सन्दीप चाचनको बयानः दीपक भट्टले ‘मैले सेयर किनेको पैसा हिमालय रि लगायतबाट मिलाउनू’ भनेका हुन्

२५% कोल्याटलर नै नियमविपरीत कारोबार गरिदिएको स्वीकारोक्ति

0
Shares

काठमाडौं । ब्रोकर नं. ५५ भृकुटी सेक्युरिटिजका अध्यक्ष सन्दीप चाचन अग्रवालले सेयर कारोबारका क्रममा प्रचलित कानुनी व्यवस्थाको उल्लंघन गर्दै ठुलो रकमको कारोबार गरेको स्वीकार गरेका छन् । उनले दिएको बयानका अनुसार, नियमतः सेयर खरिद गर्नुअघि २५ प्रतिशत रकम अग्रिम रूपमा भुक्तानी लिनुपर्ने प्रावधान भए पनि उनले ‘विश्वासका आधारमा’ ठुलो परिमाणको सेयर खरिद गरिदिएको खुलासा भएको छ ।

चाचनले आफ्नो बयानमा धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को विनियम ८ मा उल्लेखित २५ प्रतिशत अग्रिम रकम लिनुपर्ने व्यवस्था कार्यान्वयन नगरेको स्वीकार गरेका छन् ।

उनले भनेका छन्, ‘मैले समग्र सेटलमेन्ट (हिसाब मिलान) लाई मात्र ध्यान दिएकाले अग्रिम रकम लिने नियम पालना भएन । विश्वासका आधारमा मेरो कम्पनीले सेयर खरिद गरिदिएको हो ।’

चाचनका अनुसार लगानीकर्ता दीपक भट्टको नाममा ठुलो परिमाणमा सेयर खरिद गरिएको छ । भट्टले प्रयोग गर्ने टीएमएस उनी आफैंले चलाउने गरेको र ब्रोकर कम्पनीले केवल भट्टले खरिद गर्ने सेयरका लागि ‘कोल्याट्रल लोड’ (धितो राख्ने) काम मात्र गरेको बयानमा उल्लेख छ ।

चाचनले भट्टको सेयर कारोबारका लागि एकैपटक ५० करोड रुपैयाँसम्म ‘कोल्याट्रल लोड’ गरिदिएको र सो रकमको मिलान विभिन्न संस्थागत र व्यक्तिगत खाताबाट गरिएको बताएका छन् ।

बयानका अनुसार दीपक भट्टको नाममा भएको सेयर कारोबारको भुक्तानीका लागि विभिन्न ठुला संस्थाहरू र प्रतिष्ठित व्यक्तिहरूको खाताबाट रकम आएको देखिन्छ। जसमा हिमालयन रि-इन्स्योरेन्स कम्पनी, हिमालयन सेक्युरिटी बैंकर लि. र हिमालयन क्यापिटल, एचएलआई लाएज क्याप, नेपाल माइक्रो इन्स्योरेन्स कम्पन, नेपाल रि-इन्स्योरेन्स कम्पनी, शेखर गोल्छा र रोहित गुप्ता आदि रहेका छन् ।

चाचनको बयानमा एउटा गम्भीर पक्ष के छ भने, हिमालयन रि-इन्स्योरेन्सबाट दोस्रो बजारमा लगानीका लागि ब्रोकर कम्पनीमा रकम आइरहेको थियो । तर, सो कम्पनीको नाममा सेयर खरिद नगरी दीपक भट्टले ‘आफ्नो नाममा सेयर खरिद गरिदिनु’ भनेकाले भट्टकै नाममा सेयर खरिद गरिएको चाचनले बताएका छन् । उनले भट्टसँग आफ्नो व्यक्तिगत सम्बन्ध नभई संस्थागत चिनजान मात्र रहेको र उनकै घर (ललितपुर) पुगेर केवाईसी फारम भराएको समेत खुलाएका छन् ।

चाचनले जगदम्बा स्टिल्सका सञ्चालक शुलभ अग्रवालकी पत्नी शुभ अग्रवाललाई ४ करोड ५० लाख रुपैयाँ उपलब्ध गराएको समेत स्वीकार गरेका छन् । तर, सो लेनदेनमा कुनै पनि औपचारिक कागज नगरिएको र ‘विश्वासका आधारमा’ पछि फिर्ता लिने सर्तमा मात्र रकम दिएको उनले बताएका छन् ।

हालसम्म दीपक भट्टबाट ब्रोकर कम्पनीले २ अर्ब ८९ करोड २४ लाख रुपैयाँ लिन बाँकी रहेको देखिन्छ । उनले थप बयानमा भनेका छन्, ‘सेयर खरिद गर्ने र अग्रिम रकम नदिने व्यक्तिहरू र ती सार्वजनिक कम्पनी तथा म्युचुअल फन्डबाट रकम ल्याउनेहरू नै यसमा जिम्मेवार हुन्, म होइन ।’

