गोल्यान ग्रुपको फेमिली बिजनेसलाई अक्षयले यसरी गर्दैछन् कर्पोरेटाइजेसन, अब विज्ञको निर्णय

574
Shares

काठमाडौं । आजभन्दा करिब ६०-६५ वर्षअघिको कुरा हो । नेपालमा औद्योगीकरण बामे सर्दै थियो । त्यतिबेला तत्कालीन राजा वीरेन्द्रले व्यवसायी सोहनलाल गोल्यानलाई एउटा विशेष आग्रह गरे, ‘नेपालमा आउनुस्, उद्योग खोल्नुस् र यहाँको विकासमा सघाउनुस् ।’

राजाको त्यो एउटा ‘विश्वास’ र ‘निम्तो’ ले आजको विशाल ‘गोल्यान साम्राज्य’ को जग खडा गर्‍यो । एउटा पारिवारिक व्यवसायबाट सुरु भएको त्यो यात्रा आज नेपालको अर्थतन्त्रको एक हिस्सा बनेको छ ।

विराटनगरका जुट मिलहरूबाट सुरु भएको नेपालको औद्योगिक क्रान्तिमा गोल्यान समूहले धागो (टेक्सटाइल) देखि लिएर आज ऊर्जा, कृषि र हस्पिटालिटी (आतिथ्य) क्षेत्रसम्म आफ्नो बलियो उपस्थिति जनाइसकेको छ ।

सोहनलाल गोल्यान

समय बदलियो, व्यवस्था बदलियो, तर गोल्यान परिवारको व्यावसायिक धर्म बदलिएन । बरु, पुस्तान्तरणसँगै यो झन् परिष्कृत, आधुनिक र बृहत् बन्दै गयो । आज, सोही विरासतलाई तेस्रो पुस्ताले हाँक्न थालेको छ । हालैमात्र गोल्यान ग्रुपको अध्यक्षमा ३७ वर्षीय अक्षय गोल्यान चयन हुनुले गोल्यान समूह भित्र ‘सेठ’ शैलीको व्यापारबाट पूर्णतः आधुनिक ‘कर्पोरेट कल्चर’ मा रूपान्तरणको घण्टी बजाएको छ ।

स्पेनको प्रतिष्ठित ईएसएडी युनिभर्सिटीबाट बिजनेस स्टडिजमा स्नातकोत्तर गरेका अक्षयले अब ५६ अर्ब रुपैयाँ (४०० मिलियन डलर) भन्दा बढीको वार्षिक कारोबार गर्ने र १० हजार कर्मचारी भएको विशाल गोल्यान ग्रुपको नेतृत्व सम्हाल्नेछन् ।

पुस्तान्तरण: रगतको नातादेखि कर्पोरेट बोर्डसम्म

कुनै पनि फ्यामिलि बिजनेस (पारिवारिक व्यवसाय) को सबैभन्दा ठूलो चुनौती भनेको सफल पुस्तान्तरण हो । विश्वव्यापी तथ्याङ्क हेर्ने हो भने तेस्रो पुस्तामा पुग्दा धेरैजसो पारिवारिक व्यवसायहरू टुक्रिन्छन् वा सकिन्छन् । तर, गोल्यान समूह अपवाद बनेको छ । हजुरबुवा सोहनलालले रोपेको बिउलाई अक्षयका बुवा पवन गोल्यानले हुर्काएर विशाल वृक्ष बनाए । अहिले त्यो वृक्षको संरक्षण, काँटछाँट र विस्तारको जिम्मा अक्षयको काँधमा आएको छ ।

अक्षय सम्झन्छन्, ‘६०-६५ वर्षअघिको समय र आजको समयमा आकाश-पातालको फरक छ । हजुरबुवाको पालामा बोलीको भरमा काम हुन्थ्यो, प्रतिस्पर्धा कम थियो । मान्छेमा विश्वास थियो । आज एआई र प्रविधिको युग छ । हरेक पुस्ताको सोच्ने तरिका फरक हुन्छ,तर हामीले त्यो ग्यापलाई कम्युनिकेसन (संवाद) मार्फत जोड्दै आएका छौं ।’

