भारतलाई बालेनको टक्कर, कार्यकक्षमा राखे ग्रेटर नेपालको नक्सा
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को कार्यकक्षा ग्रेटर नेपालको नक्सा राखिएको छ । भारत भ्रमणमा रहेका मेयर शाहको कार्यकक्षमा उनैले भ्रमण जानुअघि ग्रेटर नेपालको नक्सा राख्न लगाएको उनको सचिवालयले जनायो ।
हालैमात्र भारतमा नयाँ सांसद भवनमा नेपालको समेत भूभागलाई समेटेर ‘अखण्ड भारत’को नक्सा राखिएको विषय सार्वजनिक भएको थियो । यसैबीच मेयर शाहको कार्यकक्षमा पनि ग्रेटर नेपालको नक्सा राखिएको हो । मेयरको सचिवालयकाअनुसार बिहीबार बिहान यो नक्सा राखिएको हो । मेयर शाहले नै भारत जानुअघि यो नक्सा राख्न दिएको निर्देशनअनुरुप यो नक्सा राखिएको हो ।
‘पहिला नेपाल, भारत, चीन सबै भएको एउटा थ्रिडी नक्सा थियो’, बालेनको सचिवालयका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंले भने, ‘‘यसलाई मिडियामा भारतको अखण्ड नक्साको विषयसँग जोडिएको छ । तर, त्यस्तो केही होइन । नेपालको सांस्कृतिक पक्षलाई लिएर नक्सा राख्ने कुरा भएसँगै यो नक्सा राखिएको हो ।’
यसअघिका मेयरहरुको पालामा पनि कार्यकक्षमा नक्सा थियो । नेपाल, भारत, चीनलगायतका मुलुकहरु समावेश रहेको थ्रि डि नक्सा नदिनलालगायतका भौगोलिक कुराहरु रहेको थियो ।
उक्त नक्सालाई हटाएर नेपालको सांस्कृतिक पक्ष झल्किने किसिमको नक्सा राख्ने क्रममा ग्रेटर नेपालको नक्सा राखिएको बजगाईंले बताए ।
उनले भने, ‘भारतको संसद भवनमा राखिएको नक्सासँग यो सरोकारको होइन । यो नक्सा नेपालको सांस्कृतिक कुरा झल्किने गरी राखिएको हो ।’