नाङ्लो वेकरीबाट न्युन गुणस्तरको क्रसन नष्ट, कागति क्याण्डी बजारबाट फिर्ता लिन निर्देशन


काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ललितपुरको गोदावरीस्थित नाङ्लो वेकरी प्राइभेट लिमिटेडबाट उत्पादित क्रोसन बरामद गरी नष्ट गरेको छ ।

विभागका प्रवक्ता डा.बालकुमारी शर्माका अनुसार १५ हजार ४ सय रुपैयाँबराबरको १४० जना क्रोसन बरामद गरी नष्ट गरिएको हो ।

विभागले मंसिर २३ गते नाङ्लोको क्रसन बजारबाट फिर्ता लिन निर्देशन दिएको थियो । उक्त कम्पनीबाट उत्पादित क्रसन न्यून गुणस्तर भएको अवस्थामा फेला परेपछि बजारबाट फिर्ता लिन विभागले निर्देशन दिएको थियो ।

सोहि निर्देशनअनुसार बजारबाट फिर्ता भएर आएको क्रसन विभागको टोलीको प्रत्यक्ष निगरानीमा नष्ट गरिएको शर्माले जानकारी दिइन ।

विभागले उक्त खाद्य पदार्थमा मापदण्डविपरित औद्योगिक ट्रान्स फ्याटको मात्रा अत्याधिक भएको भन्दै ब्याच नम्बर ०१ र उत्पादन मिति सन् २०२५ डिसेम्बर ३ को उत्पादन बजारबाट फिर्ता लिन निर्देशन दिएको थियो ।

खाद्य पदार्थमा औद्योगिक ट्रान्स फ्याटको मात्रा अधिकतम सीमा २ प्रतिशतसम्म तोकिएको छ । विभागले उक्त व्याच तथा उत्पादन भएको क्रसन बजारमा बिक्री बितरण नगर्नसमेत निर्देशन दिएको थियो ।

विभागले पिरो कागति क्याण्डी बजारबाट फिर्ता लिन निर्देशन दिएको छ ।

काठमाडौंको चावहिलस्थित एलिजा ईजी ट्रेड लिंकद्वारा उत्पादित पिरो कागति क्याण्डी (१०० ग्राम) फिर्ता लिन निर्देशन दिइएको हो । विभागका अनुसार ब्याच नम्बर ०७ र उत्पादन मिति अगस्त २०२५ भएको क्याण्डीमा खाद्य रंगको मात्रा तोकिएको मात्राभन्दा बढी मात्रामा पाइएको छ ।