अक्षयको बुझाइमा व्यवसाय केवल ‘जिन’ मा हुँदैन । ‘पहिला डाक्टरको छोरा डाक्टर, व्यापारीको छोरा व्यापारी हुनुपर्ने बाध्यता थियो । आज त्यो छैन । मलाई पनि सुरुमा व्यवसायमै आउँछु भन्ने थिएन,’ अक्षय भन्छन्, ‘म विदेशमा बसेर रमाइलो जीवन बिताइरहेको मान्छे, तर जब परिवार र व्यवसायमा समस्या देखियो, एउटा जिम्मेवारी बोधले मलाई नेपाल फर्कायो ।’

सन् २०१६-१७ मा जब अक्षय नेपाल फर्किए, त्यतिबेला गोल्यान समूहको आन्तरिक व्यवस्थापन र बाह्य व्यावसायिक वातावरण दुबै चुनौतीपूर्ण थियो । भूकम्प पछिको अवस्था, घरजग्गा व्यवसायमा आएको मन्दी, बुकिङ रद्द हुनु र नगद प्रवाहको समस्याले समूहलाई थिचिरहेको थियो । गोल्यान ग्रुपका निवर्तमान अध्यक्ष पवन गोल्यान कृषिमा आफ्नो ‘प्यासन’ खोजिरहेका थिए । त्यही बेला गोल्यान ग्रुपको व्यवसायलाई नयाँ दिशा दिन एउटा बलियो व्यवस्थापकीय नेतृत्वको खाँचो थियो । त्यही विन्दुबाट अक्षयको ‘इनिङ’ सुरु भयो ।

परम्पराबाट प्रणालीतिर

गोल्यान समूहको सबैभन्दा ठूलो रूपान्तरण भनेको यसको व्यवस्थापकीय ढाँचामा आएको परिवर्तन हो । ९ वर्षअघि प्रबन्ध निर्देशकको रूपमा जिम्मेवारी सम्हाल्दा अक्षयले देखे, निर्णय प्रक्रियामा परिवारका सदस्यहरू मात्र हाबी भएको कुरा । गोल्यान ग्रुपमा प्रणालीभन्दा व्यक्ति प्रधान थियो ।

‘सुरुमा मैले टिम रिभ्यु गरेँ । सबै अधिकार डाइरेक्टरहरूमा मात्र थियो । तलका कर्मचारीमा निर्णय क्षमता विकास गरिएको थिएन,’ अक्षय ग्रुपमा आफ्नो सुरुवाती दिन सम्झन्छन्, ‘त्यसपछि हामीले विज्ञहरू ल्याउन थाल्यौं । ८-९ वर्षअघि कर्पोरेट अफिसमा १५ जनामात्र थिए, आज २३० भन्दा बढी कर्मचारी यहीँ छन् । सीईओ, सीएफओ, एचआर, लिगल र पिआर जस्ता विभागहरू खडा गरेर हामीले ग्रुपलाई प्रणालीगत बनायौं ।’

अक्षयको स्पष्ट योजना छ, अबको ३-४ वर्षमा कम्पनीलाई पूर्णतः ‘प्रोफेसनल बोर्ड’ मार्फत् सञ्चालन गर्ने। जहाँ गोल्यान परिवार केवल लगानीकर्ता वा ट्रस्टीको भूमिकामा हुनेछ भने दैनिक सञ्चालन र रणनीतिक निर्णयहरू स्वतन्त्र विज्ञहरूको बोर्डले गर्नेछ । संस्थापक अध्यक्ष पवन गोल्यान अब ‘सम्मानित अध्यक्ष’ को भूमिकामा रहने र अक्षयले कार्यकारी नेतृत्व लिने निर्णय यही रणनीतिक सिफ्टको एउटा महत्त्वपूर्ण खुड्किलो हो ।

चार खम्बामा उभिएको गोल्यान ग्रुपको साम्राज्य

गोल्यान ग्रुपले आफूलाई केवल नाफा कमाउने व्यापारमा मात्र सीमित राखेको छैन । अक्षय भन्छन्, ‘हामीले नेपालको ‘कम्प्यारेटिभ एडभान्टेज’ (तुलनात्मक लाभ) भएका क्षेत्रहरू रोजेका छौं । हामी जहाँ हात हाल्छौं, त्यहाँ टप-३ भित्र पर्ने लक्ष्य राख्छौं ।’

