
एजेन्सी । मेक्सिकोको ग्वाडालाजारामा बिहीबार सम्पन्न दक्षिण कोरिया र चेक गणतन्त्र बीचको विश्वकप खेलमा फिफाले ४४ हजार ९ सय ८५ दर्शकको उपस्थिति रहेको जानकारी दिएको छ ।
तर, रंगशालाका विभिन्न भागमा खाली रहेका सिटहरूले टिकटको मूल्य र विस्तारित प्रतियोगिताको मागका बारेमा फेरि नयाँ चिन्ताहरू उब्जाएका छन् । आयोजक राष्ट्र मेक्सिको र दक्षिण अफ्रिकाबीचको उद्घाटन खेल हेर्न एज्टेका रंगशालामा ८० हजारभन्दा बढी दर्शक ओइरिएका थिए ।
तर, फुटबल संस्कृतिमा निकै गहिरो जरा गाडेको ग्वाडालाजारा सहरको ४६ हजार क्षमताको रंगशालामा देखिएका खाली लहरहरूले ४८ टोली सहभागी पहिलो विश्वकपका लागि फिफाले अपनाएको व्यापारिक रणनीतिको आलोचनालाई अझ तीव्र बनाएको छ ।
रंगशालामा उपस्थित केही प्रशंसकहरूले खाली सिट हुनुको मुख्य कारण टिकटको अत्यधिक मूल्य रहेको बताएका छन् र फिफाको मूल्य निर्धारण मोडलको आलोचना गरेका छन् ।
फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले भने बुधबार समर्थकहरूको आलोचनाको प्रतिवाद गर्दै टिकटको मूल्य अन्य ठूला खेलकुद प्रतियोगिताहरूकै हाराहारीमा रहेको दाबी गरेका थिए । समर्थकहरूले भने खेल हेर्न लाग्ने खर्च सर्वसाधारणको पहुँच बाहिर पुगेको तर्क गरिरहेका छन् ।
इन्फान्टिनोका अनुसार, यस प्रतियोगिताको माग अपेक्षाभन्दा १० गुणा वा सोभन्दा बढी रहेको छ र फिफाले हालसम्म ६० लाखभन्दा बढी टिकटहरू बिक्री गरिसकेको छ । उनले विशेषगरी अमेरिका क्षेत्रभरि फुटबलप्रति निकै बलियो चासो रहेको यसअघि नै उल्लेख गरेका थिए ।
तर, फुटबल समर्थकहरू भरमार हुने युरोपेली देशहरूले टिकटको यस्तो चर्को मूल्यले सामान्य समर्थकहरूलाई खेलबाट वञ्चित गर्ने भनी यसअघि नै चेतावनी दिएका थिए ।
एफएसईका अनुसार, यसपटकको विश्वकपको टिकटको मूल्य सन् २०२२ को कतार विश्वकपको तुलनामा पाँच गुणाले बढेको छ ।









प्रतिक्रिया