
काठमाडौं । नेपालको व्यापारिक इतिहासमै सबैभन्दा ठूलो रकमको सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) मुद्दा विशेष अदालतमा दर्ता भएसँगै ३९ प्रतिवादीबाट ५३ अर्ब जरिवाना र १५ वर्षसम्मको जेल सजायको माग गरिएको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको प्रतिवेदनका आधारमा सरकारी वकील कार्यालयले प्रतिष्ठित व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालसहित ३५ प्राकृतिक व्यक्ति र ४ वटा संगठित संस्था गरी कुल ३९ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।
अभियोग पत्रमा मुख्य अभियुक्त दीपक भट्टसँगबाट मात्रै २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार ५९ रुपैयाँ बिगो दाबी गर्दै सोको दोब्बर जरिवाना र १५ वर्षसम्म कैद सजायको माग गरिएको छ ।
सुलभ अग्रवाल अग्रवालसँग पनि विभागले २५ अर्ब ५९ करोड २० लाख ६ हजार १२४ रुपैयाँ ३१ पैसा बिगो दाबी गरिएको छ
यस मुद्दामा संलग्न ३९ प्रतिवादीहरूलाई उनीहरूले शुद्धीकरण गरेको भनिएको रकम (बिगो) को आधारमा वर्गीकृत गरिएको छ । कानुन अनुसार सबै प्रतिवादीहरूलाई बिगोको दोब्बर जरिवाना माग गरिएको छ ।
प्रतिवादीहरूले संगठित रूपमा बैंकको कर्जा दुरुपयोग गर्ने, बीमा कम्पनीहरूको सर्वसाधारणको प्रिमियम रकमलाई अवैध रूपमा शेयर बजारमा घुमाउने र नक्कली आईपी एड्रेस प्रयोग गरी शेयरको मूल्य अस्वाभाविक रूपमा बढाएर अर्बौं रुपैयाँ लाभ लिएको सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धानले देखाएको छ ।
प्रतिवादीहरुले आर्जन गरिएको अवैध धनलाई घरजग्गा, विलासी गाडी र विभिन्न सेल कम्पनीहरू खडा गरी ‘लेयरिङ’ (तहगत परिचालन) मार्फत शुद्धीकरण गरिएको दाबी विभागको छ ।
सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ३० बमोजिम सरकारी वकीलले दोब्बर जरिवाना मागेको छ । यसमा प्रत्येक प्रतिवादीलाई उनीहरूमाथि कायम भएको व्यक्तिगत बिगोको दोब्बर रकम जरिवाना तिराउन माग गरिएको छ। यसमा मुख्य अभियुक्त दीपक भट्ट दोषी ठहरिए उनले ५३ अर्ब २६ करोड रुपैयाँभन्दा बढी जरिवाना तिर्नुपर्नेछ।
कसूरको गम्भीरता र संलग्नताका आधारमा प्रतिवादीहरूलाई न्यूनतम २ वर्षदेखि अधिकतम १५ वर्षसम्म कैद सजायको माग गरिएको र सम्पत्ति जफतको समेत माग गरिएको छ । प्रतिवादीहरूले अवैध धनबाट खरिद गरेका विभिन्न बीमा कम्पनीका करोडौं कित्ता शेयर, सिद्धार्थ र ग्लोबल आईएमई बैंकमा रहेको नगद मौज्दात, विलासी सवारी साधन र घरजग्गा जफत गर्न माग गरिएको छ।
व्यक्ति र संस्थाअनुसार माग गरिएको बिगो
| प्रतिवादीको नाम | माग गरिएको बिगो रकम (नेपाली रुपैयाँमा) |
| दीपक भट्ट | रु. २६,६३,२७,७१,०५९.६८ |
| सुलभ अग्रवाल | रु. २५,५९,२०,०६,१२४.३१ |
| सन्दीप चाचन अग्रवाल | रु. १४,५८,७८,७५,३५०.४८ |
| मनोज कुमार लाल कर्ण | रु. ७,२२,४६,८५,९७४.१६ |
| साहिल अग्रवाल | रु. ६,०४,३४,०२,२५७.०० |
| शुभी अग्रवाल | रु. ३,९६,७८,२२,१३३.२२ |
| ऋषिराज मोर | रु. ३,७८,८२,७५,६२२.९० |
| मदन दाहाल र शरद ओझा | रु. ३,५०,३०,६३,१९२.५८ |
| सुमेर शमसेर जबरा | रु. १,२७,४१,८६,८६७.९६ |
| राजबहादुर शाह | रु. १,४१,८०,७२,९०१.४० |
| आशिष श्रेष्ठ समूह | रु. ५९,७५,६९,१३४.१८ |
| कृषि अग्रवाल | रु. ३२,८३,८०,२०२.०० |
| प्रताप मान श्रेष्ठ | रु. २३,७३,८३,७८०.०० |
| राजकुमार मोर | रु. २७,६९,००,०००.०० |
| अमित मोर | रु. १२,०६,२५,०००.०० |
| नरेश कुमार रोका | रु. ११,९०,०९,८१८.४० |
| रामकुमार यादव | रु. ४,२०,९१,१६०.०० |









प्रतिक्रिया