अक्षयका अनुसार, गोल्यान समूहको भविष्य अहिले मुख्य ४ पिलर (खम्बा) मा अडिएको छ:

१. उद्योग र निर्यात

रिलायन्स स्पिनिङ मिल्स गोल्यान ग्रुपको प्रमुख उद्योग हो । धागो निर्यातमा नेपालकै अग्रणी यो उद्योगले नेपालको व्यापार घाटा कम गर्नयोगदान दिएको छ । अक्षय भन्छन्, ‘वार्षिक निर्यातमा हामी सम्भवतः देशकै नम्बर १ वा टप ३ भित्र पर्छौं । ८ वर्षअघि ५ अर्बको कारोबार हुने रिलायन्सको कारोबार अहिले १० अर्ब रुपैयाँ नाघेको छ । यो हाम्रो मेरुदण्ड हो ।’ शिभम् प्लास्टिक र ट्राइकोट इन्डस्ट्रिज रिलायन्सको उद्योग खम्बाका सदस्य हुन् ।

२. नवीकरणीय ऊर्जा

जलविद्युत र सौर्य ऊर्जामा गोल्यान समूह आक्रामक रूपमा अघि बढेको छ । अहिले उत्पादन भइसकेको र पाइपलाइनमा रहेको गरी करिब ६०० देखि ७०० मेगावाटको पोर्टफोलियो गोल्यान ग्रुपसँग छ । पियोर इनर्जी, बलेफी हाइड्रो जस्ता कम्पनीमार्फत् गोल्यान ग्रुपले देशकोऊर्जा संकट समाधानमा हिस्सेदारी गरेको छ ।

३. पर्यटन र आतिथ्य

काठमाडौंको सोल्टीमोडस्थित ‘हयात सेन्ट्रिक’ पूर्ण क्षमतामा सञ्चालनमा आइसकेको छ । यसैगरी लुम्बिनी प्रदेशमा हयाट रिजेन्सीमा ग्रुपले लगानी गरेको छ ।

तर, अक्षयको भनाइमा उनीहरूको अबको फोकस‘मास टुरिजम’ भन्दा पनि ‘वाइल्ड लाइफ टुरिजम’ र ‘लक्जरी माउन्टेन टुरिजम’ मा छ । लुम्बिनीमा गोल्यान ग्रुपले ४ अर्ब रुपैयाँ लगानीमा पाँचतारे होटल बनाउँदै छ । वेदा हस्पिटालिटी प्रालिले लुम्बिनीमा आधुनिक सेवा सुविधासहित १७७ वटा कोठा भएको होटल बनाउने भएको हो ।

‘ठूला कंक्रिटका भवन होइन, वातावरणमैत्री, कम फुटप्रिन्ट भएका, जंगलभित्रका २०-२५ कोठाका बुटिक रिसोर्टहरूमा नेपालको भविष्य छ,’ नवनियुक्त अध्यक्ष अक्षयले आफ्नो योजना सुनाए, ‘चितवन, बर्दियाजस्ता ठाउँमा अफ्रिका वा भारतको जस्तो उच्चस्तरीय वाइल्ड लाइफ टुरिजमको सम्भावना हामीले देखेका छौं । सरकारले राष्ट्रिय निकुञ्जभित्र वा बफर जोनमा व्यवस्थित पर्यटनलाई अनुमति दिने हो भने हामीलगानी गर्न पूर्ण तयार छौं ।’

४. कृषि

गोल्यान ग्रुपका प्रेसिडेन्ड एमिरेटस् पवन गोल्यानको सपना र ‘प्यासन’ हो, कृषि । ‘माटो’ ब्रान्डमार्फत् गोल्यान ग्रुपले अर्ग्यानिक खेती र किसानका उत्पादनलाई बजारसम्म पुर्‍याउने काम गरिरहेको छ । अक्षय भन्छन्, ‘बुवाको इच्छा थियो किसानका लागि केही गर्ने । त्यहीभावनाबाट ‘माटो’ जन्मियो । यो नाफाभन्दा पनि देशको माटो र किसानसँग जोडिएको हाम्रो भावनात्मक लगानी हो । यसलाई हामी अझै व्यापक बनाउँदैछौं ।’

