अच्युतराज पहाडीको रिटलाई अग्राधिकार, आगामी पेशीबाट पूर्ण सुनुवाई हुने


काठमाडौं । नेपाल वायुसेवा निगमको महाप्रवन्धक पदमा आवदेन दिनमै विज्ञलाई छेक्न नहुने अच्युतराज पहाडीको मुद्दालाई सर्वोच्च अदालतले अग्राधिकार दिएको छ ।

निगमका कात्तिक २७ गते महाप्रवन्ध नियुक्ति लागि माग गरेको आवेदनमा विज्ञलाई छेक्नेगरी कार्यविधि बनाएको र यस अघिको अभ्यासविपरीत आवेदन माग गरिएको भन्दै पहाडीले मंसिर ७ मा सर्वोच्च अदालतमा रिट दिएका थिए ।

उनको रिटमाथि सुनुवाई गर्दै आइतबार सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश टंकप्रसाद ढुंगानाको इजलासले पहाडीको रिटमा अग्राधिकार दिँदै पूर्ण सुनुवाईका लागि पेश गर्न आदेश दिएको छ ।

यो आदेशसँग अबको पेशीबाटै पहाडीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसहितलाई विपक्षी बनाएर दायर यो मुद्दाको टुंगो लाग्ने भएको छ ।

निगमको महाप्रवन्धक बन्न १६ जनाले आवेदन दिएका छन् । पहाडीकै रिटका कारण निगमको महाप्रवन्धक नियुक्ति हुन सकेको छैन् ।