
एजेन्सी । इलोन मस्क जति लोकप्रिय संस्कृतिमा गहिरोसँग भिजेका व्यावसायिक नेताहरू कमै होलान् । यी महत्त्वाकांक्षी उद्यमी अहिले इन्टरनेट संस्कृतिमा केन्द्रीय पात्र बनेका छन् ।
उनले यति धेरै सम्पत्ति थुपारेका छन् जसले गर्दा उनलाई विश्वकै पहिलो डलर ट्रिलियनेर (१० खर्बपति) बनाएको छ ।
असमानताका बारेमा चिन्ताहरू बढ्दै गएको र अति धनाढ्यहरूप्रति सार्वजनिक धारणा नकारात्मक बनिरहेको समयमा मस्कले आफ्नो असीमित सम्पत्तिका बावजुद र वारेन बफेट जस्ता अन्य धनकुवेरहरूले जस्तै सर्वसाधारणलाई लोभ्याउने सरल स्वभाव बिना नै आफ्ना वफादार समर्थकहरूलाई टिकाइराख्न सफल भएका छन् ।
प्रशंसकहरूले मस्कको स्पष्टवादी शैलीलाई उनको आकर्षणको रूपमा हेरे पनि आलोचकहरूले भने उनलाई कुलीन शासक जस्तो शक्ति प्रयोग गरेको आरोप लगाएका छन् । आलोचकहरूले उनका कम्पनीहरूको सुशासनका बारेमा चिन्ता व्यक्त गरेका छन् र उनको बढ्दो पक्षपाती राजनीतिक हस्तक्षेपको विरोध गरेका छन् ।
तैपनि, विद्युतीय कार निर्माता टेस्लासँगै मस्कको साम्राज्यको केन्द्रमा रहेको रकेट, स्याटेलाइट र एआई कम्पनी स्पेसएक्सले बिहीबार आफ्नो प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मार्फत रेकर्ड ७५ अर्ब डलर संकलन गर्यो । यसले उनका व्यावसायिक उद्यमहरूप्रति लगानीकर्ताहरूको उत्साह झल्काउँछ ।
सेयर बिक्री हुनुअघि फोर्ब्सले उनको कुल सम्पत्ति लगभग ७८० अर्ब डलर अनुमान गरेको थियो । त्यो उनको पछिल्लो रोलक्रममा रहेका अल्फाबेटका सह–संस्थापक ल्यारी पेजभन्दा धेरै अगाडि छ ।
‘दोस्रो धनी व्यक्ति ३०० अर्ब डलरको हाराहारीमा रहँदै आएका छन् जुन मस्कको भोलि हुन सक्ने सम्भावित सम्पत्तिको एक–तिहाइभन्दा पनि कम हो,’ फोर्ब्स वेल्थका उपसम्पादक म्याट डुरोटले भने, ‘र अर्का एक व्यक्ति ओरेकलका संस्थापक ल्यारी एलिसन मात्र अहिलेसम्म ४०० अर्ब डलरको मालिक बनेका छन् ।’
कम्पनीको फाइलिङमा आधारित रोयटर्सको गणना अनुसार, मस्कको अधिकांश सम्पत्ति अहिले स्पेसएक्समा रहेको छ । त्यहाँ उनले लगभग ८६६ अर्ब डलर बराबरको सेयर हिस्सा ओगटेका छन् ।
टेस्ला र उनका अन्य सम्पत्तिहरू समेत जोड्दा शुक्रबारदेखि स्टक कारोबार सुरु भएपछि उनको कुल सम्पत्ति ११ खर्ब डलर नाघ्नेछ । यस गणनामा समयसँगै परिपक्व हुने स्टकका अंशहरू पनि समावेश छन् ।
मस्कले टेस्ला र स्पेसएक्समार्फत घर–घरमा आफ्नो नाम परिचित गराए र सन् २०२२ मा ४४ अर्ब डलरमा सामाजिक सञ्जाल ट्विटर खरिद गरेर आफ्नो प्रभाव विस्तार गरे । यस सम्झौताले उनलाई करोडौं प्रयोगकर्ताहरूसँग सीधा सम्पर्क गर्ने माध्यम दियो र उनलाई राजनीति र अध्यागमनदेखि लिएर सरकारी खर्च र अभिव्यक्ति स्वतन्त्रता जस्ता मुद्दाहरूमा एक प्रमुख आवाज बनायो ।
एसएन्डपी ५०० सूचकांक १.७५ प्रतिशतले बढ्यो भने नास्डाक २.५ प्रतिशतभन्दा बढीले उकालो लाग्यो । उनको राजनीतिमा प्रवेश, विशेषगरी गत वर्ष अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको सरकारी दक्षता विभाग (डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसिएन्सी) मा उनको भूमिका, उनका सबैभन्दा विवादास्पद कदमहरूमध्ये एक बनेको छ ।
सन् २०२५ मा टेस्लाको विद्युतीय गाडीलाई लक्षित गरी भएका विरोध प्रदर्शन र उपभोक्ता बहिष्कारका कारण विभिन्न अन्तर्राष्ट्रिय बजारहरूमा यसको बिक्री घटिरहेको समयमा नै यो राजनीतिक परिणाम देखिएको थियो ।