अक्षयले देखेका चुनौती

बाहिरबाट हेर्दा ५०-५५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्ने, १० हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिने र २५ हजार परिवारलाई अप्रत्यक्ष रूपमा आम्दानीको बाटो देखाएको गोल्यान ग्रुप जति भव्य देखिन्छ, भित्र संघर्षका कथाहरू पनि उत्तिकै छन् । अक्षय गोल्यानले नेपालको व्यावसायिक वातावरणमा सुधार भइरहेको माने पनि नीतिगत अस्थिरतालाई मुख्य तगारोको रूपमा औंल्याएका छन् ।

उनी भन्छन्, ‘नेपालमा नीतिगत स्थिरताको ठुलो अभाव छ । सरकारले एउटा नीति ल्याउँछ, हामी त्यसै अनुसार लगानी गर्छौं, तर कार्यान्वयन हुँदैन वा नीति नै फेरिन्छ ।’

नेपालमै छ विदेशमाभन्दा ठूलो अवसर

दिनहुँ हजारौं युवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश पलायन भइरहेको समयमा ३७ वर्षीय अक्षय गोल्यानले नेपालमै बसेर साम्राज्य खडा गर्ने काममा लाग्नु र नेतृत्व सम्हाल्ने आँट गर्नु आफैंमा एउटा बलियो सन्देश हो । उनी विदेशमा पढे, त्यहाँको जीवनशैली देखे, तर अवसर भने आफ्नै देशमा देखे ।

‘विदेशमा डलर कमाइएला, तर त्यहाँको खर्च पनि डलरमै हुन्छ । अन्त्यमा बचत खासै हुँदैन,’ अक्षय युवाहरूलाई सुझाव दिन्छन्, ‘यदि तपाईंसँग शिक्षा छ, सीप छ र मिहिनेत गर्ने बानी छ भने नेपालमा जति अवसर अहिले कतै छैन । यहाँ कम्पिटिसन (प्रतिस्पर्धा) कम छ, ग्रोथको सम्भावना उच्च छ । हामीजस्ता कर्पोरेट हाउसहरू सधैं ट्यालेन्टको खोजीमा हुन्छौं । महिनामै ५-१० जना नयाँ मान्छे हामीलाई चाहिन्छ।’

उनी नेपाल विकासोन्मुख देश भएकाले यहाँ हरेक क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको र त्यो नै युवाका लागि ‘सुनौलो अवसर’ भएको तर्क गर्छन् ।

खेलाडी बन्ने सपना देखे, बने बिजनेसम्यान

समाजले मारवाडी समुदायलाई हेर्दा सोच्छ, ‘यिनीहरूको रगतमै व्यापार हुन्छ।’ तर, गोल्यान परिवारको तेस्रो पुस्ताका सदस्य अक्षय गोल्यान यो परम्परागत भाष्यलाई पूर्णतः अस्वीकार गर्छन् ।

अक्षयले आफ्नो बाल्यकालको सपनाबारे खुलाउँदै आफू व्यापारी बन्न नचाहेको तर अन्ततः व्यवसायी नै बनेको सुनाए । उनको सपनाखेलाडी बन्ने थियो। ‘म स्कुलमा हुँदा फुटबल, भलिबल वा बास्केटबलको खेलाडी बन्छु भन्ने सोच्थेँ,’ अक्षय भन्छन्, ‘मभित्र प्रतिस्पर्धाको भावना थियो, तर त्यो खेल मैदानका लागि थियो, कर्पोरेट बोर्ड रुमका लागि होइन ।’

२७-२८ वर्षको उमेरसम्म उनी व्यवसायमा आउने मुडमै थिएनन् । उनी विदेशमा रमाइलो जीवन बिताइरहेका थिए । तर, सन् २०१६/१७ तिर जब पारिवारिक व्यवसायमा संकट देखियो, उनी ‘प्यासन’ (इच्छा) ले होइन, ‘रेस्पोन्सिबिलिटी’ (जिम्मेवारी) ले नेपाल फर्किनु पर्‍यो ।’

उनी भन्छन्, ‘५०-६० वर्षअघि विकल्प थिएन, त्यसैले छोराहरू बाध्य भएर व्यापारमा लाग्थे र मान्छेले ‘रगतमै व्यापार छ’ भन्थे । तर आज मसँग विकल्प थियो । मैले जिम्मेवारी रोजेँ ।’

