनी । त्यत्ति बेला मृगेन्द्रले भने आफूले नेपालबाहिर देखेकै कुराबाट ‘इन्सपायर’ भएर वासमान्डूलाई ‘पिक एण्ड ड्रप’ शैलीसहित सुरु गरेका थिए ।

‘तपाईंले एक पटक अनलाइनबाट अर्डर दिनु भयो भने बारम्बार अफिसबाट तपाईंलाई फोन जाने गर्छ । तपाईंको कपडाको बारेमा हामीले कुराहरु भन्छौं । डेलिभरी ब्वाईहरुले सम्पर्क गरिरहेका हुन्छन् । नम्बर साटासाट भएको हुन्छ,’ मृगेन्द्र भन्छन्, ‘अर्को पटक फेरि अर्डर गर्न पर्यो भने अनलाइनबाट नभएर फोनबाट नै सम्पर्क गरेर बोलाउनुहुन्छ । विदेशी ग्राहकहरु, जो नेपालमा बस्नु भएको छ, धेरै जसो अर्डरहरु अनलाइनबाट गर्नुहुन्छ । नेपाली ग्राहकहरुले भने फोन नै गरेर गर्नुहुन्छ ।’

वासमान्डूले आफ्नो डेलिभरि च्यानल पनि छुट्टै किसिमले विकास गरेको छ । लन्ड्री सेक्टरमै अरु जस्तो बोकेर गयो, डेलिभर गर्दै गयो भन्ने किसिमको डेलिभरि नभएको बताउँछन् उनी ।

आफूहरुले वान टु वान सर्भिस दिनुपर्ने भएकाले सोही किसिमले काम गरिरहेको बताउँछन्, उनी । भन्छन्, ‘दुई वटा ब्ल्यांकेट हाल्यो भने बोक्नै सकिदैंन । अरु अरु डेलिभरिमा ५० जनाको बोकेर दिनभरि डेलिभर गर्दै जाने गरिन्छ । तर, हाम्रोमा एक ग्राहकको पनि कपडा पुर्र्याउन जाने, लिएर आउने, फेरि वास गर्ने र पुर्याउन जाने हुन्छ । त्यसलाई एकदमै च्यानलाइज गर्नुपर्ने हुन्छ ।’

वासमान्डूको सुरुवात गर्दा मृगेन्द्रसँग एक जना सहयोगी मात्र थिए । उनी आफैंले कपडा ल्याउने, कपडा धुने, आइरन गर्ने र पुर्याउने गर्थे । सीए पढिरहेको व्यक्ति पढाईबाट छुटेर आएर नयाँ व्यवसाय, त्यसमाथि कपडा धुने व्यवसायमा लाग्दा अरुले के सोच्छन् भन्ने पनि डर थियो । तर, मृगेन्द्रमा भने त्यस्तो विचार कहिल्यै आएन् । उनले आफ्नो व्यवसाय दिनदिनै बढ्दै गएको देख्थें ।

‘त्यस्तो किसिमको सोच कहिल्यै आएन’, उनी भन्छन्, ‘दिनदिनै व्यवसाय हुर्किदैं गएको देख्थे । लकडाउन पछाडि चाहिँ सबैको अवस्था अलिकति राम्रो भएन । लकडाउन पछाडि चाहिँ कहिलेकाँही कहाँ फसिरहेको छु भन्ने सोच त आउथ्यो । तर, ओभरअल हेर्दा खेरि कहिल्यै पनि नकरात्मक सोच चाहिँ आएन ।’

२०७४ मा व्यवसायको सुरुवात गर्दा पहिलो क्लाइन्ट सानोगाउँबाट थिए । सात/आठ वटा ब्ल्यांकेट धुनका लागि अर्डर आएको थियो । मृगेन्द्र सम्झिन्छन्, ‘नयाँ क्लाइन्ट आउँदा सक्दो बेनिफिट दिन खोजिन्छ । हामीले पनि त्यस्तै सोच्यौं । पछि त्यसको पैसा पनि आएन ।’

व्यवसायलाई लिएर धैर्यता नै महत्वपूर्ण भएको बुझेका छन् मृगेन्द्रले । धैर्यता भएमा व्यवसाय अघि बढ्ने उनी बताउँछन् । आफूले व्यवसाय सुरु गरे पनि कैयौं समस्याहर भोग्नु परेको थियो उनले । कहिले कपडा मिक्स हुने त कहिले अरु समस्या आउने ।

‘पहिले सियो धागोले ट्यागिङ गर्ने गरिन्थ्यो,’ उनी भन्छन्, ‘तर, एक हजार वटा कपडा आयो भने त त्यसले दिन नै खाइदिन्छ । त्यसलाई कसरी गर्ने ? ट्यागिङबाट विस्तारै सिक्दै गयौं । प्रणालीहरुमा परिमार्जन गर्दै छौं । पहिले नम्बर हुन्थ्यो । अहिले विस्तृत विवरण नै हुन्छ । ग्राहकको नाम, बिल नम्बर, कति वटा लुगा छ भन्ने कुराहरु नै हुन्छ ।’

मृगेन्द्र गर्दै जाँदा आइपरेका समस्याहरुको समाधान खोज्दै अघि बढिरहेको बताउँछन् । दुई जनाबाट सुरु भएको व्यवासायमा अहिले १३ जनाले रोजगारी पाएका छन् । बीचमा काम गर्नेहरुको संख्या पनि धेरै थियो । तर, सिजन र अफ सिजन हुँदा केही संख्यामा वासमान्डूमा काम गर्नेहरुको संख्या पनि फरक पर्ने गरेको बताउँछन् उनी । जाडोको समयमा धेरै काम हुने हुँदा त्यो बेला केही संख्यामा रोजगारी बढ्ने गरेको उनी बताउँछन् ।

