महासंघ उपाध्यक्षमा संघई प्यानलबाट दुई र उमेशलाल प्यानलबाट एक जना विजयी



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्षमा रामचन्द्र संघई प्यानलबाट दुई र उमेशलाल श्रेष्ठ प्यानलबाट एक जना निर्वाचित भएका छन् ।

जिल्ला नगर र एसोसिएटमा संघई समूहबाट उपाध्यक्ष निर्वाचित भएका हुन् । जिल्ला नगरमा सुरकृष्ण बैद्यले बाजी मारेका छन् भने एसोसिएट उपाध्यक्षमा ज्योत्स्ना सुब्बा श्रेष्ठ निर्वाचित भइन् ।

वस्तुगतमा भने उमेशलाल प्यानलका हेमराज ढकाल निर्वाचित भए । उनी महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकालका भाइ हुन् ।

एसोसिएट उपाध्यक्षमा निर्वाचित ज्योत्स्नाले ८४६ मत ल्याएकी छन् भने प्रतिस्पर्धी भरत आचार्यले ७८१ मत ल्याए । आचार्य वरिष्ठ उपाध्यक्षका दुई उम्मेदवार अन्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठका साझा उम्मेदवार थिए ।

जिल्ला नगर उपाध्यक्ष्मा निर्वाचित सुरकृष्ण वैद्यले ४३ मत ल्याए भने अन्जन श्रेष्ठ प्यानलबाट चुनाव लडेका अरुणराज सुमार्गीले ३७ तथा उमेशलाल प्यानलका दिनेश श्रेष्ठले ३४ मत पाएका छन् ।

त्यस्तै वस्तुगत तर्फबाट उपाध्यक्ष निर्वाचित हेमराज ढकालले ६१ मत पाएका छन् । उनी उमेशलाल समूहबाट चुनाव लडेका थिए ।

अन्य प्रतिस्पर्धी अन्जन श्रेष्ठ प्यानलबाट उम्मेदवार बनेका मनिषलाल प्रधानले ५२ तथा संघई समूहका सकुन्तलाल हिराचनले ७ मत पाए ।


क्लिकमान्डु