५४ वर्षीय मस्कको जन्म दक्षिण अफ्रिकाको प्रिटोरियामा क्यानेडियन आमा र दक्षिण अफ्रिकी बुवाको कोखबाट भएको थियो । उनले पेन्सिलभेनिया विश्वविद्यालयबाट सन् १९९७ मा स्नातक तह उत्तीर्ण गरेका थिए । उनले सन् २००८ मा टेस्लाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी सम्हालेका थिए ।
विद्युतीय सवारी साधनहरूले उच्च कार्यक्षमता र सफ्टवेयरमा आधारित सुविधाहरूलाई संयोजन गर्न सक्छन् भन्ने उनको विश्वासले विश्वव्यापी अटोमोबाइल उद्योगलाई नयाँ परिभाषा दिन मद्दत गर्यो । केही अटो उद्योग विश्लेषकहरूका अनुसार, टेस्लाको सफलता र यसको ट्रिलियन डलरभन्दा बढीको बजार पुँजीकरणले परम्परागत कार निर्माताहरूलाई पनि विद्युतीय कारतर्फ मोडिन दबाब दियो ।
धैरे लगानीकर्ताहरू उनले अन्तरिक्ष र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा पनि यस्तै सफलता दोहोर्याउन सक्छन् भन्नेमा दाउ लगाइरहेका छन् । तर, स्पेसएक्स अझै पनि ठूलो नगद लगानीको पर्खाइमा छ र कम्पनीको मूल्यांकन धेरै हदसम्म त्यस्ता प्रविधिहरूमा टिकेको छ जसलाई व्यावसायिक रूपमा सफल हुन वर्षौं वा दशकौं लाग्न सक्छ ।
टेस्ला र स्पेसएक्स बाहेक मस्कले सुरुङ खन्ने स्टार्टअप द बोरिङ कम्पनी र मस्तिष्कमा प्रत्यारोपण गरिने उपकरण बनाउने न्युरालिंक सहित अन्य पाँचवटा कम्पनीहरूको सह–स्थापना गरेका छन् ।
टेस्लाको सीईओको रूपमा मस्कले समान रूपमा विवाद र प्रशंसा दुवै बटुलेका छन् । टेस्लालाई विश्वकै सबैभन्दा मूल्यवान कार निर्माता कम्पनी बनाउनुको श्रेय उनलाई जान्छ । वर्षौंसम्म परम्परागत कार कम्पनीका अधिकारीहरूले यसलाई बेवास्ता गरेका थिए र एउटा नयाँ कार कम्पनीले कसरी नाफामा रहेर ठूलो मात्रामा विद्युतीय गाडी उत्पादन गर्न सक्छ भन्नेमा शंका व्यक्त गरेका थिए ।
जनरल मोटर्सका पूर्व उपाध्यक्ष बब लुत्जले भने, ‘उनले अटोमोटिभ इन्जिनियरिङमा अमेरिकी सिर्जनशीलताप्रतिको विश्वव्यापी सम्मानलाई पुनर्जीवित गरिदिए ।’ यसका साथै टेस्लाले आफ्ना चर्चित सीईओसँग जोडिएका कानुनी चुनौतीहरू र सेयरधनीहरूको चिन्ता पनि खेप्नुपरेको छ । विशेषगरी सन् २०१८ को उनको ५६ अर्ब डलर बराबरको पारिश्रमिक प्याकेजका कारण यस्तो चिन्ता जागेको हो ।
मस्कको प्रभाव व्यापक भएकाले बजार विश्लेषकहरूले उनको वरिपरिको व्यावसायिक सञ्जाललाई मस्कोनोमी नाम दिएका छन् । यस लहरले गर्दा कतिपय लगानीकर्ताले यसलाई इलोन प्रिमियम भन्न थालेका छन् जुन परम्परागत वित्तीय सूचकहरू भन्दा पनि मस्कको दृष्टिकोणमाथिको विश्वासका कारण बढेको मूल्यांकन हो ।
आईपीओ–केन्द्रित अनुसन्धान र इटीएफ प्रदायक रेनेसाँ क्यापिटलका वरिष्ठ रणनीतिकार म्याट केनेडीले भने, ‘टेस्ला जस्तै स्पेसएक्स पनि इलोन मस्कमाथिको एक दाउ हो ।’ १५ खर्बदेखि २० खर्ब डलरको बजार पुँजीकरणले निश्चित रूपमा सबै परम्परागत मूल्यांकन विधिहरूलाई ओझेलमा पार्नेछ र यसलाई इलोन मस्क प्रिमियमको रूपमा चिन्नु नै सबैभन्दा उपयुक्त हुनेछ ।
धेरै लगानीकर्ताका लागि मस्कको प्रायः अस्वाभाविक व्यवहारभन्दा उनका महत्त्वाकांक्षी योजनाहरूलाई विश्वकै सबैभन्दा मूल्यवान कम्पनीहरूमा बदल्ने उनको विगतको सफलता बढी अर्थपूर्ण देखिएको छ । जेपी मोर्गन चेजका सीईओ जेमी डिमोनले मस्कसँगको हालैको कुराकानीमा भने, ‘इलोन हाम्रो समयका एडिसन हुन् ।’
लामो कानुनी लडाइँमा मस्कका पूर्व प्रतिद्वन्द्वी रहेका यी बैंकर अहिले उनका प्रशंसक बनेका छन् । उनीहरूले पुरानो रिसइबी बिर्सेर मिलाप गरिसकेको डिमोनले गत वर्ष सीएनबीसीसँग भनेका थिए । उनले मस्कलाई ‘हाम्रो आइन्स्टाइन’ भनेर प्रशंसा गरे ।









प्रतिक्रिया