‘लुगा भनेको आफैंले धुने हो भने एक दिनमा नै घामले साथ दिएमा पाइन्छ,’, उनी भन्छन्, ‘सधैं ठूलो कुरा सोचेर हुँदैन । लन्ड्री व्यवसाय भनेकै त्यस्तै हो । भिजनको कुरा गर्नुभयो । भिजन त व्यापक गर्ने, ठूलो गर्ने थियो । तर, लन्ड्रीको लागि त्यो राम्रो होइन । सानो सानो नै गर्दै जानु राम्रो हो ।’

कपडासँगको व्यवसाय भनेको संवेदनशिल भएको बताउँछन् उनी । कपडामा कुनै सानो समस्या हुँदा पनि त्यसले असर गर्ने बताउँछन् उनी । भन्छन्, ‘रेस्टुरेन्टमा जानु भयो, खाने कुरा मन परेन भने म्यानेजरलाई भन्नुहुन्छ । पैसा फिर्ता आउने वा रिइम्बर्स गर्ने हुन्छ । तर, कपडामा त्यो भन्ने हुँदैन । कुनै प्रिय मान्छेले दिएको कपडा छ भने त्यसमा पैसा मात्र नभएर इमोसन पनि जोडिएको हुन्छ । त्यस्तो अवस्थामा के गर्ने त?’

व्यवसाय सुरु गरेको एक वर्षभित्रमा नै वासमान्डूको प्रगति उत्साहजनक रुपमा भएको थियो । दोस्रो वर्षपछि मृगेन्द्रले साना साना मेसिनहरु खरिद गरेका थिए । त्यो बेला उनलाई कमर्सियल प्रयोगका लागि पनि मेसिन पाइन्छ भन्ने थाहा थिएन ।

‘घरमा प्रयोग हुने मेसिन भनेको हप्तामा दुई चोटी वा चार चोटी प्रयोग गरिन्छ,’ उनी भन्छन्, ‘हाम्रोमा त १२ घण्टा नै चलिरहेको हुन्छ । त्यसले पनि चुनौती थियो । पछि कर्मसियल मेसिन लियौं । व्यवसायबाटै भएको आम्दानीले लगानी गर्दै गयौं ।’

हालसम्म वासमान्डूमा आफूले गरेको लगानी ५० लाख पुगेको बताउँछन् उनी । मुख्यगरी सवारी साधनमा धेरै लगानी भएको उनले बताए । वासमान्डूसँग डेलिभरि प्रयोजनका लागि चार वटा बाइक र दुई वटा भ्यान रहेको बताउँछन् उनी । भन्छन्, ‘सबै गर्दा ५० लाख जति लगानी भएको छ । कामबाट आम्दानी भएको र केही बैंकबाट लिएको छ ।’

भदौदेखि चैत्रसम्म बढी कारोबार हुने गरेको बताउँछन् उनी । वैशाखदेखि भदौसम्म केही कम कारोबार हुने गर्छ । तर, अहिलेको वर्षमा भने विगतको तुलनामा केही हदसम्म राम्रै कारोबार भएको बताउँछन् मृगेन्द्र । मुख्यगरी रिङ्गरोड क्षेत्रलाई केन्द्रित भएर र आवश्यकताअनुसार काठमाडौं, ललितपुर, भक्तपुरलगायतका ठाउँमा पनि आफूले सेवा दिने गरिरहेको बताउँछन् उनी ।

६ वर्षको अनुभवमा मृगेन्द्रले लन्ड्री व्यवसायमा दुई पक्षले महत्व राख्ने देखेका छन् । पहिलो गुणस्तर । मृगेन्द्र भन्छन्, ‘गुणस्तरमा कम्प्रमाइज गर्ने हो भने जति नै इमान्दार ग्राहक भएपनि हुँदैन ।’ दोस्रो पक्ष भनेको टाइमिङ भएको बताउँछन् उनी । भन्छन्, ‘चुनौतीहरु पनि छ । तर, यी दुवै कुराहरुमा ध्यान दिने हो भने राम्रो नै हुन्छ ।’

मृगेन्द्रले आगामी दिनमा पनि ‘वासमान्डू’लाई मात्रै निरन्तरता दिने हो वा अरु केही पनि गर्ने हो भन्ने कुरामा ध्यान दिइरहेका छन् । दुई तीन किसिमका सोचहरुमा काम गरिरहेको बताउँछन् उनी । दुई चार स्थानमा आफैंले लगानी गरेर शाखा खोल्ने वा फ्रेन्चाईजको रुपमा अघि बढ्ने भनेर अध्ययन गरिरहेका छन् उनी ।

‘कुनै ठूलो कुरा गर्नलाई अरुको सहयोग लिनुपर्ने हुन्छ,’ उनी भन्छन्, ‘अरुको सहयोग लिँदा उनीहरुलाई पनि कमाएर दिनुपर्ने हुन्छ । त्यसैले हामी अहिले फ्रेन्चाइज मोडलतर्फ जानेबारे सोचिरहेका छौं । फ्रेन्चाइजमा जाँदा पूर्ण रुपमा सोलुसन दिनुपर्ने हुन्छ । सामान्य फ्रेन्चाइजीजस्तो गर्न मिल्दैन । सबै कुरा हुन्छ त्यसमा । अहिले हामी अध्ययन गरिरहेका छौं ।’

भिडियो/तस्बिर: रवि धिताल


युवराज भट्टराई