सन्दीप चाचन अग्रवालको बयान: दीपक भट्टले नै ‘मैले किनेको सेयर पैसा हिमालय रिलगायत कम्पनीबाट मिलाउनू’ भने

कानुनी आधारमा २५ प्रतिशत रकम अग्रिम रुपमा भुक्तानी प्राप्त नगरी खरिद गर्न मिल्दैन। मैले विश्वासका आधारमा मेरो कम्पनीले खरिद गरिदिएको हो। यो शेयरको खरिद कार्य मैले निज दीपक भट्टलाई कसूर गर्न गराउन सहजीकरणका लागि गरेको भने होइन। BOID १३०१५०००००२४१६८१ खरिदकर्ता दीपक भट्टको उक्त खाताको TMS निज दीपक भट्टले नै चलाउने गरेका छन् मैले चलाउने होइन। मैले दीपक भट्टलाई व्यक्तिगत रुपमा खासै चिन्दिनँ। संस्थागत आधारमा चिनेको छु। उहाँको शेयर कारोवारका क्रममा KYC (Know Your Customer) लिनका लागि ललितपुर स्थित उहाँको निजी निवासमा खाता खोल्ने समयमा गएको थिएँ। उहाँको शेयर कारोवार अध्यक्ष रहेको ब्रोकिङ कम्पनी दलाल नं. ५५ मार्फत हुने गरेको छ। मेरो कम्पनीले माथि खुलाए अनुसार उहाँबाट रु. २८९२०४८३९।४५ रकम लेना बाँकी रहेको छ।

कारोवारको भुक्तानीका लागि हिमालयन सेक्युरिटी बैंकर लि., हिमालयन क्यापसर्भ लि., हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेड लि., HLI Large Cap Fund, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लि, रोहित गुप्ता शेयर गोल्छा समेतका व्यक्ति तथा संस्थाको खाताबाट रकम भुक्तानी भएको हो। भुक्तानीको विवरण भृकुटीले यस विभागलाई पठाइसकेको छ। मैले कारोवारका क्रममा समग्र सेटलमेन्ट (हिसाब मिलान) लाई मात्र ध्यान दिई कारोवार गरेको हूँ। मैले भुक्तानीका पक्षहरु विचको आपसी कारोवारलाई ध्यान दिइनँ। सोधनी भए अनुसारको कारोवारका क्रममा दीपक भट्टको तर्फबाट मेरो कम्पनीको खातामा नेपाल रिइन्स्योरेन्स, शेयर गोल्छा, रोहित गुप्ता, समेतबाट रकम आएको हो। अध्यक्ष रहेको कम्पनीले आफ्नो नियमित व्यावसायिक कारोवार गरेको हो। दीपक भट्टको आर्थिक कारोवारलाई सहजीकरण गरी कसूरजन्य कार्य लुकाउने औजारको रुपमा प्रयोग भएको होइन। समग्र सेटलमेन्टमा ध्यान दिएकाले धितोपत्र कारोवार सञ्चालन विनियमावली, २०७५ को अग्रीम रकम लिनुपर्ने भन्ने विनियम मा उल्लेखित व्यवस्थाको कार्यान्वयन नभएको हो। हिमालयन रिइन्स्योरेन्सबाट दोस्रो बजारमा लगानी गर्नका लागि अध्यक्ष रहेको कम्पनीमा रकम आइरहन्थ्यो। उक्त कम्पनीका नाउँमा शेयर खरीद नगरी दीपक भट्टले आफ्ना नाउँमा शेयर खरीद गरी दिनु भनेकाले सोही अनुसार दीपक भट्टका नाउँमा उक्त शेयर खरीद गरेको हो। अहिले पनि हिमालयन रिको रकम मेरो कम्पनीमा बाँकी रहेको छ। उक्त कम्पनीको नाममा शेयर खरीद गरिएको छैन। दीपक भट्टको TMS उहाँ आफैले चलाउने भएकोले मेरो कम्पनीले केवल निज दीपक भट्टले खरीद गर्ने शेयरको लागि रकम अपलोड गर्ने कार्य मेरो कम्पनीले गरेको हो।