यो अंशले गोल्यान समूहको नेतृत्व केवल पुर्ख्यौली सम्पत्ति खान आएको होइन, बरु आफ्नो व्यक्तिगत सपनालाई थाती राखेर पारिवारिक साख बचाउन आएको त्यागलाई पुष्टि गर्छ ।

‘डिनर’ले जन्माएको ‘माटो’ ब्रान्ड

गोल्यान समूहको कृषिमा प्रवेश कुनै लामो बजार अनुसन्धानको नतिजा होइन । यो त पवन गोल्यान र अक्षयबीचको एउटा डिनर संवादबाट जन्मिएको भावनात्मक प्रोजेक्ट हो ।

अक्षयले सुनाएअनुसार एक रात पवन र अक्षय खाना खाँदै थिए । पवनले एक्कासी भावुक हुँदै अक्षयलाई भने, ‘म गाउँतिर जान्छु,किसानहरूको दुःख देख्छु । उनीहरू यति धेरै मिहिनेत गर्छन् तर उत्पादन बिक्दैन । मलाई उनीहरूको असाध्यै माया लाग्छ । म उनीहरूकालागि केही गर्न चाहन्छु ।’

त्यही टेबलमा अक्षयले बुवालाई सुझाव दिए, ‘हाम्रो ऊर्जा, उद्योग र होटल त छँदैछ । यदि तपाईंको प्यासन किसानलाई सघाउने हो भने एउटा छुट्टै कृषि भर्टिकल खडा गर्नुस् ।’

त्यो संवाद भएको एक महिनाभित्रै ‘माटो’ ब्रान्डको स्थापना भयो । नाफा/नोक्सानको हिसाब नगरी, विशुद्ध रूपमा ‘इमोसन’ (भावना) बाट सुरु भएको यो प्रोजेक्ट आज समूहको ४ मुख्य खम्बा मध्ये एक बनेको छ । यो विवरणले गोल्यान समूहको निर्णय प्रक्रियामा ‘व्यावसायिकता’ सँगै ‘हृदय’ पनि जोडिएको छ भन्ने देखाउँछ ।

उबर, गुगल र बायसको सिद्धान्त

अक्षय ३-४ वर्षभित्र गोल्यान ग्रुप पूर्णतः ‘बोर्ड’ मार्फत् चल्ने बताउँछन् । तर, किन ? अक्षय यसको उत्तर दिँदै ‘सिलिकन भ्याली’ को उदाहरण दिन्छन् ।

‘उबर, गुगल, माइक्रोसफ्ट वा एप्पल, यी सबै कम्पनीमा एक बिन्दुमा पुगेपछि फाउन्डर (संस्थापक) हरू पछि हटेका छन् वा हटाइएका छन्,’ अक्षय भन्छन्, ‘फाउन्डरसँग भिजन हुन्छ, तर उनीहरू बायस्ड (पूर्वाग्रही) पनि हुन्छन् । उनीहरू आफ्नो आइडियामा यति धेरै डुबेका हुन्छन् कि कहिलेकाहीँ बजारको यथार्थ देख्दैनन् ।’

त्यसैले, गोल्यान समूहले अब परिवारका सदस्यहरूलाई ‘अपरेसन’ (दैनिक काम) बाट अलग गराएर केवल ‘इन्भेस्टर’ (लगानीकर्ता) को भूमिकामा सीमित गर्ने योजना बनाएको हो । स्वतन्त्र सञ्चालकहरूले भावनामा नबगी तथ्य र नतीजाका आधारमा निर्णय गर्छन् भन्ने बुझाइ नै यो योजनाको मुख्य कारण हो ।

अक्षयलाई पवनको सन्देशः यो काम मात्र हो

अर्बौंको साम्राज्यको नेतृत्वकर्ता र हजारौं कर्मचारीको बोसको मानसिकता कस्तो हुन्छ ? अक्षय बुवा पवन गोल्यानबाट सिकेको सबैभन्दा महत्त्वपूर्ण पाठ सेयर गर्दै भन्छन्, ‘बुवाले सिकाउनु भएको कुरा म्यानेजमेन्टका शुत्र किताबमा पढ्न पाइँदैन ।’

पवन गोल्यान

‘बुवाले सिकाउनुभएको छ, सफल भइएन वा सोचेजस्तो भएन भने धेरै निराश नहुनु । सम्झनु, यो केवल काम हो,’ अक्षय भन्छन्, ‘कामभन्दा ठूलो कुरा सम्बन्ध, परिवार, साथीभाइ र समाज हो । व्यापार आज राम्रो छ, भोलि नहोला । तर मान्छेहरू सँगको सम्बन्ध र स्मृतिहरू मात्र अन्तिमसम्म रहन्छन् ।’

यो दार्शनिक पाटोले गोल्यान समूहको ‘कोर भ्यालु’लाई दर्साउँछ, जहाँ नाफाभन्दा मान्छे र सम्बन्धलाई प्राथमिकता दिइन्छ ।

अबको ५ वर्षपछिको गोल्यान ग्रुप

नयाँ जिम्मेवारीसँगै अक्षय गोल्यानले गोल्यान समूहको अबको ५ वर्षका लागि स्पष्ट रोडम्याप कोरेका छन् । उनी भन्छन्, ‘हामी संख्याको पछि मात्र लाग्दैनौं, तर हामी जुन क्षेत्रमा छौं, त्यहाँ नेतृत्वदायी भूमिकामा हुनेछौं ।’

ऊर्जातर्फ ७०० मेगावाटभन्दा बढी बिजुली उत्पादन गर्ने र नेपालको ‘क्लिन इनर्जी’ निर्यात गर्ने, पर्यटनतर्फ वातावरणमैत्री वाइल्ड लाइफ रिसोर्टहरूको सञ्जाल विस्तार गर्ने र नेपाललाई ‘लक्जरी नेचर टुरिजम’ को हब बनाउने, निर्यात तर्फ हालको १० अर्बको निर्यातलाई बढाएर २०अर्ब पुर्‍याउने अक्षयको सपना छ । त्यस्तै, नेपालको पहिचान विश्व बजारमा स्थापित गर्ने, कृषितर्फ ‘माटो’ ब्रान्डलाई घरघरमा पुर्‍याएर कृषि आयात प्रतिस्थापनमा सघाउने र संस्थागत सुशासनतर्फ कम्पनीलाई पारिवारिक घेराबाट निकालेर पूर्ण व्यावसायिक र पारदर्शी कर्पोरेटहाउसमा रूपान्तरण गर्ने योजना अक्षयको छ ।

विश्वासको नयाँ अध्याय

गोल्यान समूहको ६ दशकको यात्रा ‘विश्वास’ को जगमा अडिएको छ । हजुरबुवा सोहनलालले साख कमाए, बुवा पवनले त्यसलाई आधुनिकीकरण र विविधीकरण गरे र अब अक्षयले यसलाई संस्थागत र विश्वव्यापी बनाउँदैछन् ।

पारिवारिक कलहबाट मुक्त रहँदै ‘सबैले आ-आफ्नो क्षेत्रमा बेस्ट गर्ने’ मन्त्रका साथ अघि बढेको गोल्यान ग्रुप नेपालको निजी क्षेत्रको एक लोभलाग्दो उदाहरण हो । भूकम्प होस् वा कोभिड महामारी, नीतिगत अस्थिरता होस् वा सामाजिक दृष्टिकोणका चुनौती, हरेक अवरोधलाई चिर्दै गोल्यान समूहले प्रमाणित गरेको छ कि नेपालमा पनि विश्वस्तरीय व्यवसाय गर्न सम्भव छ ।

अध्यक्ष अक्षय भन्छन्, ‘व्यवसायमा उतारचढाव त आउँछन्, यो जीवनको एक हिस्सा हो । तर सबैभन्दा महत्त्वपूर्ण कुरा- हामीले आफ्नो देश,समाज र मानिसहरूसँगको सम्बन्धलाई सँगै लिएर जानुपर्छ । मेरो नेतृत्वको मुख्य ध्येय नै यही हुनेछ- समृद्ध नेपाल, सुखी नेपाली र सबल गोल्यान ग्रुप ।’

यसरी हेर्दा, गोल्यान समूहको कथा केवल सफलता र पुस्तान्तरणको मात्र होइन । यो व्यक्तिगत त्याग, संकट व्यवस्थापन, बिजनेस रणनीति, भावना र पारिवारिक दर्शनको कथा हो ।