कारोवार भएको तेस्रो दिनसम्मका शेयर विक्रेताको नाममा रकम पठाई सक्नु पर्ने प्रावधान रहेको छ। हिमालयनबाट रकम जाने आउने भईरहन्थ्यो। हिमालयनबाट मेरो कम्पनीमा एडभान्स वापत रकम आउने जाने भईरहन्थ्यो। मेरो कम्पनीमा मौज्दात रहेको रकममध्येबाट दीपक भट्टको नाममा शेयर गरेको हो। अहिले पनि मेरो कम्पनीको वित्तीय विवरणमा उक्त रकम तिर्नु पर्ने रकममा दायित्व जनाइएको छ। उक्त कम्पनीले रकम माग नगरेका कारणले फिर्ता नगरेको हो। शेयर बिक्री पछि मेरो कम्पनीले नै रकम फिर्ता गर्नु पर्ने प्रावधान छ। तथापि, उक्त हिमालयन रिको अग्रिम एडभान्स वापतको रकम खातामा हुँदा हुँदै पनि नमागेकाले फिर्ता नगरेको हो। यो रकम समेत प्रयोग गरी दीपक भट्टका नाउँमा शेयर खरिद गरेको हो। मेरो कम्पनीले हिसाब सेटलमेन्ट गरेको हो। मलाई दीपक भट्टले नै सो बराबरको कोल्याट्रल आफ्नो TMS (Transaction Management System) मा शेयर खरिद गर्नका लागि एक पटकमा रु. ५० करोड गरी पटक- पटक गरी कोल्याट्रल लोड गरी शेयर खरिद भएको हो। सो कोल्याट्रल लोड गर्न खरिद गरेको शेयरको रकम भुक्तानी गर्न दीपक भट्टले नै हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेड लगायतका संस्थाबाट प्राप्त रकमबाट मिलान गर्न भने बमोजिम अध्यक्ष रहेको कम्पनीले कारोवार गरिदिएको हो। शुभी अग्रवाललाई व्यक्तिगत रुपमा चिन्दिनँ। निज जगदम्बा स्टील्सका सञ्चालक समेत रहेका शुलभ अग्रवालकी पत्नी हुन् भन्ने मलाई थाहा छ। सोधनी भएको ४५ करोड रकम मैले शुलभ अग्रवालले भने बमोजिम उपलब्ध गराई दिएको रकम हो। यो रकम मैले विश्वासका आधारमा पछि फिर्ता लिने शर्तमा दिएको हुँ। रकम लेनदेनको कुनै कागज गरेको छैन। तर भुक्तानी गरेको रकम पत्र सहित पठाएको छ। पत्र शुभी अग्रवालकै नाउँमा बनाइएको छ। उक्त पत्रको फोटोकपी यसैसाथ पेश गरेको छु। मलाई सोधनी भए अनुसार मेरो कम्पनीको खातामा हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेड, शेखर गोल्छा, रोहित गुप्ता, HLI Large Cap Fund समेतबाट रकम आएको सो रकम दीपक भट्टका नाउँमा शेयर खरिद गर्नका लागि प्रयोग भएको पनि ठिक हो। तर मैले जानीजानी कसूरजन्य कार्यलाई ढाकछोप गर्ने गलत मनसायले कुनै कारोवार गरेको छैन। मेरो कम्पनीमा कारोवार गर्ने सबै व्यक्तिहरुको बैंक खाताबाट रकम आएको हुन्छ। बैंक खातामार्फत भएको कारोवारमा जोखिम पनि कम हुन्छ भनी मान्नु पर्ने हुन्छ। मैले जानीजानी कृत्रिम कारोवार गरी कसैका लागि कसूर गर्न सहयोग सहजीकरण गरेको छैन। हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेड समेतका कम्पनीले रकम पठाइएको हो। त्यो रकम ल्याउने कार्यमा मेरो कम्पनीको भूमिका छैन। उहाँहरुको TMS मैले चलाउने हैन। दीपक भट्ट समेतका नाउँमा शेयर कम्पनीले नै खरिद गरेको हो। भुक्तानी सेटलमेन्टमा मेरो कम्पनीको खाता प्रयोग भएको हो। मैले विश्वासका आधारमा कोल्याट्रल लोड गरी खरिद गर्ने सुविधा दिएको हो।

अध्यक्ष रहेको ५५ नम्बर ब्रोकरले विभिन्न व्यक्ति तथा हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेड समेतबाट प्राप्त भएको रकम खातामा रहेको थियो। शेयरको कारोवारका लागि प्रथमत: सम्बन्धित व्यक्तिकै जिम्मेवारी रहन्छ। TMS सम्बन्धितले नै चलाउने हो। मैले व्यक्तिगत रुपमा हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेड लगायतका संस्था व्यक्तिबाट आएको रकमबाट राफसाफ गर्नु भनी सम्बन्धित खरिदकर्ताहरुले मलाई मौखिक भने बमोजिम तत्काल उपलब्ध रहेको रकमबाट सेटलमेन्ट गरेको हुँ। यो कुरा मैले अघिल्लो बयानमा समेत खुलाई सकेको छु। जो व्यक्तिले शेयर खरिद गरेको अग्रीम लगेका हुन् उहाँहरुकै निर्देशनमा मैले शेयर खरिदका लागि कोल्याटर लोड गरेको तत्कालका लागि हिसाब सेटलमेन्ट गरेको हो। यो कार्यको लागि जिम्मेवार छैन। मेरो संस्थामा विभिन्न पब्लिक कम्पनी म्युचल फण्डबाट रकम ल्याउनेहरु नै जिम्मेवार